गोविन्द घर्ती
चैत्र ३० । सरकारले बैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषण गरे संगै राजनैतिक दलहरु उम्मेदवार छनोटमा व्यस्त भएको छ ।
रुपन्देहीको देवदह नगरपालिकामा पनि राजनैतिक दलहरु मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुको छनोट कार्यक्रमलाई तिव्रता दिईरहेको छ । स्थानीय निर्वाचनमा मेयर, उपमेयर र वडा अध्यक्षहरुको आकाक्षी धेरै भएपछि राजनैतिक दलहरुलाई छनोटमा समस्या परेको छ । राजनैतिक दलहरुले स्थानीय स्तरमा उम्मेदवार छनोट गरी जिल्लामा पठाउने भएपछि उम्मेदवार छान्न हम्मेहम्मे परेको श्रोतले जनाएको छ । यसै वीच नेकपा एमाले देवदह नगर कमिटी अन्र्तगत रहेको शाखा कमिटीको उम्मेदवार छनोट कार्यक्रम सम्पन्न भएको छ । वडा नं १ देखि वडा १२ सम्मको वडा भेलाहरु सम्पन्न गरेको छ । वडा समितिको भेलाले छनोट गरेको उम्मेदवारलाई नगर कमिटी मार्फत जिल्ला कमिटीमा सिफारिस पछि मात्र उम्मेदवारको घोषणा हुने नेकपा एमालेका नगर अध्यक्ष विद्यालक्ष्मी गुरुङ्गले जानकारी दिनु भयो ।
नेकपा एमालेले प्रत्येक वडाबाट ३ जना वडा अध्यक्ष, ३/३ जना सदस्यहरुको नामावली नगर कमिटी मार्फत जिल्ला कमिटीमा सिफारिस गरेको छ । वडा कमिटी हुदै नगर कमिटीले सिफासिर गरेको नामावलीको आधारमा जिल्ला कमिटीले अन्तिम नामावली प्रकाशन गर्ने अध्यक्ष गुरुङ्गले जानकारी दिनु भयो । त्यसैगरी नेपाली काग्रेस देवदह नगर समितिले पनि वडा समितिका अध्यक्ष एवं सदस्यहरुको उम्मेदवार छनोट कार्यक्रमलाई तिव्रता दिएको छ । वडा अध्यक्ष लगायत सदस्यहरुको उम्मेदवार छनोट कार्यक्रम चलिरहेको नगर समितिका सभापति गुणाखर भूर्तेलले जानकारी दिनु भयो । मेयर र उपमेयरको विषयमा पार्टीमा छलफल भईरहेको र वडा अध्यक्ष लगायत सदस्यहरुको वडा समितिमा छलफल गरी पार्टीको जिल्ला समितिमा सिफारिस गर्ने सभापति भूर्तेलले जानकारी दिनु भयो ।
उता नेकपा माओवादी केन्द्र देवदह नगर कमिटीले पनि मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुको छनोट प्रक्रियालाई निरन्तरता दिईरहेको सो पार्टीले जनाएको छ । केही वडाहरुमा सहमति भएपनि अन्य वडाहरुमा सहमति नभएकोले वडा कमिटीले पठाएको नामावली जिल्ला कमिटी पठाउन लागेको माओवादी केन्द्र देवदह नगर कमिटीका अध्यक्ष मोतीलाल ढकालले बताउनु भयो । मेयर र उपमेयरको प्रदेश कमिटीले छनोट गर्ने र वडा अध्यक्ष एवं सदस्यहरुको जिल्ला कमिटीले छनोट गर्ने भएकोले अहिले पार्टीले विभिन्न क्षेत्रबाट आएको नामावली जिल्ला कमिटीमा सिफारिस गर्ने काम भईरहेको अध्यक्ष ढकालले बताउनु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टीहरुले उम्मेदवार छनोटको कार्यक्रमलाई तिव्रता दिईरहेको छ ।
