कस्तो अबुझ चेपाङ (कबिता )

Read Time:4 Minute, 38 Second

No description available.

                                                       पूर्ण बहादुर राना मगर 

कस्तो अबुझ चेपाङ तिमी
२१ औं शताब्दि कम्युनिस्टलाई
१९औं शताब्दी कम्युनिस्ट ठान्ने ?
कस्तो अबुझ चेपाङ
२१औं शताब्दीमा पनि
बाँदर कुर्ने गोठ जस्तो छाप्रोलाई
घर भन्ने तिमी ।
२१औं शताब्दीमा
चिठि लिएर हुलाक जाने होईन चेपाङ
ईमेल र मेसेन्जर चिठि पठाउने हो चेपाङ ।
फोन गर्न टेलिकम कार्यालयमा
लाईन लाग्ने होईन चेपाङ
भाईबर, ईमो, मेसेन्जर
ह्वाट्स एपमा बोल्ने हो चेपाङ ।
नुन लिन डोको बोकि
सोहोपुर ठोरि जाने होईन चेपाङ ।
घरमै गाडिले ल्याएको
नुन खाने हो चेपाङ ।
खाना जोहो गर्न
नाम्लो हाँसि बोकि
घनघोर जङ्गल र झाँक्री पाहारको भित्तामा
खरको जरा समाई समाई
घाँस काट्न जाने होईन चेपाङ ।
हामी त २१औं शताब्दीमा छौं
खाना जोहो गर्न
ठूलठूला हाईपर र सुपरमार्केटको भित्तामा
खुट्टाले हिंडेर होईन
लिफ्टमा चढेर कमाउन जाने हो चेपाङ ।
हिजो १ दिन हिंड्न लाग्ने बाटोमा
हिडेर जाने होइन चेपाङ
एक घण्टामा
बाईक गाडि चढेर जाने हो
महिनौं दिन हिंडेर पुग्ने बाटोमा
सररर जहाजमा
उडेर जाने हो चेपाङ ।
गिठा, भ्याकुर, कोदो रोटि
भुट्या मकै खाने होईन चेपाङ
पिजा, मःमः चाउमिन
खाने हो चेपाङ ।
कस्तो अबुझ चेपाङ तिमी
घोंगि पनि खाने होत मासुको धित मार्न
खाँदा खाँदा गैंडा, कालिज
मयुरको मासु खानु पर्थेन ।
हिजो कपास खेति गरि
घरबुनाको कपडा लगाउने
चलन थियो चेपाङ
अब
टेरिकटन, पुलिस्टर सुतिको
मेसिनले बुनेको कपडा
लगाउने हो चेपाङ ।
हिजो भर्ला र काठको चप्पल
लगाउने चलन थियो चेपाङ
अहिले हजारौं लाखौं पर्ने
जुत्ता र चप्पल
अझ भनौ
सुज र स्यान्डल
लाउने हो चेपाङ ।
हिजो झैं पसिना गन्हाएर
हिंड्ने होईन चेपाङ
हजारौं लाखौंको फफ्र्युम
छर्किने हो चेपाङ ।
बिहे गरेर गेट टुगेदर होईन
बिहे नगरि लिभिङ टुगेदर हो चेपाङ ।
असार श्रावणमा
बाँदर कुर्ने थारो जस्तो झुप्रोमा
एकान्त जङ्गलमा बस्ने होईन चेपाङ
आलिसान बिल्डिङ, भिला
मलमा बस्ने हो चेपाङ ।
तिमीले यी सब परिवर्तन नमानेर त
२१ औं शताब्दीको कम्युनिष्ट सरकारले
तिम्रो जङ्गल छेउको
बाँदर कुर्ने गोठ जस्तो
तिम्रो घर जलायो ।
अनि तिमी भन्छौ
सरकार लाग्यो ।
जङ्गल छेउ बिचमा
गरिब बस्ने होईन
धनिहरू टाईगटप्स रिसोर्ट कटेज बनाई
जोडि बिजोडि गई ह्विस्किको चुस्कि लिई
रमाईलो गर्न जाने हो चेपाङ ।
यत्रो परिवर्तन भएको थाहा नपाउने
कस्तो अबुझ चेपाङ तिमी ?
१८४८ मा कार्लमाक्र्सको कम्युनिष्ट
र अहिलेको
२०२० को कम्युनिष्ट आकास जमिन फरक छ ।
सायद १९औं शताब्दीको माक्र्सवादलाई
र २१ औं शताब्दीको माक्र्सवादी बनाउन
तिम्रो छाप्रो जलाएको होकि
बाँदर कुर्ने थारो जलाएको होकि ।
हिजो गरिब हलो लाई गोरू जोत्थ्यो
मालिकले मान्छे जोत्थ्यो
अहिले धनिले दिमाग जोत्छ
गरिब ट्रयाक्टर जोत्छ ।
यतिका कुरा फेरिंदा पनि
कतै तिमी १० तलाको बिल्डिङमा बसेन भनेर
तिम्रो झुप्रो घर जलाएको होकि
सरकारले चेपाङ ः
अब गल्ति नदोहोर्याउन चेपाङ
आफ्नो गल्ति आफै महशुस गर चेपाङ ।
यसमा २१औं शताब्दिको
कम्युनिष्ट सरकारको
दोष छैन भनेर चेपाङ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %