अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेस !

Read Time:4 Minute, 41 Second


राज्यसत्ता ,

काठमाण्डौ , पुष २८ ।

अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाभियोगको प्रस्ताव पेस गरिने भएको छ ।

‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्‍मा महाभियोग प्रस्ताव पेस गरेको छ । महाभियोग प्रस्तावमा ट्रम्प अमेरिकी संसद्‍मा भएको हिंसा भड्काउन सक्रिय रुपमा लागेको उल्लेख गरिएको छ ।
राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाएर हटाउन सभामुख नान्सी पेलोसीले जोड दिएकी छिन् । डेमोक्रेटिक पार्टीले राष्ट्रपति ट्रम्पले विद्रोह गरेको र भीडलाई हिंसात्मक क्रियाकलाप गर्न उक्साएको उल्लेख गर्दै महाभियोग वा अमेरिकी संविधानको २५औं संशोधनबाट पदबाट हटाउनुपर्ने बताउँदै आएको छ ।

कार्यकाल सकिनु ८ दिनभन्दा अघि संसद्मा महाभियोग प्रस्ताव पेस भएकाले पनि यो प्रक्रिया पूरा हुन्छ हुँदैन भन्नेमा भने शंका व्यक्त गरिएको छ । पछिल्लो पटक पनि ट्रम्पले महाभियोग सामना गरेका थिए । तर उनीविरुद्धको महाभियोग प्रस्ताव पास भएको थिएन ।

अमेरिकी संविधानबमोजिम ट्रम्पलाई महाभियोग लगाएर हटाउनका लागि संसद्मा मतदान हुनुपर्छ । त्यसमा अमेरिकी संसद्को दुई तिहाई मतले उनीविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्नुपर्नेछ । त्यसका लागि ट्रम्पकै पार्टी रिपब्लिकनका अधिकांश सांसदहरुले पनि उनीविरुद्ध मत दिनुपर्ने अवस्था आउनेछ ।

यदि उक्त प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाअभियोगको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन् । त्यो सम्भव हुनका निम्ति महाअभियोगको आरोप तल्लो सदनबाट पारित हुनुपर्नेछ । तल्लो सदनबाट पारित भएपछि मात्र उक्त प्रस्ताव सिनेटमा जानेछ, जहाँ राष्ट्रपतिलाई हटाउन दुईतिहाइ मत आवश्यक हुन्छ ।

संसद्‍मा भएको आक्रमणका लागि मुख्य जिम्मेवार रहेको भन्दै डेमोक्रेटहरूले ट्रम्पलाई पदबाट हटाउन चाहेका हुन् । उपराष्ट्रपति पेन्सले ट्रम्प राष्ट्रपति पदमा रहिरहन अयोग्य रहेको घोषणा गर्नुपर्ने डेमोक्रेटहरूको माग छ । अमेरिकी संविधानको २५ औं संशोधनअनुसार उपराष्ट्रपतिले बहालवाला राष्ट्रपति पदमा बसिरहन अयोग्य रहेको घोषणा गर्न सक्नेछन् ।

उपराष्ट्रपति पेन्सले भने उक्त आग्रह अस्वीकार गर्ने बताएका जनाइएको छ । पेन्सले राष्ट्रपति ट्रम्पको कार्यकाल केही दिन मात्रै बाँकी रहेको र २५औं संशोधनअनुसार हटाउँदा त्यसको परिणाम नराम्रो हुन सक्ने बताउँदै आएका छन् । एक डेमोक्रेट नेताका अनुसार त्यस्तो मतदान छिटोमा मंगलबारसम्ममा हुनेछ ।

संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले सीएनएनसँग उक्त कदम यो साता उठाउन सकिने बताए । तर जो बाइडनको पहिलो एक सय दिनको कार्यकाल पूरा नहुँदै डेमोक्रेटिक दलले माथिल्लो सदन सिनटमा सुनुवाइका लागि प्रस्ताव नपठाउन सक्छ । बाइडेनले जनवरी २० मा पदभार ग्रहण गर्दै छन् । ट्रम्पले बाइडेनको शपथ ग्रहण समारोहमा आफू उपस्थित नहुने बताइसकेका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले ‘राजनीति प्रेरित’ भन्दै महाअभियोगको सम्भावना खारेज गरेको बीबीसीले जनाएको छ । त्यस्तो कदमले ‘देशलाई थप विभाजित गर्न मात्र सघाउने’ ह्वाइट हाउसको भनाइ छ ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %