रूद्र श्रीसमगर

पोखरा, वैशाख २ – विद्यालयको तहको शिक्षामा मातृभाषालाई माध्यम बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
शिक्षा विभागको आयोजनामा शनिबारदेखि पोखरामा सुरु भएको चार नम्बर प्रदेशस्तरीय दुई दिने कार्यशाला गोष्ठीमा छलफलमा सहभागी भएका विज्ञहरूले मातृभाषाको माध्यमबाट शिक्षा दिँदा सिकाइ उपलब्धी बढ्ने तर्क गरेका हुन् ।
‘शिक्षणको माध्यम र शिक्षाका भाषाहरू, विद्यालय शिक्षामा शिक्षणको माध्यम’ विषयक कार्यशाला गोष्ठीमा सहभागी जिल्ला शिक्षा अधिकारीहरू, शिक्षाविद्, भाषाविद् एवं भाषिक अभियन्ताहरू सहभागी छन् । गोष्ठीको पहिलो दिन शनिबार शिक्षा विभागका उपनिर्देशक नारायणप्रसाद सुवेदी, भाषाशास्त्रीहरू प्रा.डा. विष्णुप्रसाद राई, प्रा.डा. योगेन्द्रप्रसाद यादव, माया राईले सहजीकरण गर्नुभएको थियो ।
गोष्ठीमा बहुभाषिक शिक्षा निर्देशिका–२०६६ को परिमार्जनका लागि प्रस्तावित प्रतिवेदन, शिक्षणको माध्यम र शिक्षाका भाषाहरू, नेपालमा शिक्षाका नीति, योजना र अभ्यासका लागि अबको बाटो लगायतका विषयमा समूहगत छलफल समेत भएको छ । ‘पहिलो भाषा सिक्दा जति सजिलो हुन्छ, त्यति गाह्रो दोस्रो भाषा सिक्दा हुन्छ’, मातृभाषाको महत्व दर्शाउँदै भाषाविद् प्रा.डा. विष्णुप्रसाद राईले भन्नुभयो, ‘कुनै बच्चाले पहिलो भाषा प्राप्त गर्छ, तर, दोस्रो भाषा सिक्छ ।’
क्षेत्रीय शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीले मातृभाषाका माध्यमबाट शिक्षा लिने चाहना सबै मातृभाषी समुदायको रहेको बताउनुभयो । ‘भाषा हरायो भने संस्कृति पनि हराउँछ’, अधिकारीले भन्नुभयो, ‘हामीले व्इवस्थित शिक्षा प्रणाली मार्फत् सबै मातृभाषीलाई सम्बन्धित मातृभाषामा शिक्षा दिने समान अवसर दिनुपर्दछ ।’ मातृभाषामा शिक्षा पाउने संविधानप्रदत्त अधिकार भएपनि व्यवहारमा गाह्रो भएको बताउँदै अधिकारीले भन्नुभयो, ‘भन्नलाई त निकै सजिलो छ, तर, कार्यान्वयन पक्ष उत्तिकै जटिल पनि छ ।’
आइतबारसम्म हुने गोष्ठीमा प्राप्त निष्कर्षहरूलाई केन्द्रीयस्तरको गोष्ठीमा प्रस्तुत गरी प्रतिवेदन तयार पार्ने योजना रहेको शिक्षा विभागका उपनिर्देशक नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार विभागले नयाँ संघीय संरचना अनुसार मातृभाषा शिक्षालाई कसरी अघि बढाउन सकिन्छ भन्नेबारेमा युएसएड, अष्ट्रेलियन एड र ट्रान्सेन्ड भिजन नेपालको सहयोगमा सात वटै प्रदेशस्तरमा गोष्ठी गरिरहेको छ ।
