रूद्र श्रीसमगर
पोखरा, मंसिर १८ – नेपाल मगर संघ कास्कीको आयोजनामा शनिबार पोखरा सभागृहमा सम्पन्न अन्तर एकाइ कौह्रा नृत्य प्रतियोगिताको उपाधि नेपाल मगर संघ चाउथे एकाइ समिति पोखराले जितेको छ । उपाधिसँगै चाउथेले ३० हजार नगद पुरस्कार प्राप्त गर्यो ।
त्यस्तै, नेपाल मगर संघ अर्घौं एकाइ समिति, लेखनाथ द्वितीय हुँदै २० हजार नगद पुरस्कार प्राप्त गर्न सफल बन्यो । प्रतियोगितामा नेपाल मगर संघ माटेपानी एकाइ तृतीय र दीप–बगर एकाइ सान्त्वना भए । उनीहरूले क्रमशः १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । त्यसैगरी, उत्कृष्ट भेषभूषामा नेपाल मगर संघ ढु·ेपाटन एकाइ, अनुशासित टिमतर्फ छिनेडाँडा एकाइले पुरस्कार जित्न सफल बने । उनीहरूले क्रमशः २५ सय नगद पुरस्कार प्राप्त गरे भने सर्वोत्कृष्ट नृत्य निर्देशकको पुरस्कार उपाधि बिजेता टोली नेपाल मगर संघ चाउथे एकाइ समितिका नृत्य निर्देशक अशोक आलेमगरले प्राप्त गर्न सफल भए ।
अनुशीलन कला पाठशालाका सञ्चालक एवं नृत्य निर्देशक गोरे गुरुङ संयोजक, चलचित्रकर्मी सञ्जोग लाफा मगर र संस्कृतिकर्मी दानबहादुर आलेमगर सदस्य रहेको निर्णायक मण्डलले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
यसअघि, प्रतियोगिताको उद्घाटन गर्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरले वर्तमान सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयक स्वागतयोग्य रहेको बताउनुभयो । ‘संविधानले छिया छिया पारेको हाम्रो मगरातलाई एकीकृत बनाउन हामी संघर्षरत थियौं र छौं’, रोकामगरले भन्नुभयो, ‘अहिलेको सरकारले ल्याएको संशोधन प्रस्तावबाट संविधानमा उल्लेखित ५ नं. प्रदेशका मगर बाहुल्य पहाडी जिल्ला ४ नं. प्रदेशमा गाभ्ने कुराको हामी स्वागत गर्न चाहन्छौं ।

संशोधन प्रस्तावमार्फत् मगर क्लस्टरलाई एक ठाउँमा ल्याइएकोमा बुटवललगायतका ठाउँमा प्रतिपक्षी दल नेकपा (एमाले)लगायतका विभिन्न दलले संशोधन फिर्ता गर्न गरेको आन्दोलनको कुनै अर्थ नरहेको भन्दै अध्यक्ष रोकाले मगरातलाई फेरि पनि टुक्राउने दुस्साहस गरिए मगरातका जनताले प्रतिरोध गर्ने चेतावनी दिनुभयो । ‘संशोधनको विरोधमा केही दलले आन्दोलन गरिरहेका छन्’, रोकाले भन्नुभयो, ‘हामी चेतावनी दिन चाहन्छौं, फेरि पनि मगरातलाई टुक्राउने दुस्साहस नगरियोस्, अन्यथा, मगरातका जनताले प्रतिरोध गर्नेछन् ।’ अझै पनि पहिचानसहितको मगरात स्वायत्त प्रदेशका लागि मगर समुदाय संघर्षरत रहेको रोकामगरको भनाइ थियो ।
कार्यक्रममा लोक तथा दोहोरी गायिका जुना श्रीसमगरले गीत गाएर प्रतियोगितालाई संगीतमय बनाउनुभएको थियो भने नेपाल मगर सांस्कृतिक संघ कास्कीका कलाकारहरूले पनि स्वागत गीतसहित सांगीतिक प्रस्तुती राखेका थिए । प्रतियोगिताको मुख्य प्रायोजकमा युमे जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट प्रालि, प्रथम पुरस्कार प्रायोजकमा टाइगर ट्राभल एण्ड टुर्स प्रालि, लेकसाइड, द्वितीय पुरस्कार प्रायोजकमा थमानसिंह थापामगर, तृतीय पुरस्कार प्रायोजकमा मनकुमार तामाङ, सान्त्वना पुरस्कार प्रायोजकमा नेपाल मगर संघ अर्घौं एकाइ समितिका उपाध्यक्ष कुमबहादुर पुनमगर एवं उत्कृष्ट भेषभूषा, सर्वोत्कृष्ट नृत्य निर्देशक र अनुशासित टिम पुरस्कार प्रायोजकमा करपाकेली फेन्सी स्टोर्स, पावरहाउस रहेका थिए ।
नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष कुमार थापामगर एवं सञ्चारकर्मीद्वय गोविन्द सिंजालीमगर र उमा आलेमगरले गर्नुभएको थियो ।
