प्रश्न– २ (कविता) !

Read Time:3 Minute, 32 Second

भावेश भुमरी

हरेक रात चोटका लाभाहरूमा
ऐँठिन्छन् मेरा सपना
म विपनाको अश्रुभेलमा
आफैँलाई बगाइरहेछु निरन्तर ।

हरेक दिन पाखुरा घोटेर
भोक सन्त्याउने मदजुरहरू
अभिशप्त छन् कोठाभित्रै
कोठाका आला घाउहरूसँगै
उदास आँखामा उमालिरहेछन्

निरन्तर आँसुका फोहोरा
जीवन र मृत्युको दोसाँधमा
आफूले आफ्नै घाँटी च्यापेर
आफूले आफ्नै मुख थुनेर
पीडाको अथाह गुम्फनमा
बफाइरहेछन् आफ्नै अँध्यारो भविष्य !

मान्छेहरू घरमा अघोषित बिरामी छन्
बिरामीले बिरामी छु भन्न डराउनुपर्छ
आफन्त आफन्त हुनबाट निषेध हुनुपर्छ
छिमेकमा खोकी लाग्न हुँदैन
छिमेकमा टाउको दुख्न हुँदैन
छिमेकमा घाँटी दुख्न पनि हुँदैन
साँच्चै छिमेकबाट बाहिर जान हुँदैन
छिमेकमा बाहिरबाट आउनसमेत हुँदैन ।

निर्मम यो समयको बेला
बिरामीहरूले असह्य रोग खप्न नसक्दा
फेरि बाँच्छु कि भन्ने झिनो आशामा
प्राणको सुस्केरा सुसेल्दा
कोही ठेलागाडाको सहारामा अस्पताल पुग्छन्
कोही ट्याक्टरमै प्राण त्याग्छन्
कोही अस्पतालअगाडि अन्तिम सास रोक्छन्
साँच्चै जीवन जीवनजस्तो छैन
मृत्यु मृत्युजस्तो पनि छैन
जीवन एक सिलिन्डर अक्सिजन रहेछ
मृत्यु एक सिलिन्डर अक्सिजनकै अभाव रहेछ ।

यतिखेर हज्जारौँ बिरामीको चापले
कैयौँ भनसुन र शक्तिको दबाबले

धेरै अस्पताल अस्पतालजस्ता छैनन्
बेड बेडजस्ता पनि छैनन्
भरिभराउ छन् सबै बेड
अस्पतालका चौरसम्म
खचाखच छन् बिरामीका बेड,
अस्पतालमा पटक्कै छैनन्
अक्सिजनका भरी सिलिन्डर
अस्पताल भन्छ–
आफन्तले खोजेर ल्याउनू अक्सिजन
सरकार भन्छ–
आफन्तलाई खोज्न नदिनू अक्सिजन
परन्तु एउटा कटु वाध्यता छ
आफन्तहरूलाई हिँड्न निषेध छ ।

सरकारका ओहोदेदारहरूलाई
कहीँ रोकतोक छैन
सरकारका झन्डावालहरूलाई
कहीँ कतै वाध्यता पनि छैन
कहिले गुडिदिन्छन् चपलीहाइटतिर
कहिले हुइँकिदिन्छन् सिंहदरबारतिर
कहिले कुँदिदिन्छन् भक्तपुरतिर
कहिले बैठक बस्छन् ‘वान इन वान’
कहिले वार्ता गर्छन् सामूहिक
केही पहरेदारहरू लेखिरहेछन्
एकतमासले पहेँलो समाचार
केही भरोसेदारहरू पोस्ट्याइरहेछन्
सतत् दम्भी शुभकामना र बधाई ।

म बन्दी कोठाबाटै देखिरहेछु
कैयौँ बिरामी अस्पतालमा छटपटिँदै
कैयौँ बिरामी घरघरमा तड्पिँदै
मुठी कसिरहेछन्
मुठी फुकाइरहेछन्
र, अन्तिम सास फेरिरहेछन्
सरकार !
चुनाबमा तिम्रा लागि डोबेको औँठामसी
अझै आलो नै देखिन्छ
तर अन्तिम धुकधुकीमा देखिन्छ
अब तिमी नै भन
एक सिलिन्डर अक्सिजन कहिले पाइन्छ ?

२०७८/०२/०२

3 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %