गोविन्द घर्ती

देवदह, फागुन १ – स्थानीय निकायका कर्मचारीलाई निजामती कर्मचारी भन्दा तल्लो तहमा राखेर विभेदकारी तरिकाले समायोजन नीति बनाउन लागिएको भन्दै देशभरका स्थानीय निकायहरु ठप्प भएका छन् ।
स्थानीय निकायका कर्मचारी संगठनहरुको आह्वानमा देशभरका जिल्ला विकास समिति, महानगरपालिका, उपमहानगरपालिका नगर र गाविसका कर्मचारीहरु धर्नामा उत्रीएका हुन् । सरकारले संक्रमणकालिन र दीर्घकालिन नीति बनाउने क्रममा स्थानीय तहका कर्मचारीहरु भन्दा माथि निजामती कर्मचारी राख्ने विभेदकारी व्यवस्था गरेको भन्दै कर्मचारीले चरणबद्ध रुपमा आन्दोलन थालेका हुन् । निजामती कर्मचारीलाई पहिलो दर्जामा राख्ने सामन्ती मानसिकताले गर्दा अन्य कर्मचारी विभेदमा परेको देवदह नगरपालिका कर्मचारी एशोसियसनका अध्यक्ष मित्रबहादुर थापाले बताउनु भयो ।
उनीहरुले सोमवार देखि जिल्लामा स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला इन्जिनियर र नगरपालिकाका कार्यकारी अधिकृत लगायत निजामती कर्मचारीहरु र गाविस सचिवहरुलाई कार्यालय प्रवेशमै रोक लगाउने जस्ता कार्यक्रमहरु तय भएको अध्यक्ष थापाले बताउनु भयो । स्थानीय तहमा दुई प्रकारका कर्मचारी संयन्त्रको व्यवस्था नै अन्त्य हुनुपर्ने माग आफूहरुले राखेको नेपाल नगरपालिका कर्मचारी एसोसीयसन देवदह ईकाई समितिका अध्यक्ष मित्रबहादुर थापाले बताउनु भयो । आफूहरु स्थानीय तहको चुनाव तत्काल घोषणा गर्नुपर्ने माग राखेर धर्नामा उत्रिएको उहाले बताउनु भयो ।
