गोविन्द घर्ती

देवदह, फागुन ६ – राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीको आयोजनामा एक दिने शान्तिपूर्ण मोटरसाईकल र्याली सम्पन्न गरेको छ ।
रुपन्देहीको देवदहमा कोणसभा गरी शान्तिपूर्ण र्यालीको शुभारम्भ गरेको हो । पार्टीले सरकारलाई बुझाएको ३६ बुदे ज्ञापनपत्रको कुनै सुनुवाई नगरेको भन्दै शान्तिपूर्ण र्यालीको आयोजना गरेको सो पार्टीले जनाएको छ ।
देवदहको खैरेनीमा भएको कोणसभामा बोल्ने वक्ताहरुले जारी संविधानले आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित गर्न नसकेकोले संविधान पुनः लेखन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले अन्तरिम संविधानले दिएको अधिकार समेत जारी संविधानमा उल्लेख नगरिएकोले पार्टीले राज्यलाई दवाव दिन विभिन्न कार्यक्रम गरिरहेको बताएका थिए ।
कोणसभामा बोल्ने वक्ताहरुले देशमा भ्रष्टचारी मौलाउदै गएकोले भ्रष्टचारीलाई राष्ट्रदोह मुद्दा लगाउनु पर्नेमा जोड दिएका थिए । कोणसभामा पार्टीका केन्द्रिय उपाध्यक्ष कमला थापा, संघीय परिषद सदस्य छत्र दर्लामी, हरिओम विक लगायतले आ–आफना भनाई राख्नु भएको थियो । विभिन्न प्लेकार्ड सहिद देवदहको खैरेनी देखि शुरु भएको शान्तिपूर्ण र्याली भैरहवा, लुम्विनी, रुद्रपुर, सालझण्डी हुदै मुर्गियामा गएर सम्पन्न भएको थियो ।
पार्टी रुपन्देहीका बरिष्ठ उपाध्यक्ष मधु रानाले नेतृत्व गर्नु भएको शान्तिपूर्ण र्यालीमा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
