अनाथ बालबालिकालाई सिर्जनशील बनाउँदै एकीकृत सिर्जनशील समाज नेपाल !

Read Time:4 Minute, 25 Second

रूद्र श्रीसमगर


पोखरा, पुस  २० – एकीकृत सिर्जनशील समाज नेपाल अहिले एउटा परिचित नाम बनेको छ । २०६४ सालमा स्थापना भएपनि सामाजिक कार्यमा त्यति स्थापित हुन सकेको थिएन । खासगरी, अनाथ बालबालिकाहरूलाई आश्रय दिइ शिक्षा दीक्षा र पालन पोषण गराउने उद्देश्यका साथ स्थापित समाजले २०७१ सालदेखि मात्र बालबालिकालाई आश्रय दिन सुरु गरेको समाजका अध्यक्ष जयप्रकाश बुढामगरको भनाइ छ ।

एकीकृत सिर्जनशील समाज नेपाललाई एउटा प्रतिष्ठित सामाजिक संस्थाका रूपमा स्थापित गर्न भने समाजसेवी जुनु पुनमगरको कुशल एवं नेतृत्वदायी भूमिका महत्वपूर्ण बन्यो । २०७२ साल मंसिर ३ गतेदेखि समाजमा कोषाध्यक्षको जिम्मेवारी लिएर आबद्ध हुनुभएका समाजसेवी जुनु पुन नेपालको आदिवासी/जनजाति समुदाय र कला, संस्कृति तथा खेलकुद क्षेत्रमा एउटा स्थापित नाम हो । काठमाडौंको मनमैंजुमा घर भाडामा लिएर अनाथ बालबालिकाहरूलाई आश्रय दिलाउनु चानचुने कुरा हुँदै होइन ।


Image may contain: 17 people, outdoor

समाजद्वारा स्थापित बालगृहमा अहिले दश वर्षे जनयुद्ध र २०७२ सालको वैशाखमा गएको भूकम्पमा आमा बाबु गुमाएका ३२ बालबालिका आश्रित छन् । उनीहरूको शिक्षाका लागि शुभकामना अंग्रेजी आवासीय मावि र ओडीसी इन्टरनेशनल स्कुलमा समाजले आवश्यक व्यवस्था गरेको छ । समाजमा ९ वटा जिल्लाका अनाथ बालबालिका आश्रित छन् । ३२ जना बालबालिकालाई आमाको अभाव हुन नदिइ अहोरात्र उनीहरूको स्याहार र हेरचाहमा खटिनुभएकी समाजसेवी जुनु पुनमगरलाई नेपाल मगर संघले ‘आमाविहीनहरूको आमा’को उपमा समेत दिएको छ ।

सो बालगृहमा आश्रित ३२ बालबालिकाका निम्ति साँच्चिकै आमा बन्नुभएको छ, समाजसेवी जुनु पुनमगर । देश तथा विदेशमा रहेका नेपालीहरूले विभिन्न अवसरमा गरेको सहयोग एवं समाजसेवी जुनु पुनमगरले आफ्नै खर्चमा समेत बालगृहलाई अघि बढाइरहनुभएको छ । ‘खर्च व्यवस्थापन गर्न निकै मुस्किल छ’, समाजकी कोषाध्यक्ष जुनु पुनमगर भन्नुहुन्छ, ‘महिनामा २ लाख ८६ हजार रुपैयाँ खर्च हुँदै आएको छ ।’ आफूलाई विभिन्न व्यक्तिले लगाउँदै आएको आरोपबारे पनि उहाँ यसो भन्नुहुन्छ, ‘धेरैले मलाई डलर खाएर संस्था चलायो भन्छन्, त्यस्ता आरोप लगाउनेहरू यहीँ आएर हेरून् ।


उदीयमान लोक तथा दोहोरी गायक नवीन रानामगरसँग गत मंसिर १३ गते सो समाजमा पुग्ने अवसर मिल्यो । त्यहाँ गायक रानामगरले बालबालिकाहरूलाई आफ्नो गीत गाएर सुनाए ।

समाजसेवाको पर्याय बनेको एकीकृत सिर्जनशील समाज नेपाल पछिल्लो समयमा निकै लोकप्रिय बन्दै गएको छ । सबैले केही न केही सहयोग गरौं भन्ने भावना राख्न थालेका छन् । पछिल्लो चोटि तमु समुदायको प्रमुख चाड तमु ल्होसारका अवसरमा अनाथ बालबालिकाको सहयोगार्थ स्योकैं कार्यक्रम गरेर सो समाजलाई करिब आधा लाख रुपैयाँ सहयोग गरेकी समाजसेवी एवं कलाकार गौरी गुरुङ भन्नुहुन्छ, ‘सहयोग गर्न पाउँदा निकै खुशी लाग्यो, मैले सो संस्थाबारे सुन्ने बित्तिकै केही न केही सहयोग गर्ने प्रेरणा पाएँ, र सानै भएपनि सहयोग गर्ने अवसर जुर्यो ।’


Image may contain: 30 people, people standing


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %