गोविन्द घर्ती
देवदह, पौष १० – रुपन्देहीको देवदह–७, सरनवारीलाई अर्गानिक तरकारी खेतीको पकेट क्षेत्रको रुपमा मानिदै आएको छ ।
करिव एक सय घरपरिवार बसोवास गर्ने सरनवारीमा बार्षिक दुई करोड भन्दा बढिको अर्गानिक तरकारी उत्पादन गरी बाहिर जाने गरेको छ । सरनवारी क्षेत्रमा मुख्य गरी उत्पादन हुने वस्तुमा लौरे सिमि प्रमुख हो । यहा लौरे सिमि वाहेक पिडालु, तरुल, काक्रा, फर्सि, टमाटर लगायतका तरकारी उत्पादन गर्दै आएको स्थानीय कृषकहरुको भनाई रहेको छ । यो समयमा मात्र करिव १ करोड ५० लाख भन्दा बढिको लौरे सिमि विक्रि हुने सरनकालीका कृषक सहकारी संस्थाका अध्यक्ष मानबहादुर गाहा बताउनु हुन्छ । उहाका अनुसार प्रत्येक घरपरिवारले एक देखि ३० कठ्ठा सम्ममा लौरे सिमि लगाउने गरेको बताउनु भयो ।
स्थानीय कृषक उमा ठाडाका अनुसार आफुहरुले लगाउने लौरे सिमि घरमा खाएर पनि एउटा मौसममा करिव २ लाख देखि ३ लाख सम्मको विक्रि वितरण गर्दै आएको बताउनु भयो । घरमै तयार गरेको मल प्रयोग गर्ने तर रसायीनिक विषादी र मल प्रयोग नगरेको ठाडाले दावी गर्नु भयो ।
देवदह नगरपालिका–७, मा पर्ने सरनवारी गाउलाई अर्गानिक उपजको लागि उपयुक्त ठाउ भएकोले जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले प्राविधिक तथा आर्थिक सहयोग निरन्तर रुपमा गर्दै आएको कृषि सेवा केन्द्र देवदहका प्रमुख रामनारयण चौधरीले बताउनु भयो । सरनवारी क्षेत्रमा राम्रो संग तरकारी खेती गर्ने हो भने सामान्य बैदेशिक रोजगारमा जाने मानिसले बरावर आम्दानी गर्न सकिने भएपनि युवा पुस्ता भने कृषि तर्फ आकर्षित हुन नसकेको सरनकालिका कृषक सहकारीका अध्यक्ष गाहाको भनाई रहेको छ ।
सिमि लगाउने मौसममा पानीको प्रयाप्तता भएता पनि लहरे तरकारी वाली लगाउने समयमा सिचाईको सुविधा नहुदा तरकारी उत्पादनमा समस्या पर्ने गरेको गाहाको भनाई रहेको छ । अर्गानिक तरकारी उत्पादको लागि व्यवसायीक रुपमा पशुपालन समेत हुनु पर्ने र सम्वन्धीत निकायले सहयोग गर्नु पर्ने गाहाको भनाई रहेको छ ।
