कतारमा दुईवर्ष अगाडि दुर्घटना परेका शुशिलले पाए नेरू झण्डै पौने दुई करोड

दिल कमार श्रेष्ठ
Image may contain: one or more people, people sitting and outdoor

दोहा-कतार, अगष्ट ३१ – मरुभूमीमा पुगेर सडक निर्माणको काममा खटिँदै गर्दा नसोचेको दुर्घटनामा परेका धनुषा, हरिहरपुरका सुशील कुमार यादवले घटनाको झण्डै २ वर्षपछि ‘पूर्ण अपाङ्गता’ आधारको क्षतिपूर्ति पाएका छन् ।

निर्माणको काम गर्ने क्युबिसी कम्पनी सम्बद्ध रहेर सेफ्टी–हेल्परको काममा जोडिएका यादव सडक निर्माणको कार्यरतस्थलमै दुर्घटनामा परेर ह्वीलचेयर र सहयोगीका भरमा हिँड्डुल गर्न सक्ने भएका थिए ।

‘दोहा नजिकै मन्सुरामा सडकको पाइप लाइनमा काम गरिरहेका बेला रातको दुइ बजे एउटा गाडीले आएर हानेको सम्झना छ, त्यसपछिका २० दिन बेहोस भएछु,’ सनैया स्थित एक प्रतिष्ठित कम्पनीमा आबद्ध सुशीलले हालै भनेका थिए, ‘त्यसपछि हमाद र रुमैला हस्पिटल हुँदै उपचार गर्दा पनि कम्मर मुनिको भाग नचल्ने भएको छ, ह्वीलचेयर र एकजना सहयोगीका भरमा दुइ वर्षयताको जीवन धानिरहेको छु ।’ सुशील सँग स्पाइनल कर्ड (सी–सिक्स)को गम्भीर समस्या रहेको अस्पतालले जानकारी दिएको छ ।

आफू राम्रै कम्पनी(क्युबीसी)सम्बद्ध रहेको र कागजातमा कानुनी हैसियत रहेकाले अहिले सबै रेखदेख कम्पनीबाटै भइरहेको सुशीलले जानकारी दिएका थिए । उनको साथ–सहयोगका लागि कम्पनीले सिरहा घर भएका ४२ वर्षीय रामेश्वर दासलाई पुरै जिम्मा दिएको छ । दिसा–पिसाब गराउने देखि ह्वील चेयरमा राखेर कम्पनी क्याम्प वरपर डुलाउने काम रामेश्वरले गरिरहेका छन् ।

कम्पनीले झण्डै १ हजार रियालको मासिक तलब पनि नियमित रुपमा दिइरहेकै छ । २६ वर्षे अविवाहित सुशीलले रोजगारदाता नियम र बीमा शुल्क सहित गरेर तत्काल ५ लाख ५० हजार रियाल (झण्डै १ करोड ६५ लाख रुपैंया) क्षतिपूर्ति पाएका छन् । उनको क्षतिपूर्ति रकम उठाउन पछिल्ला महिनामा दोहा स्थित नेपाली दूतावासले पनि ताकेता गरिरहेको थियो ।

कतार आएको ८ वर्ष भई सकेको छ, फर्केर जान पाएको छैन । अब यो अपाङ्ग रुपमा घर फिर्दैछु, अब घर फर्केर फरक जीवन जिउन चाहन्छु,’ सुशीलले भने ।