रूद्र श्रीसमगर
पोखरा, ९ चैत्र – नेपालका आदिवासी तामाङ समुदायको मौलिक संस्कृतिबारे निर्माण गरिएको बाह्रपोखरी ज्ञान सन्धान यात्राको वृत्तचित्रको बुधबार पोखरामा लोकार्पण गरिएको छ ।
वृत्तचित्र लोकार्पण गर्दै जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले संस्कृतिलाई पनि आय आर्जनको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो ।
‘संस्कृतिलाई पनि आय आर्जनको माध्यम बनाउन सकिन्छ’, प्रजिअ मैनालीले भन्नुभयो, ‘तामाङ समुदायको पेशा, व्यवसाय परिवर्तन भएका छन्, राज्यको नीति पनि फेरिएको छ, अब सबै नेपाली नागरिकले समान अधिकार पाएका छन् ।’ जाति, क्षेत्रका नाममा निषेधको खेल खेल्न नहुनेमा जोड दिँदै प्रजिअ मैनालीले मिश्रित समुदाय भएका ठाउँमा तुलनात्मक रूपले बढी विकास भएको उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले वृत्तचित्रले तामाङ संस्कृतिलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै संस्कृति जोगाउन युवा पुस्ता सक्रिय हुनुपर्ने बताउनुभयो । ‘तामाङ संस्कृति उजागर गर्न वृत्तचित्रको महत्वपूर्ण भूमिका छ’, अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘मौलिक संस्कृतिले धनी तामाङ समुदायको सांस्कृतिक दूतका रूपमा युवापुस्ताले काम गर्न जरुरी छ ।’
लोकोत्तर लोकवादी विचार अभियान र नेपाल तामाङ बोन्बो घेदुङ (संघ) कास्कीले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा लोकार्पित वृत्तचित्रमा लमजुङ जिल्ला पूरानो दुवार बन्सार तामाङ ग्रामीण बस्तीदेखि ३३०० मिटरको उचाइमा रहेको बाह्रपोखरीको भौगोलिक परिवेशलाई समेटिएको छ । ४५ मिनेटको सो वृत्तचित्रमार्फत् तामाङ बोन्बो गुरुहरूले नयाँ पुस्तामा ज्ञान हस्तान्तरण विधिसहित जनजीवन, मौलिक संस्कार, संस्कृति, प्राकृतिक सम्पदा र पर्यटन प्रवद्र्धनका निम्ति हुन सक्ने सम्भावनालाई उजागर गरिएको छ ।
लोकोत्तर लोकवादी विचार अभियानका प्रवर्तक धनप्रसाद तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अभियन्ता दीपक तामाङ र बोन्बो संघ कास्कीका कोषाध्यक्ष सोमप्रसाद तामाङले स्वागत गर्नुभएको थियो ।
तामाङ परम्परागत ज्ञान दिवस गोने ङ्याहको सन्दर्भमा निर्माण गरिएको मौलिक बोन्बो ज्ञान साधना हस्तान्तरण र दीक्षान्त विधि समावेश गरिएको वृत्तचित्र विशुद्ध तामाङ बोन्बोहरूको ज्ञान साधना विधिमा आधारित रहेको छ । सो वृत्तचित्रलाई छिट्टै प्रदर्शनमा ल्याइने समेत अभियानका प्रवर्तक धनप्रसाद तामाङले जानकारी दिनुभयो ।
