गोबिन्द घर्ती
रुपन्देही, चैत्र ८ – देवदह–६, मिलनचोक शिवमन्दिरबाट अज्ञात समुहले अपहरणको प्रयास भएको छ । देवदह आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति कृष्ण पौडेललाई अज्ञात समुहद्धारा अपहरणको प्रयास भएको हो ।
पौडेललाई अपहरण गर्न नसकेपछि वा १५ च ७२७९ नम्वरको कार र मोवाईल लुटेर लगेको छ । स्ववियु सभापति पौडेल भने भागेर बचेको छ । स्ववियु सभापति तथा नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका क्षेत्रीय अध्यक्ष कृष्ण पौडेललाई अपहरण गर्ने प्रयास गरेको भन्दै विद्यार्थी यूनियनले देवदहको खैरेनीमा एक घण्टा चक्का जाम गरेका थिए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्षेत्रीय कमिटीको आयोजनामा एक घण्टा चक्का जाम भएको हो ।
चक्काजामको कोणसभामा बोल्ने वक्ताहरुले शान्ति कायम गर्न प्रहरी प्रशासन लाग्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले राजनैतिक दलको आडमा भएको अपराधिक क्रियाकलाप तत्काल रोक्न प्रहरी प्रशासनले पहल गर्नु पर्ने बताउदै लुटेर लगेको सवारी साधन २४ घण्टा भित्र फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
कोणसभामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन रुपन्देहीका ईन्चार्ज सन्दिप विक, जिल्ला कमिटीका कार्यवहाक अध्यक्ष नकुल शाही, सहसचिव शेषकान्त पोखरेल लगायतले बोल्दै नेकपा एमाले माथि बेलाबेलामा प्रहार हुने गरेको बताउदै आफुहरुको माग प्रशनसनले सुनुवाई नगरे कडा संघर्ष गर्ने बताएका थिए ।
