रूद्र श्रीसमगर

पोखरा, वैशाख २ – नेपाल मगर विद्यार्थी संघ कास्कीको आयोजनामा एक दिने उद्घोषण तालिम तथा व्यवसायिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार आयोजित कार्यक्रममा सञ्चारकर्मी गोविन्द सिंजाली मगरले उद्घोषण सम्बन्धी सहजीकरण र टाइगर्स टुर्स एण्ड ट्राभल्स प्रालि, पोखराका शाखा प्रबन्धक गोविन्द पुनमगरले व्यवसायिक अभिमुखीकरण गराउनुभएको थियो ।
तालिमको उद्घाटनमा संघका केन्द्रीय सदस्यद्वय प्रेम रोकामगर र लालकुमारी पुनमगर, नेपाल मगर संघ कास्कीका कोषाध्यक्ष कुमार थापामगर, नेपाल मगर युवा संघ कास्कीका अध्यक्ष अशोक आलेमगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरलगायतले तालिमको सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा प्रशिक्षकद्वय सिंजाली र पुनलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
संघका जिल्ला अध्यक्ष दिनेश रोकामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेम बुढामगर र सदस्य शर्मिला आलेमगरले स्वागत गर्नुभएको थियो ।
यसैबीच, शनिबार नै सम्पन्न संघको जिल्ला बैठकले रिक्त रहेको उपाध्यक्ष पदमा तुलसी पुनमगर र सदस्य पदमा डेक पुनमगरलाई मनोनित गरेको छ ।
