देव पचभैया

बेसीशहर(लमजुङ), फागुन ३ – नेपाल मगर संघ लमजुङले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लमजुङका पदाधिकारीहरुलाई सम्मान गरेको छ । नेपालका प्रथम सहिद लखन थापा मगरको १ सय ४०आ स्मृति दिवसको अवसरमा फोनिज पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय अध्यक्ष दण्ड गुरुङको प्रमुख आतिथ्यता तथा केन्द्रीय पदाधिकारीहरुको विशेष आतिथ्यतामा गत माघ २७ गते फोनिज लमजुङको दोश्रो जिल्ला अधिवेसन सम्पन्न भएको थियो । सो अधिवेसनबाट फोनिज लमजुङको अध्यक्षमा निर्विरोध निर्वाचित नेपाल मगर पत्रकार संघका केन्द्रीय सदस्य कृष्णबहादुर आलेमगरलाई जिल्ला मगर संघले सम्मान गरी बधाई ज्ञापन गरेको थियो ।

सो-अवसरमा मगर संघ लमजुङले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लमजुङमा निर्विरोध निर्वाचित उपाध्यक्ष आसबहादुर गुरुङ, सचिव सम्झना तामाङ र केन्द्रीय पार्षद् तथा निवर्तमान अध्यक्ष रामजी राना मगरलाई सम्मान तथा बधाई दिंदै सफल कार्यकालको शुभकामना दिएका थिए । नेपाल मगर संघ लमजुङका अध्यक्ष राममाया थापा मगरले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले समावेसी सञ्चारको अभियानलाई उच्च बनाउन आग्रह गर्नुभयो ।
