काठमाण्डौ, फाल्गुन ८ – मगर अन्तराष्ट्रिय मञ्चको पहिलो परिषद भेला काठमाण्डौमा सुरु भएको छ ।
दुई दिन सम्म सञ्चालन हुने परिषद भेलामा मञ्चको कार्यपद्धति, आगामी योजना लगायत विषयमा छलफल गरिदै छ । नेपाल मगर संघका एसिया संयोजक तथा हङकङ अध्यक्ष चन्द्रज्योति आले मगरको स्वागत मन्तव्यबाट सुरु भएको परिषद भेलाको उद्घाटन सत्रमा कार्यक्रम बारे जानकारी दिनुहुँदै कार्यक्रमका सभाध्यक्ष मगर अन्तराष्ट्रिय मञ्चका संयोजक थर्क राना मगरले यो मञ्च सबै मगरहरुको साझा चौतारी भएको भन्दै यसलाई अझ प्रभावकारी बनाउन र कार्यसञ्चालन गर्न भएको समस्याप्रति वृहत छलफल गरी निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै प्रमुख अतिथी रहनु भएका नेपाल मगर संघका अध्यक्ष नविन रोका मगरले अहिलेको अवस्थामा मगर अन्तराष्ट्रिय मञ्च र नेपाल मगर संघ सम्पुर्ण मगरहरुको सम्पुर्ण हक अधिकारहरुको लागी स्थापना भएको भन्दै अहिले सम्म यी संस्थाहरुले गर्न नसकेका कामहरुप्रति खुलेरै छलफल गरेर त्यस्ता कामहरुलाई मगर संघले प्राथमिकताका साथ गर्ने बताउनु भयो । साथै विश्वभरि छरिएर रहेका नेपालका मगरहरुको यो एकताले मगर समुदायलाई फाइदा त पुग्छ नै यति मात्र नभई सिंगो राष्ट्रको समृद्धिको बाटोमा यस मञ्चले नेतृत्वदायी भुमिका खेल्नुपर्ने कुरा व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा विशेष अतिथी नेपाल मगर संघका पुर्व अध्यक्ष क्याप्टेन याम बहादुर बुडाथोकी मगरले मगर अन्तराष्ट्रिय मञ्चले विभिन्न देशमा रहेका सबै मगरहरुलाई अनिवार्य रुपमा समेट्नु पर्ने भन्दै सबै समस्या र कार्यविधीका बारेमा छलफल गरी निष्कर्ष निकाल्न सुझाव दिनुभयो । त्यस्तै विशेष अतिथी कै रुपमा रहनुभएका नेपाल मगर संघका निवर्तमान अध्यक्ष महेन्द्र थापा मगरले मगर अन्तर्राष्ट्रिय मञ्चले मगर समुदायको लागि मात्र नभएर सिंगो राष्ट्रलाई नै समृद्धिको बाटोमा लैजाने उद्देश्य स्वरुप ज्यादै नै जटिल अवस्थामा आफुलाई स्थापित गरेर अगाडि बढेको हुदाँ यस बैठकबाट त्यसलाई मुर्तरुप दिएर अगाडि बढ्न सफल रहने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
परिषद भेलामा मगर अन्तराष्ट्रिय मञ्चका ईजरायल, वेलायत, हङकङ, साउदी अरेविया, जापान र कतारका संयोजक तथा प्रतिनिधीहरुको सहभागिता रहेको छ भने अन्य देशका प्रतिनिधीहरु आउने क्रम जारी छ । सबै देशका संयोजक तथा प्रतिनिधीहरुले आ-आफ्नो देशका एजेण्डाहरु पेश गरी त्यसमा छलफल गर्ने कार्यक्रम रहेको छ । नेपाल मगर संघका विदेश विभाग प्रमुख तथा मगर अन्तराष्ट्रिय मञ्चका सदस्य सचिव रक्षा रैका मगरले संचालन गर्नुभएको कार्यक्रममा अहिले आ-आफ्नो देशको एजेण्डा प्रस्तुत भैरहेको छ ।
