सनु थापा मगर
बुटवल, चैत्र १९ – संघीय व्यवस्थामा महिलाहरुले आफ्नो व्यक्तित्व र क्षमता अभिवृद्धि गर्न सके नेतृत्व गर्ने अवसरका मार्गहरु प्रसस्त रहेको भन्दै महिला सशक्तिकरणमा राज्यले पहल गर्नु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
नेपाल मगर महिला संघ तिलोत्तमा नगर वडा नं–३ ईकाई समितिले महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले आयोजना गरेको उद्घोषण तथा नेतृत्व विकास तालिमको आज शंकरनगरमा आयोजीत समापन कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् । नेपाल सरकार तिलोत्तमा नगर समितिको सहयोगमा सञ्चालन गरिएको तालिम समापन अवसरमा बोल्दै तिलोत्तमा नगरपालीकाका निमित्त कार्यकारी प्रमुख राजेन्द्र आचार्यले नेतृत्व तहमा आफुलाई पुर्याउनका लागि महिलाहरु स्वयं दृढ ईच्छाका साथ अगाडी आउनु पर्ने बताउनु भयो ।
महिला, बालबालिका तथा अन्य पीछडीएका समुदायको सशक्तिकरणका लागि नगरको तर्फबाट सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । अर्का वक्ता महिला नेतृ एवं नेपाल मगर महिला संघ रुपन्देही सचिव केशरी गाहाले महिलाहरु चुलो र चौकोबाट बाहिर निस्कनु पर्ने बताउनु भयो ।
महिलाहरुको शत्रु महिलाहरु नै रहेको धारणा राख्दै उहाँले महिलाहरुले साघुँरो सोँच त्याग्नु पर्ने धारणा राख्नु भयो । सो अवसरमा नेपाल मगर संघ तिलोत्तमा नगर समिति कोषाध्यक्ष तथा संघका सल्लाहाकार सरिता थापा, नेपाल मगर संघ तिलोत्तमा नगर वडा नं–३ का अध्यक्ष डम्बर बहादुर थापा, समाजसेवीहरु महेश राना, कृष्ण बहादुर राना, हेमा सारु, विष्णु थापा, फत्त बहादुर थापा एवं प्रशिक्षार्थी द्वय साबित्रा थापा, रेखा थापा लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम नेपाल मगर महिला संघ तिलोत्तमा वडा नं ३ समिति अध्यक्ष यामकला रानाको अध्यक्षता, मनमाया थापाको स्वागत तथा संघका सचिव विभा थापाको सञ्चालनमा सम्पन्न भएको थियो । चार दिन सम्म सञ्चालीत तालिमको सहजीकरण पत्रकार सनु थापाले गर्नुभएको थियो ।
