हङकङ पुगेको ‘भेडी गोठाले’ हेर्न उल्लेख्य दर्शक

Read Time:5 Minute, 48 Second

रूद्र श्रीसमगर

Image may contain: 3 people, people standing and text

हङकङ, वैशाख २५ – गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘क्यु प्ह्रो छे’ अर्थात् ‘भेडी गोठाले’ले हङकङमा उल्लेख्य दर्शकको साथ पाएको छ ।

आइतबार साँझ हङकङको याउ मा तेई कम्युनिटी हलमा विशेष प्रदर्शन गरिएको सो चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिति थियो । पाँच सय जना अट्ने क्षमता रहेको सो हलमा जातीय चलचित्रहरूको हालसम्मको प्रदर्शनमै ऐतिहासिक रूपमा पाँच सय भन्दा बढी दर्शक भएपछि दर्शकले उभिएर समेत चलचित्र हेरेका थिए ।

विशेष प्रदर्शनका प्रमुख अतिथि समेत रहेका नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष एमबी थापामगरले चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिनुभयो । ‘चलचित्र निकै राम्रो बनेको रहेछ’, अध्यक्ष थापामगरले भन्नुभयो, ‘विषयवस्तु, संवाद, कथा र अभिनयका दृष्टिले पनि चलचित्र उत्कृष्ट बनेको छ ।’ चलचित्रका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’ले मिलन फाउण्डेशन नेपालमार्फत् नेपालमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा निकै उल्लेखनीय कार्य गरेको भन्दै प्रमुख अतिथि थापामगरले समाजसेवी गुरुङबाट सबैले सिक्नुपर्ने बताउनुभयो ।

‘दुर्गा जी, एउटा राम्रो सामाजिक मन भएको व्यक्तित्व हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘मिलन फाउण्डेशन नेपालको स्थापना गरेर त्यसमार्फत् समाजसेवामा पुर्याएको योगदानको जति नै प्रशंसा गरे पनि कमी हुन्छ ।’ कसैले नेपालको ग्रामीण क्षेत्रको शिक्षा एवं स्वास्थ्य क्षेत्रमा केही गर्न चाहेमा मिलन फाउण्डेशन मार्फत् सहयोग गर्न समेत सुझाव दिँदै उहाँले आफूले पनि फाउण्डेशन मार्फत् नै नेपालमा केही गर्ने सोंच बनाएको बताउनुभयो ।

कार्यक्रममा गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) हङकङका अध्यक्ष रोशन गुरुङ, तमु ट्हो Þयुल हङकङका अध्यक्ष गणेश गुरुङ, तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष जीतेन्द्र गुरुङ, तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ ‘स्याङ्जाली कान्छा’, प्रदेश नम्बर एक गुरुङ तमु समाज हङकङका अध्यक्ष हेमप्रताप गुरुङ, हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङका अध्यक्ष ललित सुब्बा, चेम्बर अफ कमर्सका अध्यक्ष डाँसुराम पराजुली, मिलन फाउण्डेशन नेपालका कार्यक्रम संयोजक क्या. हितकाजी गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा सो चलचित्रकी नायिका अश्मी गुरुङ र मिस तमुस्यो नेपाल–२०१६ की बिजेता निशा गुरुङ रहेकी थिइन् । हरेक वर्ष हुने मिस तमुस्यो नेपालका उपाधि बिजेतालाई हङकङ भ्रमण गराउने अफर अनुसार यसवर्ष मिस तमुस्यो नेपाल निशाले अवसर पाएकी हुन् । यसअघि, मिस तमुस्यो नेपाल–२०१४ की बिजेता सन्ध्या गुरुङले हङकङ भ्रमण गरेकी थिइन् । जसको प्रायोजन भने दुर्गा गुरुङ ‘मिलन’, युवराज गुरुङ, हरि गुरुङ र तिलक गुरुङले गर्नुभएको हो ।

विशेष प्रदर्शन सकिएपछि कार्यक्रमको समापन गर्दै मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष एवं चलचित्रका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’ले चलचित्र हेर्ने गुरुङ एवं गैर गुरुङ दर्शकहरूलाई धन्यवाद दिनुभयो । नेपालको ग्रामीण क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रमा समाजसेवालाई निरन्तरता दिने उद्देश्यले आयोजित विशेष प्रदर्शनबाट बचेको रकम अक्षयकोष बनाएर जम्मा गर्ने जानकारी दिँदै गुरुङले राम्रो चलचित्र बनाइदिएको भन्दै निर्देशक सुवास गुरुङलाई धन्यवाद दिनुभयो । सो अवसरमा चलचित्रका लेखक/निर्देशक/नायक सुवास गुरुङले स्वागतसँगै चलचित्रका बारेमा जानकारी दिनुभएको थियो ।
 
मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को पहिलो प्रस्तुती रहेको यस चलचित्रका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’, निर्माताहरूमा विक्रम गुरुङ, विजया गुरुङ र देउकी सिंजाली ‘दिपिका मिलन’ हुनुहुन्छ । सुवास गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा राजेश गुरुङ, सुवास गुरुङ, अश्मी गुरुङ, खुशी गुरुङ, गौरी गुरुङ लगायतको अभिनय रहेको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %