नेपाल मगर संघका अध्यक्ष, महासचिव, विदेश विभाग सचिवलगायतका माथि मुद्दा दायर

Read Time:9 Minute, 43 Second

काठमाडौँ सम्वाददाता

चैत्र २३ गते, काठमाडौँ ।

नेपाल मगर संघको वर्तमान कार्यसमितिका अध्यक्ष नवीन रोकामगर, महासचिव ज्ञानेन्द्र पुन, विदेश विभाग सचिव रक्षा रैकामगर र सङ्गठन सचिव जगत् रेस्मीमगरलगायतका सदस्यहरूले यस संघको विधान मिचेर यही चैत्र २५ देखि २७ गतेसम्म दाङको घोराहीमा आयोजना गर्न गइरहेको १२ औँ राष्ट्रिय महाधिवेशनका विषयमा नेपाल मगर संघका छवटा जिल्ला समन्वय समितिहरू र एक भातृसङ्गठनले कडा रूपमा भर्त्सनाका साथ सो अधिवेशनका बारेमा यी चारजना पदाधिकारीहरूलाई झिकाई सोधपुछ र अनुसन्धान गरीकन कारवाहीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा एक मुद्दा दायर गरेका छन् ।

नेपाल मगर संघको ११ औँ महाधिवेशनबाट निर्वाचित यस कार्यसमितिका अध्यक्ष नवीन रोका, ज्ञानेन्द्र पुन र रक्षा रैकामगरले संस्थालाई अत्यन्त व्यक्तिवादी तरिकाले चलाउँदै आइरहेका छन् । आम मगरहरूको जातीय समामाजिक संस्था भए तापनि यिनीहरूले संस्थालाई आफू अनुकूल बनाउँदै आफ्नै स्वार्थका लागि प्रयोग गर्दै आएका छन् । यिनीहरूले गर्दै आएका आर्थिक हिनामिना चाङ एकातिर छन् भने संस्थालाई आफूले भनेपछि सबै कुरा लागू हुनुपर्छ भन्ने हैकमवादी क्रियाकलापले संघको बचेकुचेको शाख पनि गिराएका छन् । यस्ता कार्य गर्दा यिनीहरूलाई विधानसँग कुनै सरोकार हुँदैन ।

२०७३ वैशाख १८ देखि २२ गतेसम्म चितवनमा आयोजित ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नवीन रोका अध्यक्ष र ज्ञानेन्द्रपुन महासचिव रहेको यस कार्यसमितिले संघको विधानअनुसार ठिक ४ वर्षमा महाधिवेशन गर्नुपर्ने भए तापनि अध्यक्ष, महासचिव र विदेशविभाग सचिवले पदमा टिकिरहने र संस्थामा आर्थिक चलखेल गरिराख्ने प्रपञ्च रचे । महाधिवेशन चारचोटि तोके तापनि यिनीहरूले विभिन्न कारण देखाउँदै महाधिवेशन गरेनन् र महाधिवेनका लागि गर्नुपर्ने तयारीमा कुनै मतलब राखेनन् । संघको महाधिवेशनै नगरी संस्थाको पदमा अवैध तरिकाले टाँसिइरहनु नै विधानविपरीतको कार्य हो तर पनि यिनीहरूले गाउँपालिका/नगरपालिका प्रतिनिधिहरूलाई अधिकारबाट बञ्चित गराउने गहिरो षड्यन्त्र रचे । गत माघ १८ गते सङ्गठन सचिव जगत् रेश्मी संयोजक, विदेश सचिव रक्षा रैका सदस्यसिचव र टेक नाम्जाली, खगेन्द्र पुन, कमल थापालगायत ७ जना सदस्यहरू रहने गरी गाउँपालिका/नगरपालिकाका प्रतिनिधि अनुगमन टोली गठन गरे तापनि यी कुनै निकायमा अनुगमका लागि टोली पठाइएन । वास्तविक कुरा त के भे आफ्ना नजिकका मान्छेहरूलाई सोधी आफ्नो पार्टीनिकटका प्रतिनिधि आउनुपर्ने ठाउँमा अरू पार्टीका प्रतिनिधि आएको भन्ने कुरा रिपोर्टिङसमेत गरे र उनीहरूलाई नक्कली प्रतिनिधि भनेर गाउँपालिका/नगरपालिकाबाट आउने ती प्रतिनिधिलाई बञ्चित गर्ने कार्य गरे । यसको मूल कारण नै गाउँपालिका/नगरपालिकाबाट प्रतिनिधि आउँदा ज्ञानेन्द्र पुनले चुनाव हार्ने भन्ने ठूलो डर हो । नवीन रोकामगर र ज्ञानेन्द्र पुनको मिलेमतोमा ज्ञानेन्द्र पुन जसरी पनि अध्यक्ष हुनैपर्ने भन्ने हठ, षड्यन्त्र र विधान मिच्ने गलत कार्यका कारण यिनीहरूमाथि यस्तो मुद्दा आइलागेको हो ।

आजै मात्र केही जिल्लाबाट नेपाल मगर संघको १२ महाधिवेशनप्रति आपत्ति जनाउँदै प्रेस विज्ञप्ति आएका छन् भने धेरै मगरहरुबाट सो महाधिवेशनप्रति कडा रुपले भर्त्सना गरिएको छ । यस्ता विज्ञप्ति र भर्त्सना विभिन्न जिल्ला र विदेशमा रहेका शाखाहरुबाट पनि आउने क्रम बढ्दो छ ।

प्रस्तुत छ अध्यक्ष, महासचिव, विदेश विभाग सचिवलगायतका माथि जिल्ला प्रशासन कार्यालय बबरमहल, काठमाडौँमा मुद्दा दायर गरिएको मुद्दापत्र ।

श्री जिल्ला प्रशासन कार्यालय बबरमहल, काठमाडौँमा चढाएको निवेदन पत्र ।

विषय: विधान विपरीत कार्य गरेको सम्बन्धमा ।

महोदय,
उपरोक्त विषयमा यस जिल्ला प्रशासन कार्यालयबाट दर्ता भई सञ्चालन भएको नेपाल मगर संघको केन्द्रीय समितिका अध्यक्ष नवीन रोकामगर, महासचिव ज्ञानेन्द्र पुनमगर, विदेश विभाग सचिव रक्षा रैकामगर र सङ्गठन सचिव जगत् रेश्मीमगरसमेत रहेका निजहरूले आफूखुसी संस्थाको कार्य गरेको, अरू सबैलाई विधानविपरीत कार्य गरी सूचनाको हकबाट वञ्चित गरेको, आआफ्नो मनपरी तरिकाले नेपाल मगर संघको १२ औँ राष्ट्रिय महाधिवेशन यही चैत्र २५/२६/२७ गते लुम्बिनी प्रदेश दाङको घोराहीमा गर्न लागेको, विधानमा प्रतिनिधि गाउँपालिका नगरपालिका १/१ जना ल्याउने भनेको भए तापनि केन्द्रीय समितिले २०७८ मङ्सिर ३० सम्ममा पालिकाहरूको अभिलेखीकरण गर्ने भन्ने सङ्गठन विभागले सातै प्रदेश एवम् जिल्लाहरूलाई औपचारिक पत्राचार नगरेको, अभिलेख नगराइएको, हाल आएर अभिलेखीकरण नभएको हुनाले भन्ने कारण देखाई गाउँपालिका/नगरपालिकालाई विधानमा प्राप्त अधिकार भए पनि प्रतिनिधि हुन नदिने केन्द्रीय समितिको मिति २०७८ चैत्र ३ को २० औँ बैठकको निर्णयप्रति घोर भर्त्सना गर्दै नेपाल मगर संघको विधान परिच्छेद ४ सभा ग बमोजिम तपसिलका जिल्ला समन्वय समितिहरू निज चार जना पदाधिकारीहरूलाई बोलाई सातै प्रदेश जिल्लाहरू साथै केन्द्रीय समितिमा बुझाइएका आजीवन सदस्यहरूको अभिलेखीकरण झिकाई बुझी निजहरूलाई विधानअनुसार आवश्यक कानुनी कारबाही गरी पाऊँ भनी यस कार्यालयमा निवेदन पेश गर्दछौँ ।

पुनश्चः आवश्यक कागजात यसै निवेदनका साथ प्रतिलिपि संलग्न गरी पेश गरिएको छ ।

१. नेपाल मगर संघ केन्द्रीय समितिको विधानको प्रतिलिपि

निवेदक
जिल्ला समन्वय समितिहरू–
१. नेपाल मगर संघ
जिल्ला समन्वय समिति, काभ्रे
अध्यक्ष– अम्बरबहादुर आलेमगर
२. नेपाल मगर संघ
जिल्ला समन्वय समिति, काठमाडौँ
अध्यक्ष– डबबहादुर गर्बुजा पुन मगर
३. नेपाल मगर संघ
जिल्ला समन्वय समिति, भक्तपुर
अध्यक्ष– नकुल राना मगर
४. नेपाल मगर संघ
जिल्ला समन्वय समिति, ललितपुर
उपध्यक्ष– हरिशरण थापा मगर
५. नेपाल मगर संघ
जिल्ला समन्वय समिति सिन्धुली
अध्यक्ष– अम्बिका खुलालमगर

६. नेपाल मगर संघ
जिल्ला समन्वय समिति, दोलखा
अध्यक्ष– ललितबहादुर खपाङ्गीमगर
७. नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ
अध्यक्ष– हुमबहादुर पचभैया थापामगर

बोधार्थः
जिल्ला प्रशासन कार्यालय, दाङ
नेपाल मगर संघ, कलङ्की काठमाडौँ
नेपाल मगर संघ, बाग्मती प्रदेश कलङ्की
नेपाल मगर संघ, दाङ जिल्ला समन्वय समिति
नेपाल मगर संघ, प्रदेश नं. १
नेपाल मगर संघ, मधेश प्रदेश
नेपाल मगर संघ, लुम्बिनी प्रदेश
नेपाल मगर संघ, गण्डकी प्रदेश
नेपाल मगर संघ, कर्णाली प्रदेश
नेपाल मगर संघ, सुदूर पश्चिम प्रदेश

इति सम्वत् २०७८ साल चैत्र २२ गते रोज ३ ।

14 3
Happy
Happy
53 %
Sad
Sad
20 %
Excited
Excited
7 %
Sleepy
Sleepy
0 %
Angry
Angry
13 %
Surprise
Surprise
7 %