हुम तमु

पोखरा, पुस २६ – मगर संघ हङकङको निमन्त्रणामा हङकङ जान लागेका पत्रकार रूद्रबहादुर श्रीसको बिदाइ गरिएको छ ।
मगर संघ हङकङको निमन्त्रणा र मिलन फाउण्डेशन नेपालका संरक्षक समाजसेवी दुर्गा गुरुङ ‘मिलन’को विशेष सहयोगमा एक साताका लागि हङकङ जान लाग्नुभएका कास्की आवाज राष्ट्रिय दैनिकका सह—सम्पादक श्रीसलाई मंगलबार कास्की आवाज र तमु धिं नेपालद्वारा सफल यात्राको शुभकामनासहित बिदाइ गरेको हो ।
आगामी माघ २ गते मगर संघ हङकङले आयोजना गर्ने माघे संक्रान्ति विशेष कार्यक्रम सहित हङकङमा रहेका विभिन्न संघसंस्थाद्वारा आयोजना हुने कार्यक्रममा सहभागी हुनका लागि शुक्रबार हङकङ प्रस्थान गर्न लाग्नुभएका पत्रकार श्रीसलाई कास्की आवाजका अध्यक्ष सरस्वती तमु, सम्पादक हुमबहादुर तमु, तमु धिं नेपालका अध्यक्ष कर्म तमु, कोषाध्यक्ष सु.मे.श्रीप्रसाद तमुले फेटा तथा खादा लगाएर बिदाइ गर्नुभएको थियो ।
यात्रा सफलताको शुभकामनासहित कास्की आवाजकी अध्यक्ष सरस्वती तमु र तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले अत्यन्तै क्रियाशील पत्रकार श्रीसलाई हङकङ आमन्त्रण गरी विदेश भ्रमणको अवसर प्रदान गर्ने मगर संघ हङकङ र सहयोग गर्ने मिलन फाउण्डेशन नेपालका संरक्षक दुर्गा गुरुङ ‘मिलन’लाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका उपाध्यक्ष र नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव समेत रहनुभएका श्रीस पोखरामा रहेर विगत एक दशकदेखि पत्रकारिता गर्दै आउनुभएको छ भने मगर भाषाको अनुसन्धाताको रूपमा क्रियाशील रहनु भएको छ ।
