रूद्र श्रीसमगर
पोखरा, माघ २१ – आसन्न नेपाल पत्रकार महासंघ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाको जिल्ला अधिवेशनलाई मध्यनजर गर्दै नेपाल मगर पत्रकार संघ कास्कीको विशेष भेला एवं बैठक सम्पन्न भएको छ ।
शुक्रबार भएको बैठकले नेपाल पत्रकार महासंघ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाको पाँचौं जिल्ला अधिवेशनमा मगर पत्रकार उम्मेदवारहरूलाई जिताउन पहल गर्ने निर्णय गरेको छ । साथै, बैठकले यही माघ २६ गते हुने फोनिजको जिल्ला अधिवेशनमा मगर पत्रकार उम्मेदवारलाई सर्वसम्मत बनाउन पहल गर्ने निर्णय गरेको छ । त्यस्तै, आगामी फागुन ३ गते हुने पत्रकार महासंघ कास्कीको अधिवेशनमा पनि मगर पत्रकार उम्मेदवारहरूलाई जिताउन पहल गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, केन्द्रीय सचिव मनोज घर्तीमगर, फोटो पत्रकार उमेश पुनमगर, सञ्चारकर्मी गोविन्द सिंजालीमगरलगायतले पत्रकार महासंघ र फोनिजमा मगर पत्रकारहरूको प्रतिनिधित्व गराउनका लागि सबै मगर पत्रकार एकजुट हुुनुपर्नेमा जोड दिएका थिए ।
नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको बैठकको सञ्चालन सचिव उमा आलेमगरले गर्नुभएको थियो ।
