महिला हिंसा, हत्याको शिकारमा प्राय मगर महिला किन अगाडि ?

Read Time:23 Minute, 24 Second

हेमा आले ‘बोगी’

पृष्ठभुमि

अहिले आएर जुनसुकै पनि कुरा थाहा पाउन एकदम छिटो छरितो माध्यम पनि फेसबुक नै बनिरहेको छ । फेसबुकका भित्ताहरुमा आजकल बिनु पुलामी मगरको हत्याको खबरहरु आइरहेका छन् । फेरी अर्कि मगर चेलीको हत्या सम्बन्धि यो खबरले साह्रै विचलित गरायो । धेरैबेर दिमाग रन्थनिरह्यो । मनमा अनेक प्रश्नहरु घुमिरहे । पछिल्लो समय समाजमा जति पनि महिला हिंसा र हत्या भइरहेका छन्, त्यसमा प्रायः मगर महिला नै किन पिडित छन् ? एउटी मगर चेलीको हत्याको खबर बिर्सन नपाउँदै, त्यो पिडा भुल्न नपाउँदै एक पछि अर्को मगर युवतीको हत्या ? किन पटक पटक भइरहेका हत्याहरुमा पिडित मगर महिला अनी पिडक अन्य जातिका पुरुष ? खास के कारण छ मगर चेलीहरु मात्र हिंसामा पिल्सिनुपर्ने ? पाशविक हातबाट मारिनु पर्ने ? अहिलेको समयमा त मगर युवतीहरु यसरी अत्याचारको शिकार भएको देख्नु, सुन्नु परेको छ भने यो भन्दा अगाडि अझ धेरै मगर युवतिहरुमा के के गुज्रियो होला जतिबेला अहिले जस्तो संचारको साधनहरु र हात हातमा मोबाइल थिएन ?

आजभन्दा लगभग दुई वर्ष अगाडि देशको राजधानी काठमाण्डौंमा ट्युशन पढ्दै गरेकी किशोरी संगिता पुलामी मगर माथि भयानक एसिड प्रहार भयो । जसको कारण उनको बाहिरी सुन्दरता मात्र होईन भित्री आत्मविश्वास पनि तहस नहस पारिदियो । त्यसपछि पोखरा जस्तो विकसित र सुविधा सम्पन्न शहरमा मगर चलचित्रकी नायिका नेहा पुन मगरको आफ्नै धर्म दाजु भनिने यौन पिपासुद्धारा निर्मम हत्या भयो । त्यति नै बेला पोखराकै बेगनास तालमा म्याग्दीकी खिममाया पुनको लास भेटियो । उनको पनि हत्या नै भएको दाबी छ तर छानविन र दबाब यत्तिकै सेलायो कि के हुँदैछ, खबरहरु आएका छैन आजकल । पोखराका यि दुई युवतीको घटना बिर्सन नपाउँदै नेपाली फुटबल टिमका चर्चित स्ट्राइकर बिमल घर्ति मगरकी बहिनी मनिषा घर्तिको वर्दघाट नवलपरासीको घरमै आफ्नै प्रेमीबाट हत्या भयो । यो घटना भएको केहि महिना पश्चात नै बुटवलमा रेणु मगरको शव भेटियो । फेसबुकबाट चिनेको व्यक्तिले फोन गरेर भेट्न बोलाएपछि उसले नै रेणुको हत्या गरेको भन्ने समाचार आएको थियो । यी त भए पत्र – पत्रिका र संचार माध्यममा आएका केहि चर्चित घटनाहरु । तर यस्ता हिंसा, अत्याचार र निर्मम हत्या अन्य कति भइरहेका छन् । उचित दबाब र पहुँच नभएर धेरै घटना यत्तिकै दबाईएको छ ।

आफु पनि मगर महिला भएर मात्रै बढि चोट परेको भन्ने प्रश्न उठ्न सक्छ । कुनै पनि अप्रिय घटनाले स्वभाविक रुपमा सामान्य मानिसहरुलाई छुन्छ नै । त्यसमा पनि मानिस समाजमा बस्ने, साझा मुल्य मान्यता र परिवेशमा बाँच्ने हुनाले आफुसँग नजिक सम्बन्ध र सरोकारले असर पारेको हुनुपर्छ र पार्दछ पनि । कुरा यहाँ धेरैजसो मगर युवति मात्र शिकार भएकोले स्थिति अझ गम्भिर लागेको छ । फेरी समाजमा यस किसिमको घटना घटिरहँदा शान्ति सुव्यवस्था कसरी कायम रहिरहला ? समाजमा बसेर पनि

व्यक्तिगत सुरक्षा संकटमा परिरहेको छ । हरेक चिजका निश्चित कारणहरु हुन्छन् । त्यसैले ति कारक तत्वहरु पत्ता लगाएर यस प्रकारको घटनाहरु कम गर्न सचेतना बढ्छ कि भन्ने अभिप्रायले मनमा उठेका ति प्रश्नहरु मगर समुदायका केहि बुद्धिजिवी, पत्रकार, अधिकारकर्मी, अगुवा, सर्जक, लेखक, शिक्षकहरुसँग राखेको थिएँ । हाम्रा तिनै दिग्गज व्यक्तित्वहरुको विचार संकलन गरी यो लेख तयार पारिएको छ ।

महिला हिंसा र हत्यामा प्रायः मगर किशोरी र महिलाहरु नै किन परिरहेका छन् ?

१. स्वभावैले सोझा, इमान्दार, फरासिला, अरुको कुरामा छिट्टै विश्वास गर्ने ।

मगरहरुको परिचय नै बनेको छ निकै सोझा र इमान्दार जाती भनेर । त्यसैगरी मगर किशोरी तथा महिलाहरु पनि निकै सोझी, कुनै कुरा सजिलै मनाउन सकिने हुन्छन् । ने. म. म. सं., कास्की अध्यक्ष तथा मगर भाषा साहित्यकी वरिष्ठ लेखिका फुल कुमारी थापाको भनाई अनुसार “जस्तो आफु उस्तै च्यापु । मगर महिलाहरु कसैमाथि शंका नै गर्दैनन् । आफु सहि भए पछि अरु पनि उस्तै हुन्छ भन्ने ठान्छन् ।” सायद यसैले पनि मगर महिलाहरुबाट धुर्तहरुलाई फाईदा लिन सजिलो भइरहेको छ ।

२. मगर युवतिहरु मायालु, निष्ठावान र भरोसा योग्य प्रेमिका ।

मगर युवतिहरुसँगको मित्रता र प्रेम सबैलाई फाइदाजनक नै लाग्दछ । किनकी मगर युवतिहरु कसैलाई मन पराए पछि मेरो सबैथोक उ नै हो भन्ने ठान्दछन् । बेइमानहरुले मगर युवतिको यहि कमजोरीको फाइदा उठाइ रहेका हुन्छन् । सिंगापुरबाट आले माहिलाज्यू भन्नुहुन्छ –“यो नाटक÷बनावटी पनि हुनसक्छ भनेर दुई पाइला अघि – पछि सोंच्दैनन् मगर युवतिहरु ।” आफुले पनि जालझेल नगर्ने र अरुले पनि आफुमाथि त्यसो गर्दैनन् भन्ने ठान्दछन् । तर अन्य जातीको युवकलाई भने आफुलाई आँखा चिम्लेर यति माया गर्ने प्रेमिको श्रीमती बनाएर शिरमा राखिरहन उचित लाग्दैन । उनीहरु नै भन्दछन् –“गुलिया प्रेमिका होईन, नुनिलो श्रीमती नै ठिक हुन्छ जिन्दगीमा ।” अनि किन मगर युवतिहरु बत्तिमा पुतलि होम्मिए जस्तै होम्मिरहेछन् मगर युवतिहरु अन्तरजातीय युवकको प्रेम र विवाहमा ?

३. मगर समुदायमा छोरीलाई दिईने स्वतन्त्रता ।

अन्य समुदायको तुलनामा छोरीहरुलाई धेरै स्वतन्त्रता छ मगर समुदायमा । घरभित्र पनि छोरा र छोरीमा त्यति विभेद गरिदैन । हर कुरामा बन्देज लगाउनु भन्दा स्वेच्छा र स्वतन्त्रता केहि हदसम्म ठिक हो तर यहाँ त हाम्रा अभिभावकहरुले छोरी चेलीहरु कहाँ – कहाँ, कसरी, के – के गरिरहेछन् भन्ने पनि त्यती चासो दिइदैन । आफ्ना चेलीहरुको संगत कस्तो साथिहरुसँग छ भनेर रुचि देखाउने, सचेत गराउने अनी सम्झाई – बुझाई गर्ने गरिदैन । अल्लारे उमेरमा उचित मार्ग निर्देशनको अभावले पनि फसिरहेछन् मगर युवतिहरु ।

४. मगर समाजको सामाजिक मुल्य मान्यता

मगर समाजमा प्रेमलाई सहजै स्वीकारिन्छ । त्यसैले उमेर पुगेका छोराछोरी कसैसँग प्रेम सम्बन्ध रहेको थाहा पाउने बित्तिकै विवाहका लागि हौस्याईन्छ । त्यसैले त भनिन्छ, मगर समुदायमा ‘राजी विवाह’ प्रचलनमा छ । किनकी विवाहको लागि केटीको हात माग्न जाने वा आफुहरुको प्रेम अस्वीकार भएर भाग्नु पर्ने स्थिती नै हुँदैन । विवाह अगाडी नै केटा कस्तो ? केटी कस्तो ? घर परिवार कस्तो भनेर खोजिनिती नै नगरी विवाह गराईदिन राजी भैहाल्छन् मगर समुदायका अभिभावकहरु । मगर युवतिहरु हिंसा र हत्यामा पर्नुको यो पनि एउटा कारण हुनसक्छ । किनकी हरेक घटनामा प्रायः पिडक प्रेमी, श्रीमान, सासु, ससुराहरु नै छन् ।

५. चेतना र प्रतिकार गर्ने स्वभावको अभाव ।

झुठो प्रेमको बहानामा उनीहरु माथि हिंसा र अत्याचार भइरहँदा पनि मगर महिलाहरु सके सम्म सहेरै, आफुभित्र दबाएरै राख्दछन् । कतिपय अवस्थामा त आफुमाथि हिंसा भइरहेको छ भन्ने नै बुझ्न सकिरहेका हुँदैनन् । “धेरै जसो अवस्थामा बुझेर पनि मगर महिलाहरुमा प्रतिकार गर्न नसक्ने, आत्मबल अर्थात निर्भिकताको कमिको कारण यस्तो अप्रिय घटना घटिरहेको छ” भन्नुहुन्छ दुबईबाट ढलेन पल्ली मगर । यहि कुरालाई जोड दिँदै सामुदायिक रेडियो मध्यविन्दु एफ.एम. नवलपरासीकी संचारकर्मि कमला राना भन्नुहुन्छ –“आफु माथिको अन्याय र अत्याचारको प्रतिकार नगरी हिंसा र अपराधलाई प्रश्रय दिइरहेको छ ।”

६. जातिय विभेद ।

नेपाली समाज हिन्दु वर्णाश्रमकै कारण तथाकथित ठुलो जात र तल्लो जातको नाममा छुट्याइएको छ । त्यसैले मगर महिलाहरु ३ थरी विभेदमा बाँचिरहेछन् । पहिलो त उनीहरु आदीवासी भएर विविध विभेद खेपिरहेछन् । अर्को आदीवासीहरु मध्ये पनि सोझो मगरको छोरी भएर शोषणमा परेका छन् । अनी तेस्रो मगर महिला भएर अत्याचार भोगी रहेछन् । “यहि विभेदयुक्त जातीय मानसिकताका कारण यिनीहरुको पँहुच छैन भनेर मगर युवतीहरु माथि अत्याचार भइरहेको छ ।” – भन्नुहुन्छ बर्दियाका एक जुझारु मगर विद्यार्थि नेता हिमाल घर्ति मगर ।

