आर्थिक रहस्य नै मगर संघ हङकङको विवाद

Read Time:13 Minute, 18 Second

राज्यसत्ता हङकङ संवाददाता

मगर संघ हङकङको दशौँ अधिवेशनको समयदेखि चुलिँदै आएको विवाद अहिले मगर समुदायमा मात्र होइन, नेपालीहरूसामु नै छरपस्ट भएको छ । यस विवादको रहस्य के हो र यसले पक्रेका पाटाहरू केके हुन् भन्ने विषयमा भने गहन रूपले विश्लेषण भएको देखिँदैन । कैयौँ व्यक्तिले भनेका भरमा या बनाएका व्यक्तिगत धारणाहरूमा धेरैले ठिक र बेठिक भन्ने धारणा थपेको देखिन्छ । जसले गर्दा विवादले झनै वक्र रेखा पक्रिँदै आएको छ र समस्या झनझन् जटिलतातिर भासिएको छ ।

सन् १९९७ अगस्त १० का दिन स्थापित मगर संघ हङकङ मगर समुदायको प्रष्टरूपमा आँखा पर्दै आएको र आर्थिक पक्षमा बलियो तरिकाले आफ्नो परिचय प्रस्तुत गर्दै आएको जातीय संस्था हो । २४ वर्षको लामो यात्रामा यस संघले ९ वटा कार्यसमितिका अनुभव बटुलिसकेको छ भने दशौँ कार्यसमितिको निर्वाचनमा आएर आफैँलाई विवादको जटिल भुमरीमा होमेको छ । यस संघको विवादको ढोकामा उभिएर हेर्दा यसको नवौँ, आठौँ र सातौँ कार्यसमितिका पाटाहरूसम्म देखिन्छन् । यस संघको सातौँ कार्यसमिति हरिमाया (चन्द्रज्योति) आलेको अध्यक्षतामा निर्वाचित भयो । कानुङ इम २०२१ म मनोज सूर्यवङ्शीमगरको लेखअनुसार यस संघको आजीवन सदस्य बनाउने कामलाई जोडतोडले अगाडि बढाइयो । संस्थाले विभिन्न लक्ष्य र उद्देश्यमा आर्थिक चन्दा सङ्कलनलाई जोड दियो । चन्द्रज्योति आलेकै अध्यक्षतामा यस संघको आठौँ कार्यसमिति निर्वाचित भयो । यस कार्यसमितिले मगर संघ हङकङको भवन खरिदलाई अगाडि बढायो । सो कार्यसमितिको बैठकको अडियो रेकर्डअनुसार सो भवन खरिदमा यस संघले ३३,५०,०००० हङकङ डलरमा मगर भवन किन्यो तर यसको कागजी प्रक्रिया र ऋणको व्याजका कारण ४२,००००० हङकङ डलर देखाइयो । यही खरिद रेट र देखाइएको खर्चबीचको रकममा प्रस्ट बिलभर्पाई र वैधता नभेटिँदा वास्तविताको खोजीमा विवाद हुन थाल्यो र समस्याको आगो सल्कियो । यस कार्यालयलाई प्राप्त आठौँ कार्यसमितिको बैठकको अडियो रेकर्डअनुसार कार्यसमितिले नै विवादलाई टुङ्ग्याउने भरमग्दुर प्रयास गरेको थियो ।

मगर भवन खरिदका बारे यस अडियोमा भनिएको छ, ‘त्यल्लाई छानविन गराउने समिति बनाउने तपाईंहरू यत्रो ! केके आउँछ अब यहाँ । फोन जान्छ पर्सनल । म्यासेज जान्छ, भोलि फेसबुकमा जान्छ । बद्नाम कसको हुन्छ ? मगरको, मगर संघ हङकङको ! हो यही कारण बाहिर जानुहुन्न ।’ भवन खरिदको सक्कल बिलको प्रसङ्गमा भनिएको छ, ‘अधिवेशन सार्नुपर्छ । आगामी आउने समितिले यही केशलाई अगाडि लान्छ । ठिक छ, बिल ल्याउँछ, ल्याउँछ, होइन भने हङकङको कुनकुन निकायमा जानुपर्छ, जाने हो । अगाडि आएर काम गर्ने मान्छेले बिल निकाल्न सक्दैन भने हामी आईसीएसीमै जानुपर्छ । कानुनी उपचार छ ।’ यही अडियोमै तत्कालीन अध्यक्ष चन्द्रज्योति आलेले सक्कल बिल देखाउन नसकेको विवादमा हिसाबी रेकर्ड राखेकोतिर कुरा मोड्छिन् ।

यसरी विवाद चर्किंदै जाँदा युगमाया रानाको अध्यक्ष्यतामा मगर संघ हङकङको नवौँ कार्यसमिति निर्वाचित भयो । तत्कालीन अध्यक्ष युगमाया रानासँग निवर्तमान अध्यक्ष चन्द्रज्योति आलेको दुरी विस्तारै टाढिँदै गयो । भवन खरिदको विवाद सल्टिनुको साटो झन् बल्झिन थाल्यो । मगर भवन र यस संघलाई बुझ्ने अनि नजिक भएका संघका सदस्यहरू दुई समूहमा विभाजित हुँदै गए, एकातिर भवनको हिसाब पारदर्शी हुनुपर्छ भन्ने पक्ष र अर्कोतिर विवादलाई ढाकछोप गर्दै अगाडि बढ्नुपर्छ भन्ने पक्ष । मगर संघ हङकङले समस्या समाधानका लागि हेमराज थापाको संयोजकत्वमा मगर भवन विशेष कार्यदल समिति गठन ग¥यो । कार्यदलमा रहेका सदस्यहरूका दाउपेचकै कारण समस्या समाधान हुन सकेन र पुनः समय थपियो । युगमाया रानाको कार्यकाल मगर भवनको आर्थिक विवाद र चन्द्रज्योति आलेको कार्यकालको माइन्युटबुक अनि बैँक खाताको निरन्ततरताविनै समापन भयो । यसले झनै द्वेषका गतिविधिहरू उब्जायो । हङकङका मगरहरू खुलेरै दुई समूहमा विभक्त भए । दशौँ अधिवेशनको पूर्वसन्ध्यामा हेमराज थापा र हर्क रानाले अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गर्दै आआफ्ना घोषणापत्र अगाडि ल्याए । विशेषतः हेमराज थापाले उठाएको मगर भवनको समस्यालाई पारदर्शी तरिकाले समाधान गर्ने भन्ने घोषणामा हर्क रानापक्ष झस्कियो र उमेदवारीको विवाद पेचिलो बन्न थाल्यो ।
उमेदवारीको वैधताको विषयमा उजुरी परेपछिका कार्यहरूमा निर्वाचन समितिले तटस्थता देखाउन सकेन भन्दै मगर संघ हङकङको तत्कालीन कार्यसमितिले निर्वाचन समितिलाई विघठन गरी अर्को निर्वाचन समिति खडा ग¥यो र निर्वाचनको कार्यलाई अगाडि बढायो । अक्टोबर ३ का दिन मगर संघ हङकङको दशौँ अधिवेशमा बन्दसत्र र उमेदवारी दर्तालगत्तै हुने मतदान कार्यअगावै हर्क रानापक्षबाट होहल्ला हुँदा निर्वाचन समितिले निर्वाचन स्थगित ग¥यो तर होहल्लाकै बीचमा हर्क रानाको पक्षले रानालाई अध्यक्ष घोषणा गरी सामाजिक सञ्जाल फेसबुक र अनलाइनबाट प्रचारप्रसारमा उत्रियो ।
भिडियो- १/ मगर संघ हङकङको अधिवेशनमा विवाद
https://www.youtube.com/watch?v=t2fnhGHofvU&t=775s
निर्वाचन कार्यदलको विघटनलगत्तै नेपाल मगर संघले तत्कालीन मगर संघ हङकङलाई लेखेको स्पष्टिकरण मागको चिठी हर्क राना पक्षबाट सार्वजनिक हुन पुग्दा नेपाल मगर संघ र मगर संघ हङकङबीच तिक्तता खडा भयो । यसले त्यतिबेला उग्र रूप लियो, जुनबेला नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनले हर्क राना मगर संघ हङकङको अध्यक्षमा निर्वाचित भएको भन्दै रानाको फोटोसहित निर्धक्क तरिकाले बधाई पोष्ट्याए । दुवै पक्षलाई एक ठाउँमा राखेर जुम बैठकको आयोजना गर्नु र समाधान खोज्नुको साटो नेपाल मगर संघले संघकै अन्तर्राष्ट्रिय संयोजक रक्षा रैकाको संयोजकत्वमा मगर संघ हङकङका पूर्व अध्यक्षहरू र एक कानुनविद सदस्य रहने गरी ५ सदस्यीय कार्यदल बनायो ।

कार्यदलको तेस्रो बैठक (सदस्य– चन्द्रज्योति आले, सदस्य– भोला थापा, संयोजक– रक्षा रैका र सदस्य– अधिवक्ता इन्दिरा श्रीस)

मगर भवन समस्याको मुख्य पात्र चन्द्रज्योति आलेलाई नै कार्यदलको सदस्यमा राखेपछि मगर संघ हङकङको निवर्तमान कार्यसमिति रुष्ट बन्यो । सदस्य भोला थापाको अनुपस्थितिमा रक्षा रैका, हुमबहादुर थापा, चन्द्रज्योति आले र इन्दिरा श्रीसको पहिलो बैठक बसी आचार संहिता बनाउने काम भयो भने दोस्रो बैठकमा आन्तरिक कुरा बाहिर नलाने र दुवै पक्षका आधिकारिक डकुमेन्ट माग्ने निर्णयसहित तेस्रो बैठकको मिति तय गरियो । संयोजक रक्षा रैकाले तेस्रो बैठकको मिति अचानक पछि सारेपछि हुम थापा बेलायत प्रस्थान गरे । हुम थापालाई बैठकको कुनै सूचना नदिई तेस्रो बैठक बसेर हर्क रानालाई आधिकारिकता दिने निर्णय ग¥यो । त्यही निर्णयलाई सदर गर्दै नेपाल मगर संघका अध्यक्ष नवीन रोका, महासचिव ज्ञानेन्द्र पुन र अन्तर्राष्ट्रिय संयोजक रक्षा रैकाको हस्ताक्षरमा हर्क रानालाई मगर संघ हङकङको अध्यक्षको वैधता दिलाए ।
भिडियो- २/ हर्क रानाको अन्तर्वार्ता
https://www.facebook.com/nhddstudiohk/videos/922742978376009
हेमराज पक्ष र मगर संघ हङकङको निवर्तमान कार्यसमितिले मगर संघ हङकङको विधानअनुसार मगर संघ हङकङ नेपाल मगर संघको भातृसंस्थाको रूपमा नरहेको र स्वायत्त एवम् सार्वभौम भएको कुरा प्रष्ट्याए । यतिबेला बजारमा शङ्का फैलेको छ, ज्ञानेन्द्र पुन सल्लाहकार रहेको लाफा इनभेष्टमेन्ट ग्रुपकी अध्यक्ष चन्द्रज्योति आले, निर्देशक रक्षा रैका र संस्थापक इन्दिरा श्रीसको निष्पक्षतामा । मगर संघ हङकङको निर्वाचन समितिले हेमराज थापा र हर्क रानाको उमेदवारीबीच नोभेम्बर १४ का दिन मतदान गर्ने मिति घोषणा ग¥यो ।
भिडियो- ३/ हेमराज थापाको अन्तर्वार्ता
https://www.facebook.com/nhddstudiohk/videos/307802364572737
सो दिन बाक्लो उपस्थितिमा मतदान भयो । यस मतदानलाई हर्क राना पक्षले वहिष्कार गरेको कुरा सामाजिक सञ्जालमा राख्यो । मतगरणामा ९२ प्रतिशतभन्दा बढी मत ल्याई हेमराज थापा विजयी भए । घटना यहाँनेर रोचक छ, नेपाल मगर संघले हर्क रानाको कार्यसमितिमा आधिकारिक भनेका वरिष्ठ उपाध्यक्ष याम बुढाथोकीमगर, उपाध्यक्ष कुमारी थापामगर र महासचिव रवीन्द्र थापामगरले हेमराज थापाको कार्यसमितिमा रहेर सफत खाई कार्यभार सम्हालेका छन् भने हर्क रानाले पनि तिनै पदाधिकारीहरूलाई सोही पदहरूमा राखेर उल्टै आधिकारिकता खोजिरहेका छन् ।

यहाँनेर स्पष्ट के हुन्छ भने जतिसकै विधानको विवाद ल्याए पनि विभिन्न संघसंस्थाबाट आधिकारिकताको सूची बोके पनि चुरो कुरो भवन खरिदको आर्थिक विवादमा अड्केको छ । नेपाल मगर संघले यस कुरालाई नजरअन्दाज गरी एकपक्षीय तरिकाले निर्णय गर्दै आएको देखिन्छ । अर्कोतिर सामाजिक सञ्जालमा छताछुल्ल भएका आजीवन सदस्यतावापतका रकमहरू र सन् २०१५ मा महाभूकम्पमा परी बाबाआमा गुमाएका नेपालका बालबालिकाहरूको शैक्षिक अक्षयकोषका लागि संघले उठाएको चन्दारकम पनि विवादका सहायक कारण हुन् भन्ने बुझिन्छ ।

यो एक्काइसौँ शताब्दीको समयमा हङकङजस्तो विकसित ठाउँमा बसेका शिक्षित मगरहरूले प्रजातान्त्रित निष्ठाको सौन्दर्य मानिने चुनावी मतदानमाथि अनेकौँ बखेडा झिकेर मगर संघ हङकङलाई नै विभाजन गरी आफ्ना तुष्टि पूरा गर्नु आफैँमा जग हँसाउनु हो । यसले मगरहरूबीचको सद्भाव र विश्वासलाई नै विनष्ट गर्छ ।

19 2
Happy
Happy
8 %
Sad
Sad
69 %
Excited
Excited
4 %
Sleepy
Sleepy
0 %
Angry
Angry
15 %
Surprise
Surprise
4 %