रूद्र श्रीसमगर

पोखरा, माघ २७ – आम मगर पत्रकारहरूको छाता संगठन नेपाल मगर पत्रकार संघ केन्द्रीय समितिको बैठक आगामी फागुन १९ गते काठमाडौंमा हुने भएको छ ।
बुधबार पोखरामा सम्पन्न केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको अध्यक्ष मनोज घर्तीमगरले जानकारी दिनुभयो । बैठकले मगरात अभियानका लागि तीव्र प्रचार अभियान सञ्चालन गर्ने, अक्षयकोष स्थापना गर्ने, देशव्यापी संगठन विस्तार अभियानलाई निरन्तरता दिने निर्णय समेत गरेको छ ।
त्यसैगरी, सो बैठकले आसन्न नेपाल पत्रकार महासंघको जिल्ला शाखा, प्रदेश शाखा र केन्द्रीय अधिवेशनमार्फत् महासंघमा मगर पत्रकारहरूको समावेशी प्रतिनिधित्व गराउनका लागि पहल गर्ने निर्णय समेत गरेको महासचिव देव पचभैयामगरले जानकारी दिनुभयो । बैठकले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का जिल्ला शाखाहरूको अधिवेशन सुरु भएकोमा जिल्ला शाखाहरू सँगै प्रदेश शाखा र केन्द्रीय अधिवेशन सफल बनाउन पूर्ण सहयोग गर्ने निर्णय समेत गरेको छ ।
साथै, बैठकले संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाको पाँचौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएको र केन्द्रीय सचिव मिलन गाहामगर सामुदायिक रेडियो प्रसारक संघ (अकोर्याब)को केन्द्रीय सदस्यमा निर्वाचित भएकोमा बधाई ज्ञापन समेत गरेको छ ।
