फुलाको बृहत सांस्कृतिक तथा खेलकुद महोत्सव सकियो/पुरुष भलिबलको उपाधि भोक्तेनी युवा क्लबलाई !

Read Time:4 Minute, 39 Second

रूद्र श्रीसमगर
तनहुँ, मंसिर  २१ – भैरवी प्रावि, साभुङ भगवतीपुर–९, फुला, तनहुँको २९ औं वार्षिकोत्सवका अवसरमा युनाइटेड युथ क्लबले आयोजना गरेको ‘बृहत सांस्कृतिक तथा खेलकुद महोत्सव–२०७३’ सोमबार सकिएको छ ।

महोत्सव अन्तर्गत आयोजित वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि भोक्तेनी युवा क्लबले जित्न सफल भयो । उपाधिसँगै भोक्तेनीले ३० हजार नगद, मेडल र प्रमाणपत्र हात पार्यो । प्रतियोगिताको आयोजक युनाइटेड युथ क्लब द्वितीय र पोखरीछाप तृतीय भए । उनीहरूले क्रमशः २० हजार र १० हजार नगद एवं मेडल र प्रमाणपत्र प्राप्त गरे । मंसिर १५ गतेदेखि सुरु प्रतियोगितामा २७ टिम सहभागी थिए ।

महोत्सवको समापन गर्दै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य ओमराज आले ‘मदन’ले यस क्षेत्रको खेलकुदको विकासका लागि महोत्सवले महत्वपूर्ण टेवा पुर्याउने बताउनुभयो । ‘महोत्सवले यस क्षेत्रको खेलकुदको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको छ’, माओवादी युवा नेता आलेले भन्नुभयो, ‘वर्तमान सरकारको नीति अनुरुप अब छिट्टै यस क्षेत्रमा खेल मैदान निर्माणका लागि पहल थाल्नुपर्छ ।’

आफ्नो पार्टीको सरकारले खेलकुदको विकास र संस्कृति संरक्षणका लागि प्राथमिकता दिएको बताउँदै नेता आलेले भगवतीपुरको विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । ‘अहिले स्थानीय तह पुनर्संरचनाको काम करिब अन्तिम चरणमा पुगेको छ’, उहाँले भन्नुभयो, ‘यो क्षेत्र अब घिरिङ गाउँपालिका बन्दै छ, जसको केन्द्र पोखरीछाप सिफारिस भएको छ, आशा छ, यसले गाउँको विकासमा पनि ठूलो भूमिका खेल्न सक्छ ।’ साथै, नेता आलेले फुला, मन्डारटारस्थित प्राकृतिक गुफा भेटिनु यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि निकै महत्वपूर्ण भएको भन्दै समिति बनाएर प्रचार–प्रसारमा जुट्न आग्रह गर्नुभयो । गुफा क्षेत्रको प्रचार–प्रसार र विकासका लागि आफूले पहल गर्ने नेता आलेको भनाइ थियो ।

त्यस्तै, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसले फुलाको मन्डारटारमा रहेको प्राकृतिक गुफाको प्रचार–प्रसारमा ध्यान दिन आग्रह गर्दै प्रचार गर्न सके यस क्षेत्रकै महत्वपूर्ण पर्यटकीयस्थल बन्न सक्ने बताउनुभयो । ‘सञ्चारमाध्यममा काम गर्ने एउटा कारिन्दाका नाताले म तपाईहरूलाई प्रचार–प्रसारका लागि मदत गर्न सक्छु’, पत्रकार श्रीसले भन्नुभयो, ‘गुफाको प्रचार गरी आन्तरिक तथा बाहिरी पर्यटक भित्रयाउन सके यस क्षेत्रको मुहार फेरिनेमा कुनै शंका छैन ।’ कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य बुद्धिबहादुर थापा ‘विवेक’ले मन्डारटारमा रहेको प्राकृतिक गुफाको प्रचारका लागि स्थानीयबासी भएका नाताले आफूले पनि भूमिका खेल्ने बताउनुभयो । 

सो अवसरमा भैरवी प्राविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहनबहादुर रानाभाट, प्रधानाध्यापक गोविन्दराज काफ्ले, युनाइटेड युथ क्लबका अध्यक्ष मुनराम थापा, सचिव श्यामबहादुर थापालगायतले बोलेका थिए । यसअघि, महोत्सवको उद्घाटन नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति राजेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %