पर्दैन अब सर्वोच्चले प्रतिबन्ध र सरकारले बजेट बिनियोजन गर्न !

पूर्ण राना मगर/तनहुं

पहिलो आर्थिकवर्ष मातृ भाषाको लागि
बजेट छुट्याउला भन्यो छुट्याएन
अर्को वर्ष बजेट पर्ला भन्यो परेन
यो वर्ष बिनियोजन होला भन्यो भएन

भाषाको लागि बजेट
अस्ति राणा कालमा पनि दिएन
हिजो पञ्चायकालमा पनि छुट्याएन
आज गणतन्त्रमा पनि अटाएन

तर तिमी भने
कति खुसि भएका छौं रमाएका छौं
तिम्रो नेपाली खसभाषा विदेशिले बोल्यो भनेर
दिशानिर्देशमा लुजि बोल्यो भनेर
विदेशि वियोन्सिलेले फुलबुट्टे सारी गायो भनेर
हामी पनि त यसरिनै खुसि हुन्थ्यौं होला
हाम्रो मातृभाषालाई
हरवर्ष बजेट छुट्याएको भए
खै तिमिले हाम्रो पीडा बुझेको?

अब त म निश्चिन्त भएँ
यो भाषा हत्यारा सरकारले बजेट पार्दैन
अबत म विश्वस्त छु
यो नश्लवादि सरकारले बजेट छुट्याउँदैन
अबत म निसन्देह हुनेछु
एकलभाषि सरकारले बजेट दिंदैन ।

भो अबत मातृभाषालाई बजेट नछुट्याउ
किनकि
हामिले तिम्रै भाषामा भाषण गर्ने हो
तिम्रै भाषामा नारा लाउने हो
अनि
आजका हाम्रा बच्चाले
जिव्रो पातलो र बाठो हुन भनेर
आफ्नो मातृभाषा बोल्न छाडि
तिम्रो भाषा बोलेको छ
सत्ताको भाषा भनि हत्यारा खस भाषामा
बोलिरहेछन् लेखिरहेछन् पढिरहेछन् ।

हुनत तिमिले ठिकै गर्या हो कि !
भनाईनै छ एटम र परमाणु बम भन्दा
खतरनाक हतियार भाषा र धर्म हो
आफनो भाषाधर्म जोगाउने अरूको मार्ने
यसो गरे मातृभाषि जाति आफै लोप हुन्छ
त्यसैले होला सर्वोच्चले पनि
आणविक हतियार सम्झेर प्रतिबन्ध लाको ।

(सम्मानित सर्वोच्च अदालतले २०५६ जेठ १८ गते मातृभाषामाथि प्रतिबन्ध लगाएको सम्झनामा समर्पण)