गोबिन्द घर्ती
पौष ८ । गत पौष ४ गते गोली हानी हत्या गरिएका युवा संघ नेपाल, रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको कारण आर्थिक लेनदेन भन्दै केही सञ्चार माध्यममा गरिएको तथ्यहिन समाचारले युवा संघ नेपाल क्षेत्र नं १, रुपन्देहीलाई स्तव्ध तुल्याएको संघले जनाएको छ । गोली हानी हत्या हुनुमा प्रत्यक्ष रुपमा राजनीतिक कारण भएको प्रष्ट हुदा हुदै पनि आर्थिक लेनदेनको विषय नै हत्याको कारण भन्दै लेखिएको समाचारहरु तथ्यहीन र कपोलकल्पीत रहेको संघका अध्यक्ष चन्द्रकान्त खरेल धु्र्वले बताए । स्वर्गीय दुर्गा तिवारी स्वालम्वी, आत्मनिर्भर र स्वाभिमानी व्यक्तित्वका धनी थिए । क्याम्पस तहको अध्ययन संगै विद्यार्थी राजनीतिमा सक्रिय तिवारीले बैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएर आर्जन गरेको आर्थिक श्रोतलाई उद्योग व्यवसायमा लगानी गरी अन्य युवाहरुलाई पनि रोजगारीको सृजना गरेका थिए ।
स्वर्गीय तिवारीका वाल्यकाल देखिकै साथी देवदह व्यापार संघका उपाध्यक्ष दिपक चापागाई भन्छन–“दुर्गा तिवारी ईमान्दा र मेहेनत परिश्रममा विश्वास गर्ने युवा व्यवसायी तथा राजनीतिज्ञ हुन । उनलाई श्रम विना कुनै पनि उत्पादन संग विश्वास थिएन । तर आर्थिक लेनदेन वा विभिन्न आर्थिक कारण जोडेर उनको हत्यालाई चर्चा गरिनु उनी प्रतिको पुर्वाग्रह हो ।” स्वर्गीय दुर्गा तिवारी सामाजिक कार्यमा पनि त्यतीकै सहभागि हुन्थे । विभिन्न संघसंस्थाको संस्थापक, सल्लाहकार, नेतृत्वकर्ता भएर उनले सामाजिक अभियान पनि संचालन गरिरहेका थिए । कुनै पनि गलत प्रक्रियाका आधारमा गरिने उत्पादनको विरुद्धमा उनले सदैव आवाज उठाई रहन्थे । उहाको शालिन, स्वच्छ, र नैतिक चरित्रलाई आच आउने गरी गरिएको नकारात्मक प्रचार वाजीले आफुहरुलाई चोट पु¥याएको देवदहका स्थानीयवासी बताउछन् । नेकपा एमाले क्षेत्र नं १, रुपन्देहीका अध्यक्ष निलकण्ठ पौडेल भन्छन– “ स्वर्गीय दुर्गा तिवारी राजनीतिक तथा व्यवहारिक रुपमा अत्यन्त प्रष्ट र पारदर्शि थिए ।
कसैको पनि आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा हस्तक्षेप नगरी आफनै सामार्थ्यका आधारमा उत्पादन क्षेत्रमा उहाले ठूलो फड्को मारेका थिए । अहिले प्रहरी अनुसन्धानलाई नै प्रभावित गर्ने गरी आर्थिक कारण नै हत्याको कारण भएको भनेर गरिएको प्रचारवाजी प्रति हाम्रो खेद छ ।” देवदह क्षेत्रमा स्वर्गीय तिवारीको हत्याले सवैलाई दुखी तुल्याएको छ । सवै दुखमा साथ दिने, मृदुभाषी, सरल, सहयोगी स्वभावका उहालाई गलत ढंगले प्रचार गरिएको भन्दै देवदह स्थानीयवासीले पनि रोष प्रकट गरेका छन् । नेपाल सरकारले उच्च स्तरीय छानविन आयोग गठन गरी दोषी पत्ता लगाई कानुनी दायरामा ल्याउने प्रक्रिया शुरु गरेको छ ।
सुरक्षा प्रशासनले प्रारम्भ गरेको अनुसन्धान प्रक्रियाले अविलम्व निष्कर्ष निकाल्ने स्थानीयवासीले अपेक्षा गरेका छन् । साथै स्थानीय प्रशासन संग भएको ३ बुदे सहमति अन्तर्गतको देवदहको सुरक्षा व्यवस्था चुस्त पार्ने कार्यलाई पनि प्रशासनले अविलम्व अगाडी बढाउने नागरिकहरुले आशा गरेका छन् ।
