मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोगः एक परिचर्चा

Read Time:46 Minute, 56 Second

-पू्र्ण बहादुर राना

प्रस्तुत लेख डा. विष्णु कुमार सिंजालिद्वारा लिखित कार्यपत्र हाे । याे कार्यपत्र प्रज्ञा प्रतिष्ठान कमलादि काठमाडौंमा मिति २०८० मंसिर १९ गते प्रस्तुत गरिएको थियाे ।

१. विषय प्रवेश

बहुभाषिक- बहुसाँस्कृतिक नेपाली समाजमा मगर भाषा–संस्कृति नेपाल राज्य र मानव सभ्यताको एक सम्पदा हो ।यद्यपी, एकल भाषा–संस्कृतिको माइन्डसेट बोकेको राज्यसत्ता (शासक र प्रशासक/कर्मचारीतन्त्र)ले मौलिक मगरभाषा–संस्कृति लगायत आदिवासी/रैथाने भाषा–संस्कृतिहरुको मौलिक रुप संरक्षण गर्न, यसको दार्शनिक र वैज्ञानिकपक्षहरु केलाएर नेपाल राज्यको सम्पदा भोलीको लागि बचाउन उदासिन रहेको छ । तैपनि मगर आदिवास नागरीकहरुले पुर्खादेखि चल्दै आएको भाषा-संस्कृति, परम्परागत पहिचान (Primordial Identity)  संरक्षण र सम्बद्र्धन गर्ने प्रयाश गर्दै आएका छन् । तर, विश्वविद्यालय तथा प्राज्ञिक तहहरुमा हालसम्म यो भाषा-संस्कृतिको प्रवेश नपाएकोले शोधकार्य, पुरातात्विक उत्खनन् कार्य हुन नसकेकोले मगरहरु आँफैमा अन्योल परेका छन्, विरोधाभास भाष्यहरु सृजना पनि हुने गरेका छन् । त्यसैले समय समयमा पहिचानको उपयोगितावादी (Instrumentalist) अगुवाहरुले मगर संस्कार र संस्कृतिको विनिर्माण (Construction of Identity) गरेर व्यक्तिगत वा दलगत फाइदा लिने प्रयाशहरु पनि गरेका छन् । यस कार्यमा नेपाली राज्यसत्ताले अँगालेको कथित मुलधारको भाषा–संस्कृति, छिमेकी राज्यहरुको भाषा-संस्कृति र पश्चिमा/विकसित देशहरुको भाषा-संस्कृतिले मगरहरुको आदिवासी/रैथाने भाषा-संस्कृतिमा उपनिवेश जमाएकोले पनि त्यस्ता उपयोगितावादी अगुवाहरु तथा राज्यसत्ताका प्रभुत्वशाली समुदाय/वर्गको “फुटाउ र राज्य गर”को नीति बोकेकाहरुलाई फाइदा पुगेको देखिन्छ । र, आदिवासी/रैथाने भाषा–संस्कृति मासिँदै गएको छ । शिक्षा र मिडिया (आमसञ्चार)को विकास, भौतिक विकास, सामाजिक विकासहरु एकल भाषा–संस्कृतिको माइन्डसेट बोकेका व्यक्ति र समुहहरुको पकड रहेकोले पनि आदिवासी(Construction of Identity) रैथाने भाषा-संस्कृति संरक्षण र संबद्र्धनमा चासो नदेखाउनु स्वभाविक हो । राज्यमा एकल समुदायको वर्चश्वबाट सृजना भएको आफन्तवादका कारण मौलाएको भ्रष्टचार, अख्तियारको दुरुपयोगले पनि मुलधार भन्दा बाहिर रहेका आदिवासी/रैथाने भाषा-संस्कृतिहरुले अवस्था सुधार्ने मौका पाउने कुरै भएन । ऐतिहासिक मगराँत भूमिको गणतान्त्रिक मगर समाजमा पाँच/छ सय बर्षअघि नै मनुस्मृति कानूनको प्रभाव फैलिन शुरु गरेको र त्यसको संरक्षण तत्कालिन ठकुरी राजाहरुले गरकोले पनि मगरहरुमा जात व्यवस्थाको प्रभाव पर्नुका साथै मगरहरुको भाषा-संस्कृति माथी दमन शुरु भयो । मनुस्मृतिको कानूनको प्रभाव परेका तत्कालिन भुरेटाकुरे राज्यहरुले म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी, पश्चिम पाल्पा र अर्घाखाँची (हिमाल देखि तराइसम्म)का जिल्लाहरु, प्युठान तथा रुकुम रोल्पा पश्चिमका मगर वस्तीहरु, खानी खन्ने पेशामा आबद्ध मगरहरुलाई मगर भाषा प्रतिबन्ध लगाइएको र आधुनिक नेपालको निर्माण भएपछि ति प्रतिवबन्धहरुलाई यथावत राखेको पाइन्छ । यसले गर्दा भाषिक सञ्चार गुमाएर मगर भाषाहरु फरक पर्दै गयो । मगर संस्कार र संस्कृतिमा प्रयोग गरिने मगर भाषा पनि फरक पर्दै गयो । भाषा बोल्न प्रतिबन्ध लागेका स्थानहरुमा कतिपय सांस्कृति शब्दहरु बचे पनि संस्कार र संस्कृतिमा बाचन गरिने संकथन, सिलोकहरु खस नेपालीकरण भयो । प्रकृतिपुजक मगरहरुको दर्शनविज्ञ तथा पुजाआजाको संस्कारका वेत्ता पोन (साँस्कृतिक पद)हरु कामविहिन भए । यसैगरी उपचारक तथा मगर दर्शन अध्यासकर्ता लामा/झाँक्रीहरुको सिलोकहरुमा मगर भाषा क्रमश प्रयोग कम हुन गयो । प्रकृति र पितृ (पुर्खा पुजक मगरहरुको भाषामा प्रतिबन्ध तथा बाह्य प्रभाव परे पछि आफ्नो परम्परागत दर्शन, शौन्दर्यशास्त्र र आदिवासी विज्ञान पनि हराउँदै गयो । मगरहरुको जनसंख्या घटाउन र राज्यसत्तामा पुग्न नसकोस भनेर तत्कालिन शासकका गुरु, पुरोहितहरुको सल्लाहमा मगरहरुलाई पनि गोर्खा भर्तीकेन्द्रमा धकेलियो । यसले पनि बाह्य भाषा-संस्कृति भित्रायो । दोस्रो विश्वयुद्ध पछि भएको राजनैतिक विकास, औपचारिक शिक्षा र मिडिया (आमसञ्चार)को विकास, सामाजिक विकास तथा भौतिक विकासहरुमा आदिवासी/रैथाने भाषा-संस्कृतिको सुरक्षण (Safeguards) को अभावले गर्दा मगर भाषा–संस्कृतिको अवसान भैरहेको छ । यस्तो परिस्थीतिमा यहाँ मगरहरुको संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोग के–कस्तो छ भनेर यस लेखमा हेर्ने प्रयाश गरिएको छ ।

२. नेपाली समाजमा मगर भाषा र यसको अवस्था

बहुभाषिक-बहुसाँस्कृतिक नेपालमा मगर आदिवासी जाति हो (नेपाल सरकार, आ.ज.उ.रा.प्र. ऐन, २०५८) । वि.सं. २०७८ को जनगणना अनुसार मगरहरुको जनसंख्या जनसंख्या २,०१३,४९८ (पुरुष ९,९४९१०५ र महिला १०६४३९३) रहेको छ । यो जनसंख्या, संख्याको हिसाबले तेस्रो धेरै जनसंख्या हो । नेपालका आदिवासी जनजातिहरू मध्ये धरै जनसंख्या भएको मगर जाति हो । वि.सं. २०५८ को जनगणनामा मगरहरु ७.१४% वि.सं. २०६८ को जनगणनामा ७.१२% र वि.सं. २०७८ को जनगणनामा ६.९% रहेको छ । यसले के देखाउँदछ भने नेपालमा मगरहरुको जनसंख्या क्रमशः घट्दै गइरहेको छ । यसैगरी जनगणना, २०६८ अनुसार नेपालमा मगरहरूको जनसङ्ख्या १८,८७,७३३ (महिला १०,१३,३१७ र पुरुष ८,७४४१६) थियो । मगरहरू १६,५४,८४१ ग्रामीण भेग र २३२,८९२ सहरी क्षेत्रमा बसोबास गर्दथे । ८,९४,८२७ महिला र ७,६०,०१४ पुरुषहरू ग्रामीण र १,१८,४९० महिला र १,१४,४०२ पुरुषहरू शहरी क्षेत्रमा बसोबास गर्दथे । मगर मातृभाषा बोल्नेहरू ७,८८,५३० छन् । ४,२५,१३५ महिला र ३,६३,३९५ पुरुषहरूले मात्र मगर मातृभाषा बोल्दथे (जनगणना, २०६८/ www.cbs.gov.np) । वि.सं. २०६८ को जनगणनामा कुल मगर जनसंख्याको ४१.७७ प्रतिशत मगरहरू मतृभाषा बोल्दथे र वि.सं. २०५८ को जनगणनाअनुसार मगर मातृभाषीहरूको जनसंख्या ७,७०,११६ थियो । सो तथ्याङ्कमा मगर ढुट, र मगर खाम छुट्टयाइएको छैन, काइके मगर भाषा बोल्नेहरू ७९४ छन् । मगर भाषा बोल्नेको जनसंख्या ३.३९ प्रतिशत हो भने, कुल मगर जनसंख्याको ४७.५१ प्रतिशत हो (जनगणना, २०५८) । वि.सं. २०७८ को जनगणनामा मगरहरुको मातृभाषा निम्न बमोजिम रहेको छ । भाषा वक्ताहरुको विवरण निम्न अनुसार रहेको छ ।

मातृभाषा पुरुष महिला जम्मा राष्ट्रीय तहमा % मगर भित्र %

मगर ढुट ३८१,५८६ ४२८,७२९ ८१०,३१५ २.७७८ ४०.२४

मगर खाम ४३८८४ ४७८६९ ९१७५३ ०.३१५ ४.५६

मगर काइके ५७७ ६४८ १२२५ ०.००४ ०.०६

मगर तिछुरुङ पोइके ४१० १८७ २२३ ०.००१ ०.०१

जम्मा ४२६,४५७ ४७७,४३३ ९०३,५१६ ३.०९८ ४४.८७

स्रोत: राष्ट्रिय जनगणना, २०७८

वि.सं. २०७८ को जनगणना अनुसार नेपालमा ३.०९८% जनसंख्याले मगर भाषाहरु बोल्ने गरेको देखाएको छ । यो वि.सं. २०५८ को जनगणना (३.३९%) भन्दा कम हो । मगरहरुको ४४.८७% ले मात्र मगर भाषा बोलेको र बाँकी ५५.१३% ले मगर भाषा बोल्न सकेको देखिँदैन । पहिलेको तुलनामा भाषा प्रशिक्षणका कारण केही मगरहरुले मगर भाषा सिकेको देखिन्छ । तर, राज्यले लादेको आधुनिक शिक्षाको विकासका कारणले गर्दा गाउँठाउँमा मगर बालबालिकाहरुले मगर भाषा बोल्न छोडेको पाइन्छ । एकल भाषा-संस्कृतिको माइन्डसेटबाट ग्रसित शिक्षक तथा प्राध्यापकहरु, सरकारी कर्मचारीहरु, विभिन्न धर्मका अगुवाहरु, राजनैतिक दलका नेताहरु, समाजका अगुवाहरुले मगर भाषा बोलेमा जिब्रो बाक्लो हुन्छ र विद्यालयमा पढ्न सक्दैन भनेर भ्रम फिँजाएर नेपालको एक सम्पदा मगर मातृभाषा मार्न खोजेको पनि पाइन्छ । यसैगरी मगर बस्तीहरुमा, मगर परिवारमा मगर भाषा-संस्कृति सिकाउने, पुख्र्यौली ज्ञान हस्तान्तरण गर्ने शिक्षा (आदिवासी शिक्षा प्रणाली)को प्रचलन हराउँदै गएको छ । अर्कोतर्फ अध्ययनहरुले मगरहरुले शिक्षाका लागि बालबालिकाहरुलाई विद्यालयलाई मात्र जिम्मा लगाउने र पारिवारिक शिक्षालाई वेवास्ता गर्ने प्रचलन ( थापामगर, सन् २०२२) बढेकोले मगरहरुमा पारिवारिक र सामुदायिक आदिवासी शिक्षा कमजोर भएको छ । यसैले आधुनिक शिक्षा र मिडिया (आमसञ्चार) लगायत विज्ञान तथा प्रविधी र भौतिक विकास तिब्र भइरहेको अवस्थामा मातृभाषा संरक्षण र विकासका लागि कुनै हस्तक्षेप नगर्ने हो र सुरक्षण (Safeguard) नअपनाउने हो भने मगर भाषा केही दशकमा मरेर जाने सम्भावना धेरै छ ।

३. मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोगको अवस्था

३.१ जिवन चक्र संस्कार

(क) जन्म संस्कार

मगरहरुको जन्म संस्कार गर्भकालदेखि नै हुन्छ । गर्भ रहनु लाई मगर भाषामा “टुक बुके” भनिन्छ । बच्चा जन्माउनुलाई “फुन्ह्के” भनिन्छ । यो संस्कारमा बच्चा जन्मे पछि बिजोर दिनमा न्वारन गरिने गरिन्छ । न्वारन गर्नुलाई “आरमिन डाके” भन्दछन् । आरमिन डाके (न्वारन) गर्दा नवजात शिशुको नाम राख्ने गरिन्छ । मगर समाजमा ब्रम्हाण पण्डितहरुको प्रभाव बढेको, गोर्खा भर्तीकेन्द्रमा ब्रम्हाण पण्डित राख्ने प्रावधान भएकोले पनि मगरहरुको धेरै नाम संस्कृत तथा नेपाली भाषामा अर्थ खुल्ने, हिन्दु देवीदेवताका नामहरु आदि हुने गर्दछ । यसैगरी पछिल्लो समयमा मगरहरुमा पनि क्रिश्चयन धर्मको फैलावट बढ्दै गएकोले पनि सोही बमोजिमको नाम राख्ने प्रचलन पनि छ । वि.सं. २०४६ मा बहुदलिय प्रजातन्त्रको स्थापना भएपछि मगरहरुमा पनि आफ्नो पुख्र्यौली मातृभाषा जगाउनुपर्दछ भन्ने अवधारणा आइसकेपछि बालबालिकाको नाम मगर भाषामा राख्न थाएिको पाइन्छ । जस्तैः ग्याहोँट, नामखान्, गिनसरा आदि । छेवर तथा गुन्यचोलो संस्कार: मगरहरुले छोराको छेवर गर्दछन भने छोरीको गुन्युचोली संस्कार गर्दछन् । साधरणतया यस्तो संस्कार ५, ७ वा बिजोर बर्षमा गर्ने गर्दछन् । छेबर संस्कार मामा (कुबा)ले गरिदिने गर्दछन् । यो संस्कारमा बालकको रौं काटिदिएर ढाकाटोपी तथा नयाँ कपडाहरु मामाले उपहार दिन्छन् । यो समयमा बालकलाई मगर भाषामा “अब तिमी ठूलो हुँदैछौ, हरेक बिषयवस्तुहरु सिक्न सक्दछौ त्यसैले राम्रोसँग सिक्नु, सिपमा पारङ्गत हुनु, बुबा आमालाई सघाउनु, समाज र देशको लागि काम गर्न सक्ने हुनु ……” आसिरबाद दिने गरेका हुन्छन् । यसैगरी गुन्युचोलो संस्कारमा आफन्तहरुलाई निम्तो गरी बाबुआमाले छोरीलाई गुन्युचोलो दिन्छन् र सबैले मगर भाषामा आसिरबाद दिएका हुन्छन् । गुन्युचोली र छेवर संस्कारको दर्शन भनेको बालबालिकाहरु सिक्न सक्ने उमेरको हुनु र विस्तारै जिम्मेवारी वहन गर्नसक्ने भएको संकेत गराउनु हो । आदिवासीहरुमा गरेर सिक्ने (Learning by doing) भएकोले हरेक सिकाई बाबुआमा, आफन्त र समुदायमा सिक्ने गर्दथे । यद्यपी अहिले आधुनिक शिक्षाको विकासले गर्दा आदिवासी शिक्षा प्रणाली लथालिङ्ग भएको छ ।

(ख) विबाह संस्कार

मगहरुको विबाह संस्कारमा पनि मगर भाषाको प्रयोग भएको पाइन्छ । मगरहरुमा मागी विबाह, प्रेम विबाह, तानी विबाह, विधवा विबाह लगायतका विबाहहरु प्रचलनमा रहेको हुन्छ । यद्यपी नेपाली मूलधारको संस्कृति तथा पश्चिमा संस्कृतिहरुको विकास भएको प्रभावले मगरका विबाह प्रचलन पनि फेरिएको छ । विविध विकृतिहरु पनि भित्रिएको छ जस्तैः दहेज प्रथा । महिलाहरुको थर नफेरिने दर्शन, महिलाको मृत्युमा माइती पक्षले सनाखत गर्ने प्रचलन, पाराचुके वा विधवा भएपछि माइतीले कन्या÷अविबाहित छोरी सरह मान्यता दिने प्रचलन र दर्शन, पेवा प्रचलन, परिवार व्यवस्थापनमा महिलाहरुको पहुँच आदि परिवर्तन भएको छ । आजकल विबाहित महिला र अविबाहित महिला छुट्टिने चिन्हरु सिन्दुर, पोते प्रचलन पनि मगरहरुमा भित्रिएको छ । पहिले पोते विबाहित अविबाहित सबैले गहनाको रुपमा लगाउने गर्दथे । विबाहित महिला छुट्टयाउन छुट्टै श्रृङ्गारको आवस्यकता मगरहरुमा थिएन । मगरहरुको विवाह संस्कारमा बाह्य संस्कृतिले प्रभाव पारेता पनि विबाह संस्कारभित्र ढोगभेट (झोरोक) संस्कार अझ पनि प्रचलनमा रहेको छ । बेहुला बेहुलीलाई दही र चामलको टिका सबै आफन्त तथा मान्यजनहरुले गर्ने र त्यसपछि साइनो केलाएर सबैलाई ढोग गर्ने प्रचलन हुन्छ । यसैले यसैलाई ढोगभेट भनिएको हो । यो क्रममा आफन्तजनले मातृभाषा प्रयोग गरेर आसिरवाद दिने गरिएको पाइन्छ । मगरहरुको मौलिक संस्कारमा पुरोहित (जजमानी) चलाउने प्रचलन थिएन । यसैले पनि मगर भाषामा लेखिएका ग्रन्थहरु पाउन ऐतिहासिक रुपमा पाउन सकिएको छैन । तर पछिल्लो समयमा विनिर्माण (Construction) गरेको भने पाइन्छ, जसको छुट्टै उपशिर्षकमा चर्चा गरिएको छ । कुनै मगर परिवारले ब्रह्माण पुजारी÷पण्डित ल्याएर विबाह समारोह गरेमा संस्कृत र नेपाली भाषामा शास्त्र पठनपाठन गर्दछन् भने बुद्ध धर्मका भन्ते वा वापाहरु ल्याएमा पनि पाली भाषामा गरेको पाइन्छ । यद्यपी हालमा यस्तो कर्मकाण्डहरु मगर भाषामा अनुवाद गर्ने प्रचलन पनि बढेको छ ।

(ग) मृत्य संस्कार

मगरहरुमा मृत्यु संस्कार उनीहरु बसोबास गरेको ठाउँ अनुसार केही फरक हुन्छ । मौलिक परम्परा अनुसार मानिस मरे पछि सकेसम्म एकरात राखेर भोलिपल्ट सदगत गर्ने तथा ३, ५, ७ वा बिजोर दिनमा घोट (उम्कने दिन) समारोह गरी उम्कने प्रचलन रहेको हुन्छ । यद्यपी हिन्दु पुरोहितहरुको प्रभाव परेको गाउँठाउँ वा मगरहरुमा भने पुरोहित लगाएर मृत्यु संस्कार गर्ने गरेको पनि पाइन्छ । मगरहरुले मृतकको शब गाडेर सदगत गर्ने प्रचलन भएपनि पछिल्लो समयमा जलाएर सदगत गर्ने गरेको पाइन्छ । क्रिया बसेर उम्कने दिनलाई मगरहरुले घोट भन्दछन् । यो मगर भाषाको शब्द हो । यसैगरी मगर मृत्य संस्कारमा मलामीहरुको अगाडि कुटुम्बहरुले लामो सेतो कपडा लिएर हिँडेका हुन्छन् । त्यसलाई पनि लाम ह्वास्के भनेर भन्दछन् । यसैगरी उम्कने दिनमा नुन र जडीबुटीहरु छुने प्रचलन हुन्छ । यसलाई पनि मगर भाषामा “छा छुके” भनिन्छ । उम्कने दिनको साँझमा गरिने आत्मा छोडाउने संस्कारलाई पनि “उङ्ग्या भाक्के” मगर भाषामा पाउन सकिन्छ । यो संस्कारमा एउटा सिङ्गो कुखुरा काटेर सो पकाएर, त्यसपछि भात लगायतका अन्य खानेकुराहरु तयार पारी आधा मृतकका दाजुभाईहरु र आधा मृतकलाई भाग लगाएर कुटुम्बले प्रसादको रुपमा दिन्छन् र सो समयमा मृतकले गरेका असल कामहरुको गुणगान गाउँदै, अब तिमी पितृलोकमा जानु, हामीबाट बिदा हुनु जस्तो भाव आउने कुराहरु भाका मिलाएर मगर भाषामा भनेको हुन्छ । यसलाई उङ्ग्या भाक्के भन्दछन् । यसैगरी रोल्पा रुकुममा मृतकलाई सदगत गर्न लैंजादा मृतकको गुनगान शोक गितको रुपमा गाउने र शोक धुनहरु बजाउने गरेर लैजाने गरिन्छ । यसमा गाइने शोक गितहरु पनि मगर भाषामा नै हुने गर्दछ ।

(घ) मगर संस्कार लागि मगर भाषामा लेखिएका कर्मकाण्ड सम्बन्धी पुस्तकहरु एकल भाषा–संस्कृतिको नीति बोकेको पञ्चायततन्त्र वि.सं. २०४६ मा परिवर्तन भई बहुदलिय प्रजातन्त्रको पुनरस्थापना भएपछि नेपालमा खुल्ला वातावरण बन्यो । यसपछि मगर भाषा जोगाउनु पर्दछ भन्ने चेतनाको विकास भयो । सामुहिक जातिय पहिचानको जागरण बढ्दै गयो । मगरहरुले मगर कर्मकाण्ड (जिवनचक्र संस्कारका लागि) माग हुनथाल्यो । त्यसपछि तत्कालिन नेपाल मगर संघका नेता/अगुवाहरुले कर्मकाण्डको पुस्तक लेख्नको लागि मनवीर गर्बुजामगरलाई जिम्मा दिएको पाइन्छ उनले त्यतिबेला नेपाली भाषामा कर्मकाण्डको पुस्तक लेखेको पाइन्छ । त्यसपछि मगर भाषामा पनि मगर कर्मकाण्डको पुस्तक लेख्ने गरिएको पाइन्छ । यस क्रममा निम्न बमोजिमका पुस्तकहरु प्रकाशन भएको पाइन्छ:

१) सोमबहादुर रानामगरले वि.सं. २०५०मा “मगर रिही छोट (कर्मकाण्ड)” पुस्तक लेखको र यसका प्रकाशकहरु पूर्ण बहादुर ठाडामगर, बिर बहादुर रानामगर, गङ्गा बहादुर रानामगर रहेको पाइन्छ । यो पुस्तकको तेस्रो संस्करण वि.सं. २०७५ मंसिरमा प्रकाशन भएको पाइन्छ ।

२) मगरहरु पनि बुद्ध धर्म मान्नुपर्दछ भन्ने अभियान चलेपछि बुद्ध परम्परामा आधारित कर्मकाण्ड लेखिएको पाइन्छ ।

सबैभन्दा पहिले तुल्सी रेश्मीले मगर संस्कार पद्दति लेखेर वि.सं. २०५१ मा प्रकाशन गरेका थिए । यसपछि मगर बुद्ध सेवा समाजले यो “मगर संस्कार पद्धति” पुस्तकलाई समसामयिक सुधार गरे प्रकाशन गरेको पाइन्छ । यो मगर संस्कार पद्दति को १, २,३ ४,५,६,७,८ सम्मका भोल्युम छ । यसको चौथो संस्करण वि.सं. २०७८ मा भएको थियो । यो पुस्तकमा मगर ढुट, मगर खाम, पाली, नेपाली भाषाहरु रहेको छ ।

३.२ पुजाआजा संस्कारमा मगर भाषाको प्रयोग

मगरहरु प्रकृति र पितृ (पुर्खा पुजक हुन् । मगर दर्शनमा चार किसिमको पुजनीय पितृ(पुर्खा हुन्छन्: (क) देउपित्तर (देवता भैसकेका पुर्खाहरु), (ख) कुलपितृ (आफ्नो कैरन/थर वा दाजुभाईहरुको पुर्खा , (ग) मुथुङ (घरपरिवारका दिवङ्ग दुई वा तिन पुस्ता सम्म) र (घ) परिवार, समुदायका जेष्ठ सदस्य । मगरहरुले पितृ (पुर्खा पुजा गर्दा सदात्मा र दुरात्मा गरी विभाजन गरेका हुन्छन् । यसरी पुजाआजा गर्दा दुईवटा चेप्टा ढुङ्गा ठड्याई अर्को चेप्टो ढुङ्गाको छानो बनाएर थान स्थापना गर्दछन् । यसका साथै बाँस वा बुटाको लिङ्गो बनाएर त्यसमा आलम, धागोहरु राख्ने गर्दछन् । मगर भाषामा लि=बाँस, ग्योङ/घाङ= अग्लो, अग्लो पहाड आदि हुने भएकोले पुजाआजा गर्दा अग्लो बाँस वा रुख गाडेकोलाई लिगो भन्दछन् । यसै गरी सो लिगोमा राख्ने अलि ठूलो ध्वजालाई मगर भाषामा आलम (झण्डा) भन्दछन् । यसैगरी पुजाआजा गर्दा पनि मगर भाषामा फलाक्ने, आसिरबाद माग्ने गरेको पाइन्छ ।

३.३ मगर पुजारी रहेका थान/मन्दीरहरुमा मगर भाषा

नेपालको राष्ट्रिय संस्कृतिको धरोहर रहेका थुप्रै थान/मन्दीरहरुमा मगर पुजारी रहेको पाइन्छ । गोरखाको मनकामना (मगरहरुको जेठी बराहा), तनहुँ छाब्दी बराहा, ढोर बराहा, बाग्लुङको ढोर बाराहा, पाल्पाको सत्यवती आदि सयौं ठाउँमा मगर पुजारीहरु रहेका छन् । त्यस्ता ठाउँहरुमा केही दशक अघिसम्म, पुजारीहरुले भक्तजनहरुलाई आसिरवाद दिँदा मगर भाषामा नै दिने गर्दथे । तर पछिल्लो समयमा संस्कृतमा श्लोकहरु भन्न थालेको पाउन सकिन्छ ।

३.४ चाडबाडहरुमा मगर भाषा

मगरहरुको चाडबाडमा आफन्तजनहरुको भेटघाट हुनेहुँदा पनि सम्बन्धहरुको बिस्तार, पुर्नताजकीकरण गर्ने गर्दछ । चाडवाडमा आफन्तजनहरुको भेटघाटले मातृभाषाको बोलचाल बढाउँदछ । मगरहरुको चाडबाडको नामहरु पनि मगर भाषामा राख्ने, वा मगरीकरण गर्ने प्रयाश भएको पाइन्छ । जस्तैः तिहारलाई मगरहरु दवारा (तिह्वार), माघ्या सकराती/सङ्कराई, राङ्के तिह्वार (साउने सक्रान्ती) भन्ने गर्दछन् । माघे सक्रान्ती पुर्खाहरुलाइै सम्झँदा (पितृ/पुर्खा पुजा)मा पनि मगर भाषाको प्रयोग भएको पाइन्छ । यसैगरी दशैंमा आसिरवाद लिंदा, चाडबाडमा मान्यजनहरुबाट आसिरबाद ग्रहण गर्दा पनि मगर भाषाको प्रयोग हुन्छ ।

४. नातापातामा मगर भाषा

मगरहरुको नातेदारी प्रणाली मौलिक प्रकृतिको रहेको छ । मगर प्रचलनमा मामाको छोरी वा मामा खलकको छोरी विबाह गर्ने प्रचलन रहेकोले पनि सासु–ससुरा, सम्धी सम्धीनी भन्ने नाता हुँदैन । फुपु–फुपाजु र मामा–माइज्यु भन्ने प्रचलन हुन्छ । जेठान, साला र जुवाई, भेना भन्ने नातापाताको प्रचलन हुन्छ । यद्यपी राज्यको मूलधारको भाषा-संस्कृतिको प्रभावले गर्दा मगरहरुमा आफ्नो मौलिक नातेदारी शब्दहरु बिर्सदै गएका पाइन्छ । यहाँ केही शब्दहरु दिइएको छः मगर ढुट मगर खाम नेपालीमा अर्थ कैफियत

मोइ/बोई मा/माहतारी आमा

बा/बोई पा/बाउ बुबा

बाज्यू/बाजी बाज्या हजुरबुवा

बज्यु/बज्या/बजई बुजु हजुरआमा

मिझारबा/मिझारबोई पाघी ठूलो बुबा, बुवाको दाई

मिझारबोई/मिझारमोई माघी ठूली आमा, आमाको दिदि

मुसी/मसी माजी बुवाको भाइको पत्नी, आमाको बहिनी

बाउ/काकै काकू बुवाको भाई

मुसीबा/मुसीबोई काकू आमाको बहिनीको श्रीमान

निमा फुबु फुपु, बुबाको दिदि

निनी फुबु फुपु, बुबाको बहिनी

निबा बो/पुसाई फुपाजु, श्रीमानको बुवा (आफ्नो बुवा भन्दा ठूलो भएमा)

पुसाईँ बो/पुसाई फुपाजु, श्रीमानको बुवा (आफ्नो बुवा भन्दा उमेरमा सानो भएमा)

भतिजा भतिजा दाई र भाईको छोरा

भतिजी भतिजी दाई र भाईको छोरी

जिजु ज्युज्यु हजुरबुवाको बुवा

जिजु बज्यु ज्युज्ययुनी हजुरबाको आमा

दाजै दाज्यु दाई

भज्यु मारुम भाउजु

देई/दै/नाना नाना दिदि

नानी/बैनी बहिनी

देवर देबर देबर

नन्द कोञ्जा नन्द, श्रीमानको बहिनी

आमाज्यू आमाज्यु आमाज्यु दिनि, पतिको दिदि

भेना जेठा पतिको दाई

खोन नानी बुहारी

कुबा दागु मामा, आमाको दाई

मामा मामा आमाको भाई

गुमाजी माइज्यु माइजू

जेठु जिठु/जेठु जेठान, मामाको उमेर आँफुभन्दा ठूलो दाई

साला साला साला, मामाको छोरा (उमेरमा सानो

गुमा सम्देनीदिदि जेठानको श्रीमती

खोन सम्देनीबैनी सालाको श्रीमती

भेना भेनाज्यू (१) दिदिको श्रीमान,

(२) फुपुको छोरा (उमेरमा ठूलो जवाइँ जवाइँ ज्वाँई, (१) बहिनीको पति,

(२) फुपुको छोरा (उमेरमा सानो भान्जा भान्ज (१) छोरीको श्रीमान,

(२) दिदि बहिनीकको छोरा निबा बो÷पुसाइँ फुपाजु, बुबाको दिदिको श्रीमान पुसाई बो/पुसाइँ फुपाजु, बुबाको बहिनीको श्रीमान निमा फुबु फुपु, बुबाको दिदि निनि फुबु फुपु, बुबाको बहिनी

५. नाचगानमा मगर भाषाको प्रयोग

मगरहरुको आफ्नो मौलिक नाचगानहरु रहेको छ । सोरठी÷मारुनी, घाँटु, ज्योमारे (जिवैमामा) जस्तो गीतिनाटकहरु पनि प्रचलनमा रहेको छ । यसै गरी राप्ती-भेरी प्रश्रवण क्षेत्रमा पइस्यारु, सरङ्ङे, दमाचाला, गर्रा, झ्यामरे, डोटासिङरु, भुम्या, जोरा, ह्वाम्पई, ज्योमारे, स्वाङ्गे, रमा (झाँक्री) नाचहरु रहेको पाइन्छ । यसैगरी साइँला बरै, कथौता, झ्यामरे ज्योमारे, न्याहो, मन्थौली, सैरेला, देउसिरे र भैले, ह्याम्पई, फाङ्क, यानीमाया, रमा, शोकगीत आदि रहेको पाइन्छ (घर्तीमगर, २०८०, पृ ८८–९४) । यसका साथै कृषीकार्यसँग सम्बन्धीत मौसम अनुसारको गीतहरु गाउने प्रचलन पनि रहेको छ । धान रोप्दा गाउने गीत, कोदो रोप्दा गाउने गीत, घाँस काट्दा गाउने गीत, चाडपर्वअनुसार गीत नाचहरु धेरै हुने गर्दछन् । यसैगरी युवापुस्ताहरुको गीत संगीतको अभ्यासका तथा सृजना गर्नका खातिर रोदी तथा ठकान जस्ता परम्पराहरु थिए । ति सबैमा, अधिकाँस गीतनाचहरु नेपाली भाषामा गाउने गरिएको पाइन्छ । विशेष गरेर राज्यको दमनका कारण नै मगर भाषा बोल्ने मगरहरुको ठूला-ठूला गाउँहरुमा पनि मगर भाषामा त्यस्ता गितहरु नेपाली भाषामो गाएको हुनुपर्दछ । नेपालमा आएको परिवर्तन बहुदलिय प्रजातन्त्र तथा गणतन्त्रको स्थापना पछि मगरहरुले मगर भाषामा गीत नाचहरु प्रदर्शन गर्ने गरिएको पाइन्छ । यसैको उदाहरण हो ज्योमारे (जिवै मामा) मगर खाम र मगर ढुटहरुमा गाउन शुरुवात गरिएको पाइन्छ ।

६. खानाको परिकारमा मगर भाषाको प्रयोग

मगर सभ्यतामा उनीहरु बसेको भुगोल, उत्पादन तथा तत्कालिन प्रविधीको संयोजनबाट मौलिक खानेकुराहरु बनेको पाइन्छ । यद्यपी मगरहरु बसोबास गरेको भुगोलले गर्दा मगरहरुमा यस्ता परिकारहरुको विविधता भने पाउन सकिन्छ । मगरहरुले खान्द्यान्नहरुको नाम पनि मगर भाषामा राखेको पाइन्छ । यसैगरी तिनबाट बनेका परिकारहरुको नाम पनि मगर भाषाहरुमा राखेको पाइन्छ । तर पछिल्लो समयमा सो नामहरु हराउँदै गएको छ ।

७. परम्परागत संस्थाहरुमा मगर भाषाको प्रयोग

मगरहरु यो भुमीका आदिम कालदेखि बसोबास गर्दै आएका आदिवासी नागरीकहरु (Indigenous peoples) भएकोले पनि उनीहरुको परम्परागत संस्थाहरु थियो । आधुनिक नेपाल राज्य बनेपछि शाहखलक, राणाखलक, पञ्चायती व्यवस्था, बहुदलिय प्रजातन्त्र, गणतान्त्रीक लोकतन्त्रका राजनैतिक व्यवस्थाहरुले आदिवासी नागरीकका परम्परागत संस्थाहरु भत्काउने र उनीहरुलाई फुटाउने कार्यहरु गर्दै आएकोले पनि मगरहरुमा आज विरलै मात्रामा परम्परागत संस्थाहरु आज अभ्यासमा छ । तैपनी मगरहरुमा प्रचलित परम्परागत संस्थाहरु— मेमाजा (महिलाहरुको संथा), भेजा, मौजा, रोदी, ठकान आदि परम्परागत संस्थाहरु मगर भाषामा अर्थ लाग्दछ ।

८. मगर दर्शनमा मगर भाषाको प्रयोग

प्रकृति र पितृ (पुर्खा पुजक आदिवासी मगरहरुको आफ्नो मौलिक दर्शन छ, जुन अलिखित रहेको छ । मानव जीवन र जगतको बुझाई मौलिक छ । मगरहरुको विश्व दृष्टिकोण आफ्नै प्रकृतिको रहेको छ । मगर दर्शनको जगमा मगरहरुको संस्कार र संस्कृति उभिएको छ । मगर दर्शन, मगर उत्पत्तीका कथाहरु बताउने झाँक्रीहरु हुन् । उनीहरुले पनि आफ्नो झाँक्री विद्या मगर भाषाहरुमा भनेको पाइन्छ । यद्यपी नेपाली भाषाको प्रभाव बढी परेकोले पनि कतिपय मगर झाँक्रीहरुले यस्तो दर्शनका कथाहरु नेपाली भाषामा भनेको पनि पाइन्छ ।

९. मगर संस्कार र संस्कृतिबाट मगर भाषाको विस्थापन

मगरहरुलाई ऐतिहासिक कालमा तत्कालिन भुरेटाकुरे राज्यहरुले म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी, पश्चिम पाल्पा र अर्घाखाँची (हिमाल देखि तराइसम्म)का जिल्लाहरु, प्युठान तथा रुकुम रोल्पा पश्चिमका मगर वस्तीहरु, खानी खन्ने पेशामा आबद्ध मगरहरुलाई मगर भाषा प्रतिबन्ध लगाइएको र आधुनिक नेपालको निर्माण भएपछि ति प्रतिवबन्धहरुलाई यथावत राखेकोले धेरै मगरहरु मगर भाषा बोल्न बञ्चित भए । नेपाल राज्यले आधुनिक शिक्षा र मिडियाको विकास गरेपछि सो विकासमा मगर भाषाको सुरक्षण (safeguard) गरिएन । शिक्षा र मिडियामा मगर भाषा समावेश गरिएन । यस्तो प्रकृतिको कानून पनि राज्यले बनाएन । गाउँगाउँमा एकल भाषा–संस्कृतिको माइन्डसेट भएका शिक्षकहरु, कर्मचारीहरु पुगे । उनीहरुले राज्यको नीति बमोजिम स्थानीय मातृभाषाहरु मास्नको लागि लागिपरे । स्थानीय मातृभाषा बोल्नेहरुलाई हाँसोका पात्र बनाए । मातृभाषा बोलेमा शिक्षामा कमजोर बन्छ भनेर देशद्रोही हौवा फैलाए । युवाहरुले आफ्नो ठाउँमा होइन विदेश गएर काम गर्नुपर्दछ भन्ने शिक्षा दिए । बहुभाषिक–बहुसाँस्कृतिक शिक्षण विधीको अभावमा बालबालिकाहरुको संज्ञानमा घात पु¥याएर, उनीहरुलाई शिक्षा लिन नसक्ने असक्षम बनाए । यस्तो परिस्थीति सृजना गरिदिएपछि मगरहरु आँफैले पनि मातृभाषा बालबालिकालाई सिकाउन छोड्दै गए । राष्ट्रिय र स्थानीय स्तरका मिडियामा मातृभाषालाई समावेश गरी सुरक्षण (safeguard) गर्नका लागि कुनै कानून नभएकोले उनीहरुले पनि मातृभाषा मास्नकै लागि काम गरे । अर्कोतर्फ भौतिक विकासले गर्दा भएको बसाइँसराई, आवतजावतले गर्दा पनि बसाइँसराई गरेका मगरहरुले आफ्नो भाषा–संस्कृति साथै लिएर जान सकेनन् । विकासमा स्थानीय भाषा–संस्कृतिको सुरक्षण (safeguard) गरिएन । त्यस्तो कानून पनि बनेन । बहुराष्ट्रिय कम्पनीहरु/दातृ निकायहरु (जस्तै विश्व बैंक, एडीबी, जाइका, इआबी, डब्लुडब्लुएफ, मिशनरीहरु आदि)ले पनि विकास निर्माणद्वारा मातृभाषा-रैथाने संस्कृति सिध्याउन लागि परे । अन्तराष्ट्रिय संस्थाहरु पनि नाफामुखी बने । दलालीहरुसँग मिलेर आदिवासी भाषा-संस्कृति सिध्याउनमै ध्याउन्न रहे । यस्ता विविध परिस्थीतिले गर्दा मगर भाषा बिर्सन बाध्य भएका मगरहरु धेरै हुनपुगे । यसले गर्दा पनि मगरहरुको संस्कार र संस्कृतिमा भएका मगर भाषाहरु विस्थापन हुँदै गइरहेको छ ।

१०. अबको बाटो/निश्कर्ष

सप्तगण्डकी, राप्ती–भेरी नदीका प्रश्रवण क्षेत्रमा मगरहरुको घना वस्ती भए पनि मगरहरु नेपालको सबै जिल्लामा बसोबार गरेका छन् । मगरहरुलाई ऐतिहासिक कालमा मनुस्मृतिको कानूनको प्रभाव परेका तत्कालिन भुरेटाकुरे राज्यहरुले म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी, पश्चिम पाल्पा र अर्घाखाँची (हिमाल देखि तराइसम्म)का जिल्लाहरु, प्युठान तथा रुकुम रोल्पा पश्चिमका मगर वस्तीहरु, खानी खन्ने पेशामा आबद्ध मगरहरुलाई मगर भाषा प्रतिबन्ध लगाइएको र आधुनिक नेपालको निर्माण भएपछि ति प्रतिवबन्धहरुलाई यथावत राखेकोले भाषिक सञ्चार नभएकोले मगर भाषाहरु फरक पर्न गयो । अर्कोतर्फ शिक्षा र मिडियाको विकासमा मगर भाषाले समावेश हुने मौका पाएनन् । ऐतिहासिक कालमा राज्यले गरेको विभेद र वेवास्ताका कारण मगर भाषा–संस्कृति आजको मरशान्न अवस्थामा आइपुगेको छ । राज्यको लगानी हुन सकिराखेको छैन । राजैनतिक व्यक्तित्वहरु (शासक), प्रशासक (कर्मचारीतन्त्र) अझ पनि आदिवासी/रैथाने मातृभाषाहरुको पक्षमा हुनुपर्ने जति सकरात्मक हुन सकिरहेका छैनन् । कतिपय अतिवादीहरु नेपाल राज्यको यस्तो बुहभाषिक-बहुसाँस्कृतिक सम्पदा सिध्याउन पनि लागिपरेका छन् । राज्यको लगानी शुन्यप्राय छ । ऐतिहासिक कालदेखि आजसम्मका शासक र प्रशासकहरुले लिएका नीति र गरेका व्यवहारका कारण आदिवासी समुदायहरुले आफ्नो ठाउँमा गरिखाने वातावरण छैन । विद्यालय तथा विश्वविद्यालयमा मगर भाषाले प्रवेश पाउन सकेको छैन । विद्यालयमा शुरुवात भए पनि राज्यसत्ताका अतिवादी समुहले त्यसलाई बिचैमा फेल गराइदिने प्रचलन रहेको छ । एकल भाषा-संस्कृतिको माइन्डसेट बोकेका शासक (जनप्रतिनिधी, नेताहरु) र प्रशासक (कर्मचारीतन्त्र) दुवै यस्तो आदिवासी भाषा-संस्कृतिको विरोधमा लाग्दछन् र संविधानको प्रावधानलाई लत्याइदिन्छन् । अर्कोतर्फ मिडिया (आमसञ्चार)को विकास, भौतिक पुर्वाधारको विकासमा आदिवासी भाषा–संस्कृतिको सुरक्षण (safeguard) गर्नुपर्ने कुनै पनि कानून छैन । यसैले पनि आदिवासी भाषा–संस्कृतिले कुनै ठाउँ पाउँदैन । यस्तो परिस्थीतिमा मगर संस्कार र संस्कृतिमा भएका मगर भाषाहरु तथा हराएका भाषा/ब्दहरु खोजेर पुर्नस्थापित गर्न जरुरी छ । यसको लागि गहिरो अध्ययन अनुसन्धानको आवस्यकता रहेको छ । मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोग खोज्नका लागि मिहिन रुपमा गहिरो अध्ययनको खाँचो छ । यसको लागि राज्यले र समुदायले लगानी गर्नुपर्ने आवस्यकता रहेको छ । यसका साथै शिक्षा र मिडियाको विकास, भौतिक पुर्वाधारका विकासहरुमा राज्य र दातृनिकाय (लगानीकर्ताहरुलाई जिम्मेवार बनाउनका लागि दबावमुलक कदमहरु समुदायले चाल्नुपर्ने आवस्यकता छ । मगर समुदायका अगुवाहरु फुटवादमा रमाउने र राज्यसत्ताको नीति पनि “फुटाउ र राज गर” नीति नै हुने भएकोले सामुहिक पहिचानलाई उपयोग गरी फाइदा लिन (Instrumentalist) अगुवाहरुले परम्परागत पहिचान (primordial identity) को कुरा नगरी पहिचानको विनिर्माण (Constructive identity) बनाउने प्रचलन पनि पाइन्छ । यस्तो परिस्थीतिमा आदिवासी अध्ययन विधी (Indegenous Reesearch Method) बाट पनि अध्ययन अनुसन्धान गर्न सकेमा परम्परागत पहिचान (primordial identity) पत्ता लाग्न सक्दछ । यस्तो शोधकार्य भएमा मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोगको पूर्ण रुप पाउन सकिन्छ । यसैको लागि सबै मिलेर कार्य गर्नुपर्ने आवस्यकता रहेको छ ।

सन्दर्भ सामाग्रीहरु

घर्तीमगर, बलबहादुर. (२०८०). मगर संस्कार: राप्ती, धौलागिरी र भेरी प्रश्रवण क्षेत्रमा प्रचलित काठमाडौः मगर

प्रकाशन समिति, मगर लेखक संघ ।

घर्तीमगर, बलाराम. (२०५३). मूल. ललितपुर ः मुना प्रेस ।

नेपाल सरकार. (१९१०). मुलुकी ऐन १९१०. काठमाडौः नेपाल कानून आयोग मुलुकी ऐन, १९१० – नेपाल कानून

आयोग (lawcommission.gov.np) वि.सं. २०८० कार्तिक ०३ गते डाउनलोड गरिएको ।

पुन, यमबहादुर र घर्ती मगर, झकेन्द्र. (सम्पा.). (२०७१). मगर जातिः ऐतिहासिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ.

काठमाडौंः मगर प्राज्ञिक समूह, नेपाल ।

पोखरेल, बालकृष्ण. (२०५५).खस जातिको इतिहास. विराटनगरः उदात्त अनुसन्धान अड्डी ।

बराल मगर, केशरजंग. (२०५०). पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरूको संस्कृति. काठमाडौंः नेपाल राजकीय प्रज्ञा–

प्रतिष्ठान । (शोधकार्य २०३७÷३८ र शोध प्रतिवेदन २०३८) ।

बुडामगर, हर्षबहादुर. (२०४९). किराँत वंश र मगरहरू ः एक ऐतिहासिक सर्वेक्षण. काठमाडौंः उन्नती बोहरा ।

बुढा, वम कुमारी. (२०७१). मगरातको इतिहासमा काला र गोरा शेषको आधार. याम बहादुर पुन र झकेन्द्र घर्तीमगर

द्वारा सम्पादित. मगर जातिः ऐतिहासिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ. प्रकाशक ः मगर प्राज्ञिक समूह,

काठमाडौँ

बुढा मगर, खर्कबहादुर. (२०६३). लहरे पैसेरी नाच. मास्टर मित्रसेन थापा मगर स्मारिका, पृ. ८८.

बुढा मगर, बमकुमारी. (२०६०). भूम्या, काठमाडौंः अथार मगरात मगर भाषा–संस्कृति विकास प्रतिष्ठान.

बुढा मगर, बमकुमारी. (२०६५). असौजको जवारा माघको झोप्ल्यानी. मगरदीप, पू. ४, पृ. ३८–४०.

बुढा मगर, बम कुमारी.(२०५५). पो ओल्ज छेङा, काठमाडौँ ः स्वयम् ।

शर्मा, जनकलाल (२०३९). नेपालका मगरजाति. हाम्रो समाज ः एक अध्ययन. काठमाडौं ः साझा प्रकाशन ।

श्रीस मगर, मीन. (२०६७). मगर जातिको चिनारी. ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल

मगर संघ ।

सिङ्जाली, विष्णुकुमार (२०७१). आदिवासी मगरका विविध पक्षहरु. काठमाडौ ः मगर अध्ययन केन्द्र ।

अँङ्ग्रेजी

Bista, D. B. (2011). People of Nepal (first published in 1967), Kathmandu: Ratna Pustak

Bhandar

Draft/10

Caplan, L. (2009). Warrior gentlemen: ‘Gurkhas’ in the western imagination. Kathmandu:

Himal Books.

Chemjong, I. S. (2003). History and culture of Kirat people. Lalitupur: Kirat Yakthung

Chumlung [first edition, 1967]

Dutt, Jogesh Chunder. (1879). Kings of Kasmira: Being A translation of Sanskrita work

RAJATARANGGINI of Kahana Pandita. London: Trubner and Co.

Gellner, D. N., Pfaff-Czarnecka, J. & Whelpton J. (eds.) (2016). Nationalism and ethnicity in

Nepal. Kathmandu: Vajra Books.

Hamilton, F. B. (2007). An account of the kingdom of Nepal. New Delhi: Rupa & Co. [First

edition, 1819]

Hitchcock, J. T. (1966). The Magars of Banyan Hill. New York: Holt, Rinehart and Winston.

Thapa, Narmaya (2022). Perceptions and Practices of Caring Childern in Magar

Community. Kathmandu: Dominik and Binik Thapamagar.

Wright, D., ( 2007). History of Nepal, New Delhi: Rupa & Co [First edition 1877]

Vansittart, E. (1991). Gurkhas. New Delhi: Asian Education Services. [First editon 1906]

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %