गोविन्द घर्ती
देवदह, माघ १८ – आफुहरुले संरक्षण गर्दै आईरहेको जग्गामा देवदह नगरपालिकाले पशुसेवा भवन निर्माण गर्न लागेको भन्दै देवदह–६, कोलुवाका स्थानीयावासीले विरोध जनाएको छ ।
देवदह नगरपालिकाले कोलुवाका स्थानीयवासीले संरक्षण र सम्वद्र्धन गर्दै आएको गाउको उत्तरपट्टिको जग्गामा पशुसेवा केन्द्रको भवन निर्माण गर्नको लागि जग्गा छुट्याउन खोजेपछि स्थानीयवासीले विरोध जनाएको हो । आफुहरुले जग्गाको संरक्षण र सम्वद्र्ध गर्दै आएपनि नगरपालिका र राजनैतिक दलहरुले मनोमानी ढंगले भवन निर्माण गर्न जग्गा दिएको भन्दै स्थानीयवासी आक्रोसित भएको लालबहादुर दर्लामीले बताउनु भयो । जुनसुकै संघसंस्थालाई प्रदान गर्ने भएपनि संरक्षण कर्ताहरु संग समन्वय गर्नुपर्ने दर्लामीले जिकिर गर्नु भयो ।
उक्त जग्गा विगत लामो समय देखि रेडक्रस सोसाईटी समुदायिकमा आधारित कोलुवा दैवीप्रकोप ईकाई समितिको मातहतमा रहेको छ । समितिले उक्त जग्गामा बृक्षारोपण गरी जग्गाको संरक्षण र सम्वद्र्धन गर्दै आईरहेको छ । नगरपालिका र राजनैतिक दलहरुले होचुवाको भरमा आफुहरुले संरक्षण गर्दे आएको जग्गा पशुसेवा केन्द्रको भवन निर्माण गर्न दिएको समितिका अध्यक्ष विमला दर्लामीले बताउनु भयो ।
उता देवदह नगरपालिका र राजनैतिक दलहरुले नगरपरिषदबाट उक्त जग्गामा पशुसेवा कार्यालयको भवन निर्माण गर्ने निर्णय गरेको छ । पशुसेवा कार्यालयको भवन निर्माण गर्नको लागि उक्त जग्गा देवदह नगरपालिकाले दिएकोले आफुहरुले जग्गा छुट्याउन गएको पशुसेवा केन्द्र देवदहका ईन्चार्ज ध्रुवनारायण चौधरीले बताउनु भयो । स्थानीयवासी संग कुनै सरसल्लाह भएको वा नभएको भन्ने कुरा आफुहरुलाई कुनै थाहा नभएको चौधरीले बताउनु भयो । स्थानीयवासीले दुख गरेर संरक्षण गरेको जग्गा आफुहरुले कुनै पनि संस्थालाई नदिने निर्णय गरेको समितिका अध्यक्ष दर्लामीले बताउनु भयो ।