७. अन्तरजातिय प्रेम/विवाह

परिवर्तीत सामाजिक परिवेश र आधुनिकताको नाममा धेरैजसो पढे – लेखेका मगर युवतीहरु अन्तरजातीय विवाह गरिरहेका छन् । विडम्बना यहि छ कि, हिंसा र हत्यामा परेका धेरैजसो शिक्षित मगर युवतीहरु नै छन् । अन्य जातीका युवकहरुमा एउटा धारणा छ अरे, ‘मगर्नीहरुलाई पट्याउन सजिलो हुन्छ ।’ के मगर्नीहरु कुनै वस्तु हो र पट्यााउन सकियोस् ? हो यहि कारण उनीहरु मगर युवतीलाई ‘युज एण्ड थ्रो’को विचारमा तल्लिन छन् । त्यसैले द.कोरियाबाट पत्रकार डोलु आलेज्यू प्रश्न गर्नुहुन्छ –“अन्तरजातीय विवाह आपैmमा गलत होईन तर मगर युवतीहरु यस्तै सम्बन्धबाट बढी हिंसा र अत्याचारमा परेका छन् । तसर्थ यस्ता सम्बन्ध कायम गर्नुपुर्व धेरै कुरामा विचार पु÷याउनु पर्दैन ?”

८. सरोकारवाला निकायको निष्क्रियता र फितलो कानुन ।

महिला सशक्तिकरण र हक अधिकार संरक्षणका लागि भनेर विभिन्न सरकारी, गैरसरकारी संघ संस्थामा कयौं सुकिला मुकिला महिलाहरुले जागिर खाएका छन् । तर परेको बेलामा महिलाहरुलाई न्याय दिलाउन धेरै ठाउँमा चुकिरहेका छन् । पाल्पाकी बिनु पुलामीले पनि आफुमाथिको हिंसा र अत्याचार सहन नसकेर जिल्ला स्थित महिला विकासको ढोका ढकढकाउन गएर भनेकी रहेछिन् –“मलाई जुनसुकै बेला मार्न सक्छन् ।” बिनुको गुहार सुनेपछि तत्कालै कारवाही अगाडी बढाएको भए आज बिनु पुलामी यही संसारमा बाँचिरहेकी हुने थिइन् । महिलाहरु मारिएर बेवारिसे फालिन्छन् । अङ्ग –अङ्ग सढेर जाँदासम्म पनि नेपालको सुरक्षा संयत्रले दोषीलाई पक्रन सक्दैन । ढिलै गरी पक्राउ परे पनि दोषीलाई राजनैतिक संरक्षण हुन्छ । शक्तिको दुरुपयोग र पैसाको खेलमा अपराधि उत्तिखेरै छुटिरहेको छ । त्यसै कारण अपराध र अपराधीलाई निरुत्साहित गर्न सकिरहेको छैन ।

अब अरु मगर युवतीहरु हिंसा र अत्याचारको शिकार नहुन के गर्नु पर्दछ ?

१. घर घरमा पारिवारिक छलफल हुनुपर्दछ ।

मगर चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष युवराज मास्कि भन्नुहुन्छ –“सम्बन्धहरुको शिक्षण घरबाटै गरिनुपर्दछ ।” छोरा होस् या छोरी दुबैले सबैभन्दा पहिला घरबाटै सिक्दछन् । वरिपरिको परिस्थिती र समय हेरेर आफ्ना सन्तानलाई व्यक्तिहरुसँग उचित व्यवहार गर्न सिकाइनु पर्दछ । धर्म दाजु र बहिनी जस्तो पवित्र सम्बन्ध भए पनि एक्लै हिँड्न पनि नहुने कुरा नेहा पुनको हत्याले देखाउँछ । त्यसैगरी कसैको विश्वासमा सन्तानलाई घरमा एक्लै छाडिनु पनि हुँदैन रहेछ । यि सबै कुराहरु प्रति अभिभावक स्वयं पनि सचेत हुनुपर्दछ । छोराछोरीलाई उचित मार्ग निर्देशन गर्नुपर्दछ ।

२. चेतना सहितको स्वतन्त्रता

स्वतन्त्रता पनि सकारात्मक कुराको लागि ठिक हुन्छ । छोरा छोरीमा विभेद नहुनु राम्रो हो । यससँगै अभिभावकहरुले आफ्नो छोरी चेलीहरुको व्यक्तित्व विकास, सिप सिकाई र उच्च अध्ययनका लागि रोक टोक नगर्ने तर यससँगै हुनसक्ने सबै सम्भाव्य घटना र परिणामहरुको बारेमा सचेत गराउनु पर्दछ । संसार हामीले सोंचे जस्तो छैन है भनेर सम्झाई बुझाई गरिरहनुपर्दछ । ताकि छोरीचेलीहरुले हरेक कदममा दोहो÷याएर सोंच्न सकुन् ।

३. आत्म निर्भरतामा जोड

पुरुषभन्दा महिलाहरुमा केहि जैविक समस्याहरु जन्मजात रुपमा हुन्छन् । त्यो बाहेक महिलाहरुले आफुलाई पुरुषभन्दा केहि कुरामा कमजोर ठान्नु हुँदैन । आफुलाई आर्थिक, सामाजिक र वैचारिक रुममा सक्षम बनाउन सक्नुपर्छ अनी बल्ल महिलाहरुले केहि गर्न सक्दैनन्, जे कुराको लागि पनि हाम्रै भर पर्छन्, सबै सिकाउनु पर्दछ भन्ने भावना पुरुषहरुको मनबाट बिस्तारै हटेर जान्छ । आफ्नो आत्मबललाई

दह्रो बनाई राख्न सकियो भने सबै काम सम्भव छ । यो कुरामा मगर युवतीहरुले झनै ध्यान दिनु जरुरी छ ।

४. शिक्षा र सचेतना

मगर समाजमा छोरी चेलीहरुलाई पेवा गर्न दिने वा गराइदिने चलन छ । त्यसैगरी अरुको देखेर आफ्नो छोरी बुहारीको पनि नाक – कानमा सुनका गहना लगाईदिने गरिन्छ । यो भन्दा बरु छोरी चेलीहरुको उच्च शिक्षा र सिप विकासको लागि खर्च गर्नु उत्तम हुन्छ । शिक्षाले नै के राम्रो के नराम्रो भन्ने कुरा बुझ्न सक्ने गराउँछ । मगर समाजले छोरीहरुलाई शिक्षित गराउन तर्पm ध्यान दिनु पर्दछ । दुखको कुरा हिंसा र अत्याचारमा पर्ने मगर युवतीहरु प्राय सबै शिक्षित नै छन् । त्यसैले छोरीहरुलाई सैद्धान्तिक ज्ञान सँगै व्यवहारीक ज्ञान र सचेतनाको लागि मगर समाज लाग्नु पर्दछ ।

५. कला, साहित्य र संचार

मगर महिलाहरु माथि भैरहेको हिंसा र अत्याचार न्युनिकरणका लागि कला, साहित्य र संचार पनि एक उत्तम प्रयास हो । हाम्रा जति पनि गित÷संगित, फिल्म, डकुमेन्ट्रीहरु बन्दछन् साथै साहित्यका विधाहरुमा मगर महिलाहरु माथि भएको अन्याय र अत्याचारको विषय प्रवेश गराउनु सकियो भने त्यसले सचेतना र शिक्षाको लागि भुमिका खेल्न सक्छ । त्यसैगरी संचार र संचारकर्मीको बारेमा बुद्धदर्शन टेलिभिजनका संचालक÷संचारकर्मी साथै शिक्षक प्रेमध्वज गाहाज्यू भन्नुहुन्छ –“मिडियाकर्मीको भुमिका पनि अहम छ । यस सम्बन्धि चेतनाका कार्यक्रमहरु प्रशारण गर्न सकिन्छ ।” हुन पनि अहिले जति पनि घटना देख्न÷सुन्नमा आएका छन्, दोषीलाई पक्रेर सजायको दबाब दिन, ढिलै भए पनि पक्राउन र पिडित पक्षलाई न्याय दिन संचारले महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

६. मगर एकता

पटक पटक आफ्ना छोरी चेलीहरु माथी यस्ता जघन्य अपराध भैरहँदा अब त मगरहरु जाग्नुपर्छ । सबैले आफ्ना भित्रि आँखाहरु खोल्नुपर्छ । यो लगातारको घटनालाई मगरहरुले आफुहरु माथिको हेपाहा प्रवृत्ति अनि प्रहार भन्ने बुझेर अगाडी नबढी हुँदैन । देशभरका मगरहरुको छानो नेपाल मगर संघ लगायत सबै भातृसंगठनहरुले चारैतिरबाट दबाब दिनु पर्दछ । दोषी उम्कनु हुँदैन । नत्र फेरी पनी हत्याराहरुले प्रसय पाउन सक्छन् । र यस्तो घटनाहरु फेरी फेरी नदोहोरिएलान् भन्न सकिन्न । एकता नै बल हो भन्दै मगर संघ, कतारका पुर्व अध्यक्ष शरण पिठाकोटेज्यू भन्नुहुन्छ –“साँच्चै नै अब मगर समाज एक भएर जानुको विकल्प छैन ।”

७. चेतनामुलक कार्यक्रम

मगर महिलाहरुको हक, अधिकार संरक्षण र सशक्तिकरणका लागि भनेर नेपाल मगर महिला संघ छ । त्यसैगरी मगर विद्यार्थी संघ र मगर युवा संघ पनि नभएका होईनन् । मगर किशोरी र महिलाहरु माथि

भइरहेको यस्तो ज्यादतीको विषय वहाँहरुको कार्यक्रममा कहिले पर्ने ? मात्र दुई चार भाषण गरेर र सम्मान पत्र वितरणमा सिमित नभएर साँच्चै नै भित्री मन मस्तिष्क जगाउने किसिमको प्रभावकारी सचेतनामुलक कार्यक्रमहरु संचालन गर्नु आवश्यक देखिन्छ ।

अन्त्यमा

समाज सहकार्य, सहिष्णुता र सह अस्थित्वमा मात्र सुन्दर र मजबुत बन्न सक्दछ । प्रत्येकले सुरक्षा र सहानुभुतिको महसुस गर्न सक्दछ । असल समाजको कल्पनामा सबै पक्षको समान विकास र पहुँचको कुरा आउँदछ । त्यसैले मगर समाजलाई नै गिज्याउने किसिमको प्रवृत्ति बढिरहँदा मन शान्त रहन सकेन । फलस्वरुप हाम्रै समाजका सचेत महिला र पुरुष महानुभावहरुसँग प्रश्न तेस्र्याएको थिएँ । गणितीय हिसाबमा महिला दिदी बहिनीहरु भन्दा पुरुष दाजु भाईहरुबाट सहज तरीकाले प्रतिक्रिया पाएँ । केहि अपेक्षा गरिएका अगुवा महिलाहरुबाट प्रश्न प्रति कुनै प्रतिक्रिया नै पाईन । बरु एक जना चर्चित, मगर युवाहरु मध्ये आशा गर्न सकिने, भविष्यको अपेक्षा गरिएको मगर महिला मित्रबाट त प्रतिक्रियामा उल्टै ‘समाजको ख्याल गरेर लेख्नुस्’ भन्ने सुझाव पाएँ । मलाई अचम्म लाग्यो, वहाँले कुन समाजको कुरा गर्नु भएको ? के अहिले उब्जिएको परिस्थिती हाम्रै समाजभित्रको विषय होईन र ? एउटा सचेत व्यक्तिले आफ्नो लागि पनि बोल्न सक्नुपर्दछ । के हामी सबैको सरोकार राख्ने कुरा गर्दा समाज बिग्रन्छ ? सामाजिक सदभाव खलबलिन्छ ? बरु हामी कमजोर बन्दा, सचेत हुने कोशिस नगर्दा पो समाज विकास सोंचे अनुरुप नहोला ।

जति पनि महानुभावहरु अहिलेको स्थितीप्रति सोंचमग्न हुनुभयो, प्रश्नहरुप्रति गम्भिर हुनुभयो र आ – आफ्नो विचार राखिदिनुभयो, सबैलाई हार्दिक आभार व्यक्त गर्दछु । अहिलेको समस्याप्रति यो एउटा छलफल पनि थियो । यहाँहरुको विचार बिना सायद यो लेख तयार हुनै सक्दैन थियो । लेख अझ लामो र झर्कोलाग्दो हुनसक्ने भयले सबैको परिचय राख्न नसकेकोमा क्षमा चाहन्छु । आउनुस् हामी सबै मिलेर महिलाका लागि समाजलाई भय रहित बनाउन पहल गरौं । मगर एकता कायम राखौं !

bogi.mgr123@gmail.com

आले मगर सहित्यकार हुन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %