बातावरण साहित्यकार बिजय हितानको इको उदघोष- एक व्यक्ति १ पाउण्ड

Read Time:5 Minute, 0 Second

-अमित थेबे

आसफोर्ड (बेलायत) १७ चैत,  

विश्व नेपाली साहित्य महासँघले सन २०२० जुन महिना काठमान्डुमा बृहत पर्यावरणीय साहित्य सम्मेलन आयोजना गर्ने भएको छ । इको साहित्यलाई प्रबर्धन गरिरहेको महासँघको बेलायत स्थित साउथ यूकेको प्रमुख संयोजनमा सम्मेलनको आयोजना गरिनेछ ।

शनिबार ३० मार्च २०१९ आसफोर्डमा शाखाको तेस्रो स्थापना दिवस तथा अर्थ आवरको अवसर पारेर आयोजना गरिएको सिर्जना वाचन तथा गायन कार्यक्रममा सम्मेलन आयोजना गर्ने घोषणा गरिएको थियो । वातावरणीय साहित्यको महत्वलाई बहसमा लैजान जून ५ मा पर्ने विश्व वातावरण दिवसका अवसरमा साहित्यकर्मीहरूको बृहत जमघट गराउने परिकल्पनाकार विजय हितानले बताए । शाखाका पूर्व अध्यक्ष समेत रहेका हितानले वातावरणीय सङकटलाई साहित्यका माध्यमबाट प्रकट गर्न आफूहरूले निरन्तर रूपमा इको साहित्यमार्फत अभियान चलाइरहेको बताए । ‘बढ्दो जलवायु परिवर्तनका असरबारे लेखक साहित्यकारहरू तातिने बेला भएको छ,’ उनले भने, ‘काठमाडौँ सम्मेलन मार्फत हामी सबैलाई पृथ्वीको पर्यावरण जोगाउन आह्वान गर्नेछौँ ।’

वातावरण संरक्षणकर्मी समेत रहेका हितानले सम्मेलनलाई सफल बनाउन एक व्यक्ति १ पाउण्ड सहयोग सङकलन अभियान शुरू गरिएको समेत बताए । नेपालमा रहनेहरूले भने १००  रूपैयाँ प्रतिबद्धता शुल्क वापत बुझाउन सक्नेछन् । एक हजार जना आफ्ना नातेदार र साथी भाइहरुबाट एक-एक पाउन्ड सहयोग स्वरुप उठिसकेपछी सन २०२० को अर्थ आवरको दिन यो कोष सङकलन स्थगित गरिने छ । यस अभियानबाट प्रत्यक्ष एक हजार जनालाई बातावरण सम्रक्षण र इको साहित्यको महत्व बुझाउन सकिने उद्देश्य लिईएको छ ।  

यसैगरी, विनेसाम साउथ यूकेको स्थापना दिवसमा डेढ दर्जन बढी कविहरूले आफ्नो सिर्जना प्रस्तुत गरे । कविहरू सेमन्त राई, सुरेन्द्र इङनाम, अमित थेवे, लाहाङ चेम्जोङ, औँतारी साइँला, विश्वासदीप तिगेला, विजय हितान लगायतले पर्यावरणीय कविताहरू सुनाए । स्थानीय केन्ट लिटरेरी ग्रुपमा आबद्ध बेलायती कविहरू फेलिसिटी के र मुर्रे हेलउडले आफ्ना रचनाहरू मार्फत वातावरणीय सङकटबारे बोलेका थिए । त्यस्तै, सुरेन्द्र र सेमन्तको जोडीले बाँसुरी र मादल वाद्देवादन प्रयोग गरेर गीतका धूनहरू प्रस्तुत गरे । कार्यक्रम सञ्चालक थिर थापा मगरले पनि इको गीत सुनाए ।

महासँघ सम्बद्ध लेखकहरूका प्रकाशित कृतिहरू उपर पनि दुई सर्जकले समीक्षा प्रस्तुत गरे । लेखक गणेश पुनले गीतकार भावेश भुमरीको नियात्रा सद्वङ्ग्रह ‘भिषाको रङ’ बारे धारणा राखे । कवि थेवेले हितानद्वारा लिखित निबन्ध सङ्ग्रह ‘इको उत्सर्जन’ माथि चर्चा गरे । कार्यक्रममा बीएफबीएस गोरखा रेडियोका स्टेसन प्रमुख योगराज राई, नेपाल अदिवासी जनजाति महासँघ यूकेका पूर्व अध्यक्ष तुल छन्त्याल, कल्पना हितान, भोज कुमारी लिम्बु, भावना सिङ्गक चेम्जोङको पनि उपस्थिति रहेको थिए ।

सन् २००७ मा अष्ट्रेलियाको सिड्नी सहरबाट शुरु भएको अर्थ आवरलाई विश्वकै भुइँ तहबाट सञ्चालन गरिने सबैभन्दा ठूलो वातावरणीय चेतनाको अभियान मानिन्छ । यो अभियान अन्तर्गत प्रत्येक मार्चको अन्तिम शनिबार करोडौँ अभियानकर्मीहरूले बेलुकी ८.३० बजेदेखि एक घण्टासम्म आफ्नो घरको बत्ती बिजुली निभाएर कार्बन उत्सर्जन कटौतीको अभियानमा ऐक्यबद्धता व्यक्त गर्छन् । अर्थ आवर विश्व वन्यजन्तु संरक्षण कोष (डब्लू डब्लू एफ) को पहलमा शुरु भएको कार्यक्रम हो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %