बि.के राना मगर / बोस्टन,यू.एस.ए
फोटो: फाईल बाट
आज यतिखेर, नेपाल (काठमाडौँ)मा अगष्ट ९ , २०१८ अर्थात् विश्व आदिवासी दिवस – २०७५ (World’s Indigenous Peoples Day 2018) बिभिन्न कार्यक्रमका साथ मनाईदैछ होला पक्कै पनि ।
यस सिलसिलामा , सम्बत् २०५७ साल साउन २४ गते मंगलबारको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा छापिएको दुई लिम्बू महिलाको शिरफूल र अन्य पहेंलपुर गहनाले झकी-झकाऊ, एउटा सुन्दर फोटो छ मेरो अगाढी अहिले यतिबेला ।
त्यसबेलाको पुराना कुरा – स्व. गोरे बहादुर खपांगीको याद आइरहेछ यहाँ अहिले झल्झल्ती !
त्यस वर्षको विश्व आदिवासी दिवस र नेपाल जनजाति महासंघको तेश्रो महाधिवेशनका सिलसिलामा २०५७ साल साउन २२ गते काठमाडौँ ठमेलस्थित डि. बि. पुन (मनकामना हेलिकप्टर प्रा.लि.)को Center Point Hotel मा नेपालका जनजाति अगुवाहरुको एउटा अपर्झट अत्यन्त जरुरी बैठक बसेको थियो । त्यो बैठक डा. हर्क गुरुङको (एकप्रकारले अघोषित) अध्यक्षतामा बसेको थियो । डा. हर्क गुरुङको दाहिनेपट्टि प्रा. कमल प्रकाश मल्ल बस्नु भएको थियो भने देब्रे पट्टि स्व. खपांगी । अनि स्व. खपांगीको देब्रे पट्टि थिएँ म ।
त्यो बैठक अर्थात् ‘मिटिंग’ निक्कै गरमागरम बहसकासाथ चल्दै थियो – जनजातिहरुको मिटिंग न जो ठहरियो ! विशेष गरेर एकजना धिमालजी (उहाँको पुरा नाम भुलेछु अहिले) र बालकृष्ण माबोहांगको प्रश्तुतीमा त्यसबेलाका नेपाल जनजाति महासंघका महासचिव परशुराम तामांग, जो त्यसैदिन (?) लण्डनदेखि सो मिटिंगमा भाग लिन आउनु भएको थियो, ले निक्कै चर्को प्रतिवाद गर्नु भयो
। हालै दार्जीलिंगका एकजना नेता विनय तामाङ्गको भाषणको शैलीमा – त्यो मिटिंग पनि चर्कदै , चर्कदै गयो । र, त्यो मिटिंग रातको ९ बजे त्यत्तिकै टुंगियो पनि । अनि घरतिर हिडे सबैजना ।
त्यस वर्षको विश्व आदिवासी दिवस काठमाडौँमा अत्यन्त भव्यताका साथ मनाउने उद्धेश्यले एउटा ‘तदर्थ राष्ट्रिय समिति’ बनेको थियो । नेपाल मगर संघका तत्कालिन अध्यक्षका हैसियतले सो समितिका संयोजक हुनुहुन्थ्यो – स्व. गोरे बहादुर खपांगी । अहिले संघीय संसद बसेको त्यसबेलाको बिरेन्द्र अन्तर्राष्ट्रिय सभागृहको मुख्य हलमा विश्व आदिवासी दिवस – २०५७ मनाइने तय भएको थियो र हलको भाडा रु. १ लाख तोकिएको थियो । राष्ट्रिय जनजाति विकास समितिले हल भाडा तिरिदिने कुरो गरेको थियो तर स्थानीय विकास मन्त्रालयले पैसा अझै पठाईसकेको थिएन ।
त्यसदिन राष्ट्रिय जनजाति विकास समितिका तत्कालिन कार्यकारी निर्देशक डा चैतन्य सुब्बाको कार्यक्षमा स्व. खपांगी,मन्जुल याक्थुम्बा, ताम्ला उक्याब लगायत हामीहरु सबैजना थियौ । ‘टिरिंग टिरिंग’, ‘टिरिंग टिरिंग’ फोनको घन्टी बज्यो । मैले नै उठाएको थिएं त्यो ‘कल’ । “भरे ५ बजे सम्म हल भाडा नबुझाए बुकिङ्ग क्यान्सिल हुनेछ ।” – बडो आदेशात्मक शैलीमा बोलियो उताबाट !
हतार हतार स्व. खपांगीले कर्णाली एयर्लाइन्सका नारायण सिंह पुनसंग सम्पर्क गर्नु भयो । त्यसपछि उहाँले (नारायण सिंह पुनले) विश्व आदिवासी दिवस मनाउने र नेपाल जनजाती महासंघको तेश्रो महाधिवेशनको उदघाटन कार्यक्रमका निम्ति रु. १ लाख सापटी पनि दिईहाल्नु भयो । सो रकम त्यसै दिन ५ बजे भित्र स्व. खपांगीले लगेर बुझाउनु पनि भयो । बल्ल हो बा ! बा ! भए जनजातिका सबै अगुवाहरु । नत्र कता गएर गर्नु भोलि कार्यक्रम ?!?
स्व. खपांगीको संयोजकत्वमा त्यस वर्षको विश्व आदिवासी दिवस एवं नेपाल जनजाति महासंघको तेश्रो महाधिवेशनको उद्घाटन कार्यक्रम अत्यन्त भव्य तरिकाले सम्पन्न भयो काठमाडौँमा । शायद त्यस ढंगले – ‘न भूतो न भविष्यति’ !
नेपालमा त्यो हिसाबले आजभोलि पनि विश्व आदिवासी दिवस मनाइन्छ कि मनाईदैन मलाई थाहा छैन ।
(फोटोहरु: ज्ञान थापा मगर – बुटवल , रघु थापा मगर र जिवन थापा मगर – काठमाण्डौ )।