तनहुँको सामुङ भगवतीपुरमा प्राकृतिक गुफा भेटियो, ‘मन्डार–काली गुफा’ नामाकरण !

Read Time:4 Minute, 45 Second

रूद्र श्रीसमगर

पोखरा, मंसिर २१ – तनहुँको दक्षिण–पश्चिम भेगमा अवस्थित गाविस सामुङ भगवतीपुर–९, फुला, मन्डारटारमा प्राकृतिक गुफा भेटिएको छ । मन्डारटारस्थित कालीगण्डकी नदीको किनारभन्दा करिब १०० मिटर माथि गुफा भेटिएको हो ।


 
‘हामीले यो गुफा देखेको त थुप्रै भयो, तर, केही गर्न सकिएको छैन’, स्थानीयबासी एवं भैरवी प्राविका प्रधानाध्यापक गोविन्दराज काफ्लेले भन्नुभयो, ‘फुलामा कार्यक्रम भएका बेला नेता, पत्रकारलाई पनि गुफा देखाएर प्रचार गर्ने सोंच हामीले बनाएका थियौं ।’ सोमबार फुलामा आयोजित बृहत खेलकुद तथा सांस्कृतिक महोत्सव समापन गर्न पुगेका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य ओमराज आले ‘मदन’ पनि गुफा अवलोकनका लागि पुग्नुभयो । गुफा अवलोकन गर्न नेता आले आउने थाहा पाएपछि स्थानीय आमा समूहले पुष्पगुच्छा र फूलमालासहित भव्य स्वागत समेत गरे ।

नेता आलेले गुफाको अवलोकनपछि गुफाको प्रचार–प्रसार र संरक्षणका लागि समिति गठन गर्न गाउँलेलाई सुझाव दिनुभयो । ‘गुफा निकै राम्रो रहेछ, पर्यटकीय हिसाबले निकै सम्भावना छ’, नेता आलेले गुफा अवलोकनपछि गाउँलेलाई भन्नुभयो, ‘अब तपाईहरूले समिति बनाएर प्रचार–प्रसार र संरक्षणका लागि पहल थाल्नुस्, गुफाको प्रवद्र्धनका लागि म पनि सहयोग गर्छु ।’ गुफाको प्रचार–प्रसार र संरक्षणका लागि सहयोग गर्ने नेता आलेको आश्वासन पाएपछि गाउँले दंग बने ।


 
सो अवसरमा नेता आलेले तनहुँका स्थानीय विकास अधिकारी र पत्रकारलाई लिएर फेरि गुफा अवलोकनका लागि आउने वचन दिनुभयो । गुफासम्म पुग्ने बाटो बनाउनका लागि जिविसबाट बजेट छुट्याउन पहल गर्ने बताउँदै नेता आलेले कालीगण्डकी कोरिडोर सडक छेउमै भएकाले गुफाले यस क्षेत्रकै आर्थिक उन्नतिमा टेवा पुर्याउन सक्ने बताउनुभयो । ‘गुफा भएको पहिल्यै पत्ता लागेको भएपनि केही गर्न सकेका थिएनौं’, भैरवी प्राविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहनबहादुर रानाभाटले भन्नुभयो, ‘नेता र पत्रकारको आगमनले केही आशा पलाएको छ, हामी पनि प्रचार अनि संरक्षणका लागि जुट्छौं ।

स्थानीयबासी समेत रहेका अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य बुद्धिबहादुर थापा ‘विवेक’ले गुफालाई पर्यटकीय स्थल बनाउन पहलस्वरुप महोत्सवको आयोजना गरिएको उल्लेख गर्नुभयो । ‘बृहत खेलकुद तथा सांस्कृतिक महोत्सवले गुफाको प्रचारका लागि केही टेवा पुग्ने आशा हामीले राख्यौं’, विद्यार्थी नेता थापाले भन्नुभयो, ‘स्थानीय सबै राजनैतिक दलसँग छलफल गरेर गुफाको विकासका लागि जुट्ने हाम्रो योजना छ ।’ मगर समुदायको बाक्लो बस्ती रहेको फुलालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय युनाइटेड युथ क्लबले पहल थालेको छ ।

हाल तनहुँमा व्यास गुफा र सिद्धेश्वर गुफा प्रख्यात छन् । पोखराबाट तनहुँको दुलेगौंडा, खैरेनीटार, भिमाद हुँदै मन्डारटारस्थित गुफासम्म पुग्न करिब साढे दुई घण्टाको सवारी यात्रा गर्नुपर्छ । मन्डारटार, फुलाबासी गुफाको प्रचारसँगै विकास हुने आशामा छन् । गुफा अवलोकनकै क्रममा गाउँलेले गुफाको नामाकरणसमेत गरे । गुफा अवलोकन गर्न पुगेका नेता आलेको सुझाव अनुसार उनीहरूले गुफाको नाम ‘मन्डार–काली’ गुफा राखेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %