पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीमगरको छैटौँ वार्षिक स्मृतिसभा सम्पन्न

Read Time:7 Minute, 18 Second

खड्क सारुमगर
काठमाडौँ, भदौ १२ गते । पूर्वमन्त्री, नेपाल मगर संघ केन्द्रीय समितिका पूर्वअध्यक्ष एवम् राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव स्वर्गीय गोरेबहादुर खपाङ्गीमगरको भदौ ११ गतेका दिन छैटौँ वार्षिक स्मृतिसभा र स्वयम् खपाङ्गीद्वारा लिखित ’राष्ट्रि मगरमाला’ पुस्तक विमोचनको कार्यक्रम आयोजना गरियो ।

कार्यक्रममा पूर्वमन्त्री , नेपाल मगर संघका संस्थापक सदस्य , इतिहासविद् तथा राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक अध्यक्ष एमएस थापामगरको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी, काठमाडौँमा सम्पन्न भएको थियो ।

विशिष्ट अतिथिहरूमा भिक्षु मध्यङ्कर स्थवीर र राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवङ्शी हुनुहुन्थ्यो भने अतिथिहरूमा एलडीपीका अध्यक्ष गणेशबल तामाङ, वरिष्ठ अधिवक्ता गौबहादुर आलेमगर, प्रा. डा. श्रीरामप्रसाद उपाध्यय, मगर अध्ययन केन्द्रका संस्थाक अध्यक्ष डा. गोविन्दप्रसाद थापा, सामाजिक अभियन्ता डा. मित्र परियार, प्रहरी वरिष्ठ उपरीक्षक योगेश्वर रोमखामी मगर, नेपाल मगर संघ केन्द्रीय समितिका कोषाध्यक्ष कमला थापामगर, जीतबहादुर सिञ्जाली साहित्य प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफामगर, नेता खपाङ्गीका समकालीक अर्थात् पत्रकार प्रवीण जोशी, मगर चलचित्र संघका अध्यक्ष भीमबहादुर रानामगर, नेपाल मगर संघका पूर्वसचिव चन्द्रबहादुर श्रीस र प्रथम शहिद लखन थापा प्रतिष्ठानका उपाध्यक्ष उमेश रानामगर , माष्ट्रर मित्रसेन प्रतिष्ठानका महासचिव मित्र राना मगर , सुन्दर बलमपाकी लगाएतका अथिति हुनुहुन्थ्यो ।

कार्यक्रमका प्रमुख अतिथि एमएस थापामगरले भन्नुभयो, ‘गोरेबहादुर खपाङ्गीले नेपाल मगर संघ केन्द्रीय समितिको अध्यक्षको रुपमा चार कार्यकाल (१२ वर्ष) सम्म रहेर काम गर्नुभयो । त्यति लामो समय अध्यक्ष रहनुको काण मगर संघमा खपाङ्गीको आवश्यकता थियो अर्थात् मगर समुदायले खपाङ्गीको विकल्पमा अन्य मगरको नेतृत्व पाउन सकेको थिएन । किन कि खपाङ्गीमा बोल्ने र अरुलाई बुझाउने कला र क्षमता थियो ।

मैले लेख्ने गर्थें, त्यसलाई खपाङ्गीले दूर दराजका मगर गाउँवस्ती वस्तीहरूमा पुगेर कुशल प्रदर्शन गरी मगरहरूलाई जनचेतना जगाउने काम खपाङ्गीले नै गर्नुहुन्थ्यो । खपाङ्गीले ६५ भन्दा बढी जिल्लामा मगर संघलाई विस्तार गर्नुभयो । मगर संघलाई स्वरुप दिने श्रेय खपाङ्गगीलाई जान्छ ।’ एमएस थापामगरले अगाडि थप्नुभयो, ‘त्यतिमात्र नभई खपाङ्गीले अङ्ग्रेजीमा व्यक्त गरेका विचारहरूको अडियो बेलायतको ब्रिटिश म्युजिममा सुरक्षित छ ।

यो कुरा मैले बेलायत भ्रमण गर्दा अवलोकन गर्ने अवसर पाएकोे थिएँ । म अरुलाई बेलायत जाँदा अवलोकन गरेर त्यसले के भन्न खोजेको हो भन्ने भावलाई संश्लेषण गरी मगर समुदायमा ल्याउनुपर्छ अनि मात्र मगरको वास्तविक इतिहास मगरहरूले बुझ्ने छन् । तर दुःखका साथ भन्नुपर्छ, अहिले मगर संघ नै मगर संघजस्तो छैन । यसको हालत कस्तो छ भन्ने कुरा मैले भनिरहनुपर्दैन र मुद्धा खेपिरहेको सबैलाई थाहा नै छ ।

खपाङ्गी राष्ट्रिय जनमुक्ति पार्टीमा महासचिव हुँदा पार्टी नेपालको दूरराजमा पुगेको तर अहिले पार्टीलाई टर्चलाइट बालेर खोज्नुपर्ने अवस्था रहेको छ ।’ यस कार्यक्रमलाई डा. मित्र परियार, प्रा. डा. श्रीराम उपाध्यय, पत्रकार प्रविण जोशी, सञ्जोग लाफामगरलगायतले सम्बोधन गर्दै खपाङ्गीका योगदानहरूका बारेमा चर्चा गर्नुभएको थियो ।

गोरेबहादुर खपाङ्गी फाउण्डेशनद्वारा आयोजित यस कार्यक्रममा खपाङ्गी अक्षयकोष स्थापनार्थ सहयोग गर्नुहुने बोस्टन मगर समाज, बोस्टन सिटीबाट रु. २,१३,८३६ र प्रदिन थापा काठमाडौँ, हाल अमेरिकाबाट रु. ५०,००० प्राप्त भएकाले उहाँहरूलाई सम्मानपत्रले सम्मान गरिएको थियो । यस अक्षयकोषबाट प्राप्त हुने व्याजबाट स्वयम् खपाङ्गीले अध्ययन गरेको महोत्तरी, रामनगरस्थित गौशाला हाईस्कुलमा अध्ययन गर्दै गरेका दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गरिने छ ।

यस फाउण्डेशनको संरक्षक सदस्यतावापत टेकबहादुर खपाङ्गीमगर आठराई, त्रिवेणी ताप्लेजु्ङ, हाल बेलायतबाट रु. १ लाख १ रुपैयाँ, पविता सुस्लिङमगर राई, महोत्तरीबाट रु. १ लाख रुपैयाँ, दिनेश राईबाट रु. १ लाख रुपैयाँ र मिलन थापा बाग्लुङबाट पनि रु. १ लाख रुपैयाँ फाउण्डेशनलाई प्राप्त भएकाले उहाँहरूलाई पनि फाउण्डेशनको संरक्षक सदस्यता प्रदान गर्दै सम्मानपत्रबाट सम्मानित गरिएको थियो । यस फाउण्डेशनलाई प्रेम गलामी, बुटबलबाट रु. ३० हजार रुपैयाँ प्राप्त भएकाले गलामीलाई पनि संरक्षक सदस्यता प्रदान गरी सम्मानसमेत गरियो ।

प्रतिष्ठानका अध्यक्ष हुमबहादुर थापाको अध्यक्षतामा उपाध्यक्ष रुद्र गुर्मछानद्वारा स्वागत मन्तव्य र सचिव खड्गबहादुर सारुमगरले कार्यक्रम सञ्चालन गर्नुभयो ।

फोटो : भिम राना

3 0
Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
67 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %