रूद्र श्रीसमगर
घिरिङ, चैत्र २० – नेकपा (माओवादी केन्द्र) तनहुँ अन्तर्गत घिरिङ गाउँपालिकाको प्रथम सम्मेलनबाट अध्यक्षमा भुवन विक चयन हुनुभएको छ ।
शुक्रबार सम्पन्न सम्मेलनबाट उपाध्यक्षद्वयमा बलबहादुर थापा र रामजी अर्याल, सचिवमा चुननारायण श्रेष्ठ, सह–सचिवमा प्रेम गौतम र कोषाध्यक्षमा जुमना थापा चयन हुनुभएको छ । सम्मेलनले ४५ सदस्यीय गाउँपालिका समिति चयन गरेको हो ।
यसअघि, सम्मेलनको उद्घाटन गर्दै माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य एवं पूर्व सभासद् सुरेश आलेले स्थानीय तहको पुनर्संरचना भइ कार्यान्वयनमा आउनु माओवादीको एजेण्डाको जित भएको बताउनुभयो । ‘नगरपालिका र गाउँपालिका लगायतका स्थानीय तहका संरचना माओवादी जनयुद्धबाट स्थापित एजेण्डा हुन्’, नेता आलेले भन्नुभयो, ‘स्थानीय तहको आसन्न चुनावमा माओवादीले जित्नु आवश्यक छ, माओवादीले नै संघीयता ल्याएकाले अब जनताको घरदैलोमा सिंहदरबार केन्द्रित अधिकार आइपुगेको छ ।’
सो अवसरमा अर्का केन्द्रीय सचिवालय सदस्य हरिबहादुर चुमान ‘अजित’, केन्द्रीय सदस्यहरू भक्त रसाइली, मदन आले, अमृत सिग्देल, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य विवेक थापा लगायतले बोलेका थिए । बाजागाजा सहितको सम्मेलनको भव्य उद्घाटन गरिएको थियो ।
