हुम तमु

पोखरा, पुस २७ – मगर संघ हङकङको निमन्त्रणामा यही पुस २९ गते शुक्रबार हङकङ जान लागेका नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरलाई नेपाल मगर पत्रकार संघ कास्कीले यात्राको सफलताको शुभकामनासहित बिदाइ गरेको छ ।
कार्यक्रममा बिदाइ गर्दै नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगरले उपमहासचिव श्रीसको हङकङ भ्रमणको अवसर संघकै निम्ति गर्वको कुरा भएको उल्लेख गर्नुभयो । नेपालका सम्पूर्ण पत्रकारहरूको प्रतिनिधित्व गरेर श्रीस हङकङ जान लागेको भन्दै उपाध्यक्ष मगरले भ्रमणले पत्रकारिताका लागि समेत सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल मगर संघ कास्कीका सचिव यामबहादुर थापामगरले मगर समुदायका एक प्रतिभाशाली पत्रकार श्रीसले हङकङको यात्रा गर्न पाउनु सम्पूर्ण कस्केली मगर समुदायकै लागि खुशीको कुरा भएको भन्दै यात्राको सफलताको शुभकामना व्यक्त गर्नुभयो । मगर समुदायको उत्थानका लागि पत्रकार श्रीसले चलाएको कलम कामयावी बनेको भन्दै थापामगरले आगामी दिनमा निरन्तर कलम चलाउन आग्रह गर्नुभयो ।
नेपाल मगर विद्यार्थी संघका केन्द्रीय प्रचार सचिव फरेन्द्र थापामगरले अथक परिश्रम र मेहनतको फल मिठो हुने भन्दै पत्रकार श्रीसको निरन्तरताको प्रतिफल नै हङकङ भ्रमणको अवसर भएको बताउनुभयो । पत्रकार श्रीसले मगर समुदाय र आदिवासी जनजाति समुदायका निम्ति दिएको सामाजिक योगदान अतुलनीय रहेको भन्दै थापामगरले पत्रकार श्रीसबाट राष्ट्रले निकै ठूलो अपेक्षा गरेको उल्लेख गर्नुभयो ।
सो अवसरमा नेपाल मगर विद्यार्थी संघ गण्डकी अञ्चल समितिका सल्लाहकार प्रेम रोकामगर, कास्की जिल्ला अध्यक्ष दिनेश रोकामगर, नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगर, सचिव उमा आलेमगर, सह–सचिव सुरज थापामगर, सदस्यहरू कमला थापामगर, सुमन थापामगर, इनिशा दुरामगरलगायतले पत्रकार श्रीसको हङकङ यात्रा उपलब्धीपूर्ण बन्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिएका थिए ।
