डोल बहादुर विक
पाल्पा, फागुन २ – बेथल इङ्लिस बोर्डिङ स्कुल तानसेन पाल्पाले २० औँ बार्षिक उत्सव मनाएको छ ।
विद्यालयले शनिबार विविध कार्यक्रमहरु सहित बार्षिक उत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी संगीता रेग्मीले विद्यालयको शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली काग्रेस पाल्पाका सचिव झपेन्द्र गैरे, नेकपा एमालेका कमल पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुवर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, पत्रकार महासंघ पाल्पाका सचिव किरण कौशल, वरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार माधव अर्याल, विद्यालय संचालक समिति सदस्य मधुराज पौडेल, रमेश कार्की, महेन्द्र पौडेल लगायतले शुभकामना दिनुभयो ।
विद्यालयका प्रिन्सिपल खेमबहादुर सारुले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सारुले विद्यालयले ३५ जना जनजाती, १५ दलित, १ द्धन्द पीडित, २ अपाङ्गता भएका बिधार्थी र ५ जना अन्यलाई वार्षिक १३ लाख ५६ हजार बराबरको छात्रावृत्ति प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, तथा सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्न सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ । २०७२ सालको एसएलसीमा जिल्ला प्रथम हुन सफल छात्रा श्वस्तीका भट्टराई लाई नगत १० हजार सहित संम्मान पत्रले सम्मान गएिको थियो । त्यस्तै सातौ राष्ट्रिय खेलकुद प्रतियोगीतामा स्वर्ण पदक विजेता साजन पचभैयालाई नगद ५ हजार सहित सम्मान पत्रले सम्मान गरिएको छ ।
रजत पदक विजेता आयुसा कार्कीलाई नगद ३ हजार सहित सम्मान पत्र र कास्यपदक विजेता सितल विरकट्टा र अस्मिना थापालाई नगद २ हजार सहित सम्मान पत्रले सम्मान गरिएको थियो । सोही कार्यक्रमको अवसरमा भू.पू विद्यार्थी समाजले विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीलाई पोसाक वितरण गरेका छन् ।
कार्यक्रममा विद्यालबाट प्रकाशित स्मारिका समेत विमोचन गरियो । सहायक प्रिन्सिपल रुकचन्द्र थापाको स्वागतबाट सुरुभएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद नेपालको अध्यक्षता र बिधार्थीहरु आकांक्षा राना र मनिस ज्ञवालीको संचालनमा सम्पन्न भएको होे ।
