बेलायतको ओपन कन्सर्टमा गीतकार भुमरी विशेष अतिथि !

Read Time:6 Minute, 18 Second

विजय हितान
फान्वोरो, १३ जुन लन्डन । यस वर्ष मगर संघ युकेद्वारा आयोजित ओपन कन्सर्ट २०१८ मा कवि तथा गीतकार भावेश भुमरी विशेष अतिथिको रूपमा निम्त्याइए ।

गीतसङ्गीत र नृत्यहरूबाट मनोरञ्जन लिनका लागि उपस्थिति पाँच हजारभन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको यस ओपन कन्सर्ट कार्यक्रमको अध्यक्षता मगर संघ युकेका अध्यक्ष नेम थापाले गरेका थिए । प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, रस्मुरबोरो काउन्सिलका डेपुटी मेयरसहित अन्य अतिथिहरूसँगै रिवन काटेर साहित्यकार भुमरीले उद्घाटन गरेको यस कार्यक्रम भुमरीकै कारण विगतका कार्यक्रमहरूभन्दा अलि भिन्न देखियो । भुमरीले तिनै अतिथिहरूसँग मगर संघ युकेको वार्षिक मुखपत्र कानुन लाङ्घाको विमोचन पनि गरे ।

साहित्य लेखनमा लागेका व्यक्तिहरूलाई सार्वजनिक कार्यक्रमहरूमा त्यति महत्व दिइँदैन । यस्ता स्रष्टाहरू प्रायः पर्दापछाडि नै रहन्छन् तापनि गीतसङ्गीतले प्रमुख भूमिका खेल्ने यस ओपन कन्सर्टमा गीतकार नै विशेष अतिथि हुँदा कार्यक्रमले थप पूर्णता पाएको अनुभूति गरे उपस्थित दर्शकहरूले ।

यसरी संघको ओपन कन्सर्टमा मगर संघ युकेले विशेष अतिथिका रूपमा निमन्त्रणा गरी नेपालबाट युकेमा आउने र कार्यक्रमको उद्घाटन गर्ने कवि तथा गीतकार भावेश भुमरी पहिलो स्रष्टा हुन् । कार्यक्रममा गीत र नृत्य प्रस्तुतिका लागि नेपालबाटै कलाकारहरू सागर आले, मिना लामा, प्रीति आले र विमलराज क्षेत्रीलाई निम्त्याइएको थियो  ।

विशेषतः नेपालको काठमाडौँमा बसेर निरन्तर गीत लेखी सयौँ गीत रेकर्ड गराएर नेपालको गीति लेखनको मुख्य धारमा स्थापित गीतकार भुमरी मगर मात्र होइन, आफ्ना पुस्ताका गीतकारहरूमध्ये सबैभन्दा बढी मानसम्मान पाउने गीतकारमा पर्छन् । सङ्ख्यात्मक र गुणात्मक रूपले गीत रेकर्ड गराउने गीतकारका रूपमा चिनिएका भुमरी रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा सर्वोत्कृष्ट गीतकारदेखि गीतकार संघको एक लाख पुरस्कारको वर्ष गीतकार मात्र होइन, कैयौँ म्युजिक अवार्ड, पुरस्कार र मानसम्मानहरूले समेत पुरस्कृत र सम्मानित भएका छन् । भरोसा, भावना, भूमिका, भिन्नता, भूगोल र भाषा गीतिएल्बमहरू, भीरफूलको छाया, भिजेको चिठी, भित्र छ फूलको साँध र भिडभित्र छु बिरानो म गीतसङ्ग्रहरू अनि भोक इल्टा नाघेर सेलाउँछ कवितासङ्ग्रह प्रकाशन गरेका भुमरीका कैयौँ गीतहरू स्वदेशमा मात्र होइन विदेशमा पनि त्यत्तिकै लोकप्रिय छन् । त्यसो त भुमरी आफैँले काठमाडौँमा गीतसङ्गीतको बजार व्यवस्थापनका लागि सुरप्रभा गीत सङ्गीत प्रा. लि. म्युजिक कम्पनी÷युटुब च्यानल र गीत रेकर्डका लागि ह्वाइट साउन्ड स्टुडियो पनि सञ्चालन गरेका छन् । नेपालमा पत्रकारिता गर्दागर्दै शिक्षण पेशामा होमिएका भुमरी नेपाली भाषाका साहित्यिक पत्रपत्रिका र पुस्तकहरू सम्पादनका कार्यमात्र गर्दैनन् म्युजिक भिडियो निर्देशन पनि गर्छन् ।

आफ्ना सिर्जनाबाट स्पष्ट पहिचान बनाएका भुमरी विशेष अतिथि बनेको यस ओपन कन्सर्ट कार्यक्रममा उनका प्रशस्त प्रसंशकहरूको उपस्थिति थियो । विशेषतः गीतकविता लेख्ने र गीतसङ्गीतलाई माया गर्ने व्यक्तिहरू भुमरीलाई पाउँदा फोटाहरू खिच्न र खुसी व्यक्त गर्न झुम्मिएका थिए । यसबाट के बुझिन्छ भने स्टेजमा गएर आफ्ना प्रस्तुति दिने र भिड तताउने कलाकार मात्र सेलिब्रेटी हुँदैनन्, निरन्तर लेखनमा लागेका र आफ्नो स्तर कायम गरेका स्रष्टाहरू पनि राम्रा सेलिब्रेटी बन्न सक्छन् । यस कुरालाई भावेशले युकेमा आएर प्रमाणित गरेका छन् । सायद यही कुरालाई बुझेर मगर संघ युकेले भावेशजस्ता साहित्य लेखनमा लागेका व्यक्तिलाई खुला मञ्चमा ल्याउनुपर्छ र साहित्यप्रतिको योगदानलाई सम्मान गर्दै सेलिब्रेटीसमेत बनाउनुपर्छ भन्ने कुरा व्यवहारमा उतारेको छ ।
Image may contain: 9 people, including Indira Galami, Shanti Thapa Kunwar, Chhabi Pun and Anita Rana Magar, people smiling, people standing and outdoor

कवि तथा गीतकार भुमरी मगर संघ युके, विश्व नेपाली साहित्य महासंघ र वातावरण कविता गोष्ठीको निमन्त्रणामा मे ३१ तरिखका दिन युके आएका हुन् । विभिन्न कार्यक्रम र व्यक्तिगत भेटघाटमा व्यस्त भुमरी आफ्ना सबै कार्यक्रम पूरा गरी अगस्त १५ मा नेपाल फर्किने छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %