रूद्र श्रीसमगर

पोखरा, माघ १५ – नेकपा (माओवादी केन्द्र)का कास्की जिल्ला सचिवालय सदस्य एवं मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य नरबहादुर पुनलाई मातृशोक परेको छ ।
बागलुङ–पोखरा मगर समाजका सल्लाहकार समेत रहेका पुनकी आमा देउचना पुनको ७९ वर्षको उमेरमा शुक्रबार साँझ ६ बजेर १० मिनेट जाँदा निधन भएको हो । लामो समयदेखि फोक्सोलगायतका समस्याबाट पीडित पुनको फेवासिटी अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा उपचार गरिएको थियो । स्वर्गीय पुनका एक छोरा नरबहादुर पुन र तीन छोरी रहेका छन् ।
स्वर्गीय पुनको शनिबार शवयात्रासहित बौद्ध अर्घौं सदन, रामघाटमा दाहसंस्कार गरिएको छ । सो अवसरमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य अर्जुन छन्त्यालले स्वर्गीय पुनप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यस्तै, नेकपा (क्रान्तिकारी माओवादी) कास्कीका इञ्चार्ज भीमबहादुर श्रीस, राङखानी मावि, बागलुङका स्रोत व्यक्ति ढकबहादुर पुन, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीस, बागलुङ–पोखरा मगर समाजका अध्यक्ष रामबहादुर पुन, उपाध्यक्ष कृष्णाकुमारी श्रीस, सचिव गजेन्द्र थापा, कोषाध्यक्ष कृष्णा पुन, पूर्व अध्यक्ष क्या. मीनबहादुर पुनलगायतले स्वर्गीय पुनको पार्थिव शरीरमाथि पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
