रूद्र श्रीसमगर

पोखरा, पुस १०- बागलुङ जिल्लाको गलकोट भेगबाट पोखरा आइ विभिन्न पेशा, व्यवसाय गरी बसेका गलकोटेहरूको साझा संस्था गलकोट घुम्टे विकास मञ्च–पोखराको नाम परिवर्तन गरिएको छ ।
शनिबार सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले संस्थाको नाम परिवर्तन गरी ‘गलकोट समाज–पोखरा’ राखेको हो । साधारणसभाले विधान संशोधन गरी सर्वसम्मत रूपमा नाम फेर्ने प्रस्ताव पारित गरेको हो । अधिवेशनले गलकोट समाज पोखराको नयाँ नेतृत्व समेत चयन गरेको छ । जसको अध्यक्षमा मीनबहादुर खत्री सर्वसम्मत चयन हुनुभयो । त्यस्तै, उपाध्यक्षद्वयमा राधिका खत्री र खडकबहादुर थापा, सचिवमा रूद्रबहादुर श्रीस, सह–सचिवमा दीपक बोहोरा र कोषाध्यक्षमा क्या. पूर्णबहादुर खत्री सर्वसम्मत चयन हुनुभयो ।
त्यसैगरी, आगामी दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय समितिका सदस्यहरूमा हर्कबहादुर पाण्डे, शालिकराम गैह्रे, देवीलाल कँडेल, जंगबहादुर थापा, हरिबहादुर भण्डारी, गंगा साहनी र कमला खत्री रहनुभएको छ ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै मञ्चका सल्लाहकार प्रा.डा. भवानीप्रसाद पाण्डे ‘भाष्कर’ले भावनात्मक रूपमा जोडिएको समाज भएकाले सबै गलकोटेहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो । समाजलाई अघि बढाउन नेतृत्व सक्रिय रहनुपर्ने भन्दै प्रा.डा. पाण्डेले पोखरामा रहेका गलकोटेहरूलाई एकताबद्ध बनाउँदै सहयोग आदानप्रदानमा जुट्नुपर्ने बताउनुभयो । अर्का सल्लाहकार एवं गलकोट बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहन चन्द ‘राजन’ले पछिल्लो समय पोखरा भन्दा पनि गलकोट महड्डो हुँदै गएको बताउनुभयो । दीर्घकालीन सोंचका साथ संस्थालाई अघि बढाउनुपर्ने उल्लेख गर्दै उहाँले गलकोटेहरूको शिक्षा, स्वास्थ्य एवं आर्थिक विकासलाई ध्यानमा राख्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सल्लाहकार रुपबहादुर थापा, संस्थापक अध्यक्ष हिराबहादुर खत्री, टोपबहादुर थापालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो-अवसरमा गलकोट समाज जापानका संस्थापक सदस्य एवं केन्द्रीय सल्लाहकार चन्द्रबहादुर खत्री र सदस्य झमबहादुर थापालाई स्वागत एवं सम्मान समेत गरिएको थियो । त्यस्तै, समाजलाई महत्वपूर्ण आर्थिक सहयोग गर्नुहुने समाजसेवी शतिकला खड्कालाई पनि सम्मान गरिएको थियो ।
गलकोट घुम्टे विकास मञ्च–पोखराका अध्यक्ष निलप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बमबहादुर छन्त्याल र सल्लाहकार रूद्रबहादुर श्रीसले स्वागत गर्नुभएको थियो ।
