रूद्र श्रीसमगर
रिसिङ, माघ १५ – नेकपा (माओवादी केन्द्र) तनहुँले आफ्नो संगठन विस्तार एवं सुदृढीकरण अभियानलाई तीव्रता दिएको छ । सोही क्रममा शनिबार तनहुँको दक्षिणी प्रस्तावित रिसिङ गाउँपालिकामा ६५ सदस्यीय गाउँपालिका सम्मेलन आयोजक समिति निर्माण गरिएको छ ।
वीरबहादुर थापा संयोजक र बाबुराम विक सह–संयोजक रहने गरी ६५ सदस्यीय माओवादी केन्द्र रिसिङ गाउँपालिका सम्मेलन आयोजक समिति निर्माण गरिएको हो । जसअन्तर्गत रिसिङ गाउँपालिकाका प्रस्तावित आठ वटा वडा संयोजकहरू समेत तोकिएका छन् ।
जसमा वडा नं. १ को संयोजकमा बाबुराम विक, २मा वामदेव थापा, ३मा पदम थापा, ४मा गमबहादुर विक, ५मा श्यामबहादुर सारू, ६मा नरबहादुर सारू, ७मा छविलाल आले, ८मा वीरबहादुर थापा संयोजक तोकिनुभएको छ । भेलाले १५ दिनभित्रमा वडा सम्मेलनहरू सक्ने निर्णय समेत गरेको छ । सोही अवसरमा प्रस्तावित रिसिङ गाउँपालिकाको केन्द्र ढुड्डाडेमा माओवादी केन्द्रको गाउँपालिका कार्यालय समेत स्थापना गरिएको छ ।
यसअघि, रिसिङ गाउँपालिकाको भेला एवं बैठकलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं तनहुँ दक्षिणी भेगका प्रस्तावित रिसिङ एवं घिरिङ गाउँपालिकाका इञ्चार्ज मदन आलेले पार्टी स्थानीय तहको चुनावको तयारीमा जुटिसकेको बताउनुभयो । संगठन विस्तारलाई तीव्र पारिएको उल्लेख गर्दै नेता आलेले स्थानीय चुनावका लागि पार्टी तयार रहेको जनाउनुभयो । त्यस्तै, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य विवेक थापाले स्ववियु चुनाव र स्थानीय चुनावका लागि पार्टीले सम्पूर्ण तयारीमा लागेको जनाउँदै चुनावमा जित्ने गरी जाने बताउनुभयो ।
