गोविन्द घर्ती

चैत्र २२ – देवदह नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । बैठकमा बोल्ने वक्ताहरुले प्राकृति प्रकोपबाट हुने विपद् सम्वन्धी आमनागरिकलाई सचेत र सजग गराउनु पर्नेमा जोड दिएका थिए ।
उनीहरुले गर्मीयाम शुरु भएसंगै वन जंगलमा लाग्ने डढेलोको जोखिम समय भएकोले सवै क्षेत्रको सहयोग भएमात्र वनमा लाग्ने वन डढेलो नियन्त्रण गर्न सकिनेमा जोड दिएका थिए । उनीहरुले वन क्षेत्रमा लाग्ने आगलागी नियन्त्रणको लागि सवै आ–आफनो क्षेत्रबाट लाग्नु पर्ने बताएका थिए ।
विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं देवदह नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सेक्टर वन कार्यालयका सहायक वन अधिकृत सतेन्द्रनारायण सिंह, देवदह प्रहरी चौकीका प्रहरी निरिक्षक सुरज कार्की, देवदह स्वास्थ्य चौकीका प्रमुख रेमबहादुर थापा, देवदह नगरपालिकाका प्रसाशकीय अधिकृत गंगा पन्थी, प्रकाश अर्याल, गणेश खाती, गोविन्द घर्ती, निमकला पुन, टेकबहादुर राना लगायतले आ–आफना भनाई राख्नु भएको थियो । बैठकले विपद् व्यवस्थापनको लागि पुर्वतयारी कार्ययोजना निर्माण गर्ने, सामुदायिक वनमा गठन भएको अग्नि नियन्त्रण दस्तालाई अनुशिक्षण कार्यहरु गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले आगलागी, वन डढेलो नियन्त्रण र विपद् रोकथाम समन्वय समिति गठन गरेको छ । जसको संयोजकमा गाउ वन समन्वय सञ्जाल, सदस्यहरुमा वन कार्यालय, प्रहरी प्रशासन, शसस्त्र प्रहरी, नगरपालिका, नेपाल अविनास सामाजिक सेवा संस्था, रेडक्रस, स्वास्थ्य चौकी, खानेपानी संस्था, सञ्चार संस्था रहेको छ । नेपाल अविनास सामाजिक सेवा संस्थाका कार्यक्रम अधिकृत विनोद खातीको संचालनमा बैठक सम्पन्न भएको थियो ।
