पहिचान बिरोधी ओलीपथमा बादल ? सवैले साथ छोडे तर एक्लै होमिए किन ?

Read Time:4 Minute, 34 Second


काठमाण्डौं, पौष ९
नेकपाको सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अन्त्यमा केपी शर्मा ओली नेतृत्वको समूहमा मिसिएका छन् । आदिवासी जनजाति र मधेसका जनताहरु पहिचानको आन्दोलनमा सडकमा रहेका बेला प्रधानमन्त्री के.पि ओलीले भनेका थिए “सडकमा दुई चार जना बाँदरहरु उफ्रिदैमा केही हुँदैन । ”
बादल अर्थात राम बहादुर थापा मगर । जसले माओवादी जनयुद्ध सुरु हुनुपूर्व रोल्पा, रुकुममा गएर संगठन निर्माण गर्दा पहिचानका आधारमा राज्य बनाउँने भन्दै हजारौ युवाहरुलाई गोलबन्द गराएका थिए । जलजला अभियानमा रुकुम रोल्पाका धेरै मगरहरुलाई माओबादीमा लामबन्द गराएर बन्दुक बोकाएका थिए । तर अहिले आएर जनआन्दोलनमा मुकै नदेखाएका, नेपालमा गणतन्त्र आउनु भनेको गाडामा चढेर अमेरिका जानु जस्तै हो भन्दै खिल्ली उडाउने , पहिचान र जनयुद्ध बिरोधी कित्तामा उभिएका उनै ओलीको सरणमा बादल मिसिएपछि बादल एक्लिएका हुन् । अध्यक्ष ओली वा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संग बादलको कुम मिल्ला ? भनेर धेरैलाई जिज्ञासा थियो । कुनै समय प्रचण्डसँगै उठबस गर्ने बादल दोस्रोपटक प्रचण्डसँग टाढिएका हुन् । यसअघि तत्कालीन माओवादी विभाजित हुँदा उनी मोहन वैद्य ‘किरण’ नेतृत्वको समूहमा लागेका थिए । वैद्यसँग चोइटिएर उनी फेरी प्रचण्ड नेतृत्वकै पार्टीमा आएका थिए ।

२०७४ को प्रतिनिधिसभा, प्रदेशसभाको चुनावमा बादल समूहका अधिकांश नेताहरुलाई प्रचण्डले टिकट दिए । एकाधबाहेकले जिते पनि । पूर्वमाओवादीको तर्फबाट गृहमन्त्री बनेर बादलले नै सरकारको नेतृत्व गरे । प्रदेशहरुमा पनि उनी पक्षीय नेताहरुलाई राजकीय पदको अभाव भएन । अर्थात आफूपक्षीय नेताहरुलाई अवसर दिलाउन बादल सफल भए र उनको े समूह बलियो बन्दै गयो । देव गुरुङ, पम्फा भुषाल, यशोदा सुबेदी गुरुङ, अमृता थापामगर, सुरेश कुमार किराँतीलगायत प्रतिनिधिसभा सदस्य बने । कुलप्रसाद केसी ‘सोनाम’ लुम्बिनी प्रदेशको आन्तरिक मामिलामन्त्री, पूर्ण घर्ती लुम्बिनी कै सभामुख, नरेश भण्डारी कर्णाली प्रदेशको आन्तरिक मामिला मन्त्री, इन्द्र आङबो प्रदेश १ को अर्थमन्त्री, हरिमान चुमान गण्डकी प्रदेशको आन्तरिक मन्त्री बने । नेकपाको केन्द्रीय कार्यालयको दुई सचिवमध्ये श्रीराम ढकाल बादल समूहकै थिए । उनको समूहका थुप्रै प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख बने । नेकपाको केन्द्रीय समितिमा बादल समूहबाट ३३ जना थिए ।
बिहिबार नेकपाको दुवै समूहको बैठक एकै समयमा बस्यो । प्रचण्ड–माधव समूहको बबरमहलमा र ओली समूहको प्रधानमन्त्री निवास बालुवाटारमा । बादल बालुवाटारमा प्रकट भए तर, आफ्नो पूर्ववत समूहबाट एक्लै । उनी बालुवाटारमा एक्लो उभिरहँदा उनको समूहका सबै केन्द्रीय नेताहरु प्रचण्ड–माधव समूहमा सहभागी भए । आफ्ना सारा सहयात्रीहरुको विश्वास गुमाएर उनी किन ओलीतिर लागे किन ? उनी निकटका नेताहरु भन्छन् बादल सत्तामोहनमा बिलिन भए । त्यसैले त गृहमन्त्री बादल ओली समूहतिर लागेपछि उनका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले बिहिबार नै उनका साथ छोडिदिए । र छोड्दैछन् बादललाई उनकै नजिकका नेता र कार्यकर्ताहरु पनि ।

1 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %