राष्ट्र बैंकले दश अर्बको विकास ऋणपत्र निष्काशन गर्दै

भदाै २३,२०८०

राज्यसत्ता संवाददाता

नेपाल राष्ट्र बैंकले रू १० अर्ब बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । आन्तरिक ऋण उठाउन सरकारको तर्फबाट राष्ट्र बैंकले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ निष्काशन गर्न लागेको हो ।

ऋणपत्रकाे व्याजदर निर्धारण बाेलकबाेलकाे माध्यमबाट हुनेछ । याे ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकसमेतले खरिद गर्नका लागि प्रस्ताव गर्न सक्नेछन् ।

भदाै २४ गते अपरान्ह ३ बजेसम्मकाे लागि विकास ऋणपत्र २०८६ ‘झ’को बोलकबोलका लागि अवधि तोकिएको छ भने भदौ २५ गते सोमबार निष्काशन हुनेछ । यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ २५ गते हुनेछ । ब्याजको भुक्तानी अर्धवार्षिकरूपमा हुनेछ । आर्जित ब्याजमा कर लाग्ने राष्ट्र बैंकले जनाएको छ ।

यो विकास ऋणपत्र खरिदका लागि प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरूपमा सहभागी हुन सकिनेछ । प्रतिस्पर्धी बोलबालालाई कुल निष्काशित रकमको ८५ प्रतिशत अर्थात रू आठ अर्ब ५० करोड अप्रतिस्पर्धी बोलबालालाई १५ प्रतिशत अर्थात रू एक अर्ब ५० करोड बराबरको ऋणपत्र छुट्याइएको छ ।

ऋणपत्र घटीमा रू ५० हजारकाे लिनुपर्ने छ । बढी खरिद मा कुल निष्काशित रकमको सीमा नबढाईकन रू ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिनेछ । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्कट एक्सचेञ्ज लिमिटेडमार्फत हुने राष्ट्र बैंकले जनाएको छ ।