देव पचभैया
पाल्पा, फागुन १८ – सराई समाज कसेनी सराईको आयोजनामा ३५ औँ मगर दिवस सराई फुलबारीमा सम्पन्न भएको छ ।
दिवसको अवसरमा कसेनी, सराई, रुप्से, मदनपोखरा क्षेत्रका मगर समुदायले सराई खिरौली, खहरे बजारमा झाँकी र्यालीसहित बजार परिक्रमा गरेका थिए । कार्यक्रमका प्रमूख अतिथि नेपाल मगर संघ पाल्पाका सल्लाहकार गीरबहादुर थापाले मगरलगायत जनजाति समुदायका हक अधिकार संविधानमा उल्लेख भएको र बाँकी अधिकार स्थापित गर्न सबै संघर्षरत रहन आग्रह गर्नुभयो ।
उहाँले भाषा, संस्कृतिको उत्थानका लागि सरकारले बिस्तारै सम्बोधन गरिरहेको भन्दै मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि आदिवासी कर्मचारी मन्च पाल्पाका अध्यक्ष लोकेन्द्र थापामगरले मगर समुदायले उच्च शिक्षा हासिल गरेर मात्र राज्यले प्रदान गरेका हकअधिकार प्रयोग गर्न सक्ने बताउनुभयो । उहाँले राज्यको विभेद्कारी नीतिकै कारणले मगर समुदायले आफ्नो भाषा बोल्न छाडेर नेपाली र अंग्रेजी भाषा बोल्नुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ पाल्पाका जिल्ला सदस्य मानध्वज दर्लामी, मगर विद्यार्थी संघका पूर्व केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा पत्रकार रेखीराम राना, समाजसेवी खेमानसिं राना, करुवा मिडिया ग्रुपका अध्यक्ष पदमबहादुर राना, कौडे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पदमबहादुर घर्तीमगरले मगर दिवसको अवसरमा शुभकामना दिनुभयो । यस्तै नेपाली कांग्रेसका प्रतिनिधि टिकाराम राना, एमालेका प्रतिनिधि जगतबहादुर थापा, नेकपा माओवादी केन्द्र कसेनीका सचिव गुनबहादुर राना, जनमुक्ति पार्टीका प्रतिनिधि टेकबहादुर चिदी लगाएतले शुभकामना दिनुभयो ।
कार्यक्रम सराई मगर समाजका सदस्य जगत चिदी र रोसनी चिदीको संचालन, समाजका सदस्य खोमबहादुर गाहाको स्वागत र समाजका संयोजक नरेन्द्र रानाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मगर समुदायमा प्रचलित झाम्रे, सालैजो लागतका गीत तथा नाच प्रस्तुत गरिएको थियो ।
