पहिचान पक्षधरले जेठ १४ गते विराटनगर घेर्ने

Read Time:6 Minute, 57 Second

काेशि नामाङ्कन पश्चात् उठेकाे विवादले प्रदेश नं. १ पुन: नामाङ्कन सङ्युक्त सङ्घर्स समितिका सबै १४ वटै जिल्लाका समितिहरु १४ गते देखि बिराटनगरै धर्ना कसेर बस्न आह्वान गरेकाे छ । पहिचान पक्षधरहरूले आफ्नोे माग पूरा गराउन सडकमा उत्रन यस बिज्ञप्ति मार्फत आह्वान गरेकाे छ । यस प्रेस विज्ञप्तिलाई आधार मानेर आजै देखि तयारिमा लाग्न आग्रह गरेकाे छ ।

प्रेस विज्ञप्ति


पूर्वी नेपालको भूगोलमा बसोबासरत जनता पछिल्लो दुई दशकदेखि प्रदेशको नाम पहिचानको आधारमा नामकरण गर्न शान्तिपूर्ण आन्दोलनमा रहेको जगजाहेर छ । यस अवधिमा यो भूगोल, इतिहास, सभ्यता, भाषा, संस्कृतिको सम्मान, शान्ति, समृद्धि, समाजवाद र थप राष्ट्रिय एकताको लागि पहिचानको आधारमा नाम राख्न शान्तिपूर्ण धर्ना, जुलुस, प्रदर्शनहरू गर्दै राज्य पक्ष (सङ्घ र प्रदेश), पार्टीका नेताहरूलाई ज्ञापनपत्र, स्मरणपत्र दिँदै आयौँ ।

गत फागुन १७ गते छापामार शैलीमा शासक जातीय एकल नश्लीय (गोत्रीय) आधारको कोशी नाम जबरजस्ती राखिएपछि प्रदेशवासी जनता निरन्तर आन्दोलनमा रहेका छन् । साङ्गठनिक हिसाबले प्रदेश नं. १ पुन: नामकरण संयुक्त सङ्घर्ष समितिले आन्दोलनको नेतृत्व गर्दै आएको छ ।

यस बीचमा विराटनगरमा चैत्र ५ गते प्रहरीसँगको झडपमा पदम कुमार लिम्बु ‘लाजेहाङ’ सहिद भइसकेका छन् । वैशाख २६ गते झापा दमकमा प्रहरीको गोली प्रहारबाट गम्भीर घाइते गजेन्द्र फागो काठमाडौँमा उपचाररत छन् । प्रहरीको दमनबाट १५० भन्दा बढी घाइते छन् भने १५ बढीलाई मुद्दा खेपिरहेका छन् । केही पुर्पक्षमा जेलमा छन् ।

प्रदेश नं. १ को पहिचान मेटाउने, प्रदेशवासीको भावना विरुद्ध प्रहार भएपछि गाउँगाउँमा आक्रोश बढ्दो छ । मुख्यमन्त्री हिक्मत कार्कीलाई ओखलढुङ्गाबाट, पूर्व मन्त्री इन्द्र आङ्बो लिम्बूलाई ताप्लेजुङबाट, प्रदेश सभा सदस्यहरू राम राना मगरलाई इलामबाट, पीके राईलाई खोटाङबाट आक्रोशित जनताबाट लखेटिएको सबैमा विदितै छ । प्रदेशको नाम राख्न मुख्य निर्देशन दिने केपी ओलीलाई तेह्रथुम, पाँचथर, इलाम र झापाबाट कालो झण्डासहित जनताले विरोध प्रदर्शनसहित लखेटेको सबैलाई जानकारी छ । आन्दोलन यतिबेला कोशीको पक्षमा हस्ताक्षर दिने ८२ र केपी ओली विरुद्धका कार्यक्रम निरन्तर रहेको छ । र, यो आन्दोलन कुनै पार्टी र समुदायप्रति लक्षित नभएको पनि प्रष्ट पार्न चाहन्छौँ ।

जनता आन्दोलनमा छन् । एक जनाले सहादत प्राप्त गरिसकेको अवस्थामा प्रदेशको नाम कोशी खारेजी गर्नुको सट्टा प्रदेश सरकार २०८० जेठ १४ गते २ बजे संसद बैठक बोलाउन सिफासिर गरेर आन्दोलनरत पक्षलाई थप आक्रोशित पार्ने प्रयास भएको छ । साथै प्रदेश १ सरकार र सङ्घीय सरकार जनताको यस आन्दोलनले उठाएको आवाजलाई सम्बोधन गर्न चाहदैनन र पेलेर दमन गरेर जान चाहन्छन् भन्ने देखाएका छन् । प्रदेश १ को मुख्यमन्त्री हिक्मत कार्की प्रदेशमा उत्पन्न समस्याको समाधान खोज्नुको सट्टा झन चर्काउनतिर उद्धत देखिएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले दिँदै आएको एकपछि अर्को च्यालेन्जलाई स्वीकार्दै प्रदेश नं. १ पुन: नामाङ्न संयुक्त सङ्घर्ष समितिले प्रदेशको केन्द्र विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेका छौँ ।

आन्दोलन सुरु भएको तीन महिना बितिसक्दा पनि प्रदेश सरकार कानमा तेल हालेर बस्नुका साथै उल्टै आन्दोलनरत जनतालाई आक्रोशित पार्ने प्रयास भइरहेकाले २०८० जेठ १४ गतेदेखि विराटनगरमा विरोध प्रदर्शन गर्ने निर्णय भएको छ । प्रदेश सभा जेठ १४ गते २ बजे बोलाएको विज्ञप्ति आइसकेको हुनाले शान्तिपूर्ण सशक्त आन्दोलनमा जुट्न आम प्रदेशवासीलाई आव्हान गर्दछौँ ।

हामीले सरकारलाई पटक पटक सचेत गराउनुका साथै चेतावनी पत्र दिँदासमेत मुख्यमन्त्री हिक्मत कार्की र ८२ प्रदेश सभा सदस्यहरू समाधानको उपाय नखोजी प्रदेशलाई भिडन्ततिर लान चाहिरहेकाले आन्दोलनबाट हुन सक्ने क्षतिको पूर्ण जिम्मेवार राज्य पक्ष हुने समेत यस विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ ।

शान्तिपूर्ण रूपमा विरोध, धर्ना गर्न पाउने संवैधानिक अधिकार प्रयोग गर्दै आन्दोलनरत पक्षलाई दमन गरिनु मानवअधिकार विरुद्धको अपराध हुन्छ । सरकार समाधान नचाहने, प्रहरी आन्दोलनरत जनता विरुद्ध दमनमा उत्रिँदै निहत्था जनतामाथि गोली प्रहार गर्ने प्रहरी विरुद्ध छानविन गरी कारबाही गर्न समेत यस विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ ।

प्रदेश नाम ‘कोशी’ – खारेज गर ।
प्रदेशको नाम ‘कोशी’ – मुर्दावाद ।
सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’ – अमर रहून् । पहिचानको आधारमा प्रदेश नं. १ को – पुन: नामकरण गर ।

२०८० जेठ १० गते

प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति
(समन्वय समिति)

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %