बागलुङ–पोखरा मगर समाजको अध्यक्षमा रामबहादुर पुनमगर !

Read Time:6 Minute, 11 Second

रूद्र श्रीसमगर

पोखरा, मंसिर  ४ – बागलुङ–पोखरा मगर समाजको दशौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा रामबहादुर पुनमगर चयन हुनुभएको छ । पुन यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो ।

शनिबार सम्पन्न समाजको अधिवेशनबाट उपाध्यक्षमा कृष्णाकुमारी श्रीसमगर, सचिवमा गजेन्द्र थापामगर, सह–सचिवमा राधा पुनमगर, कोषाध्यक्षमा कृष्णा पुनमगर र सह–कोषाध्यक्षमा हिमबहादुर श्रीसमगर सर्वसम्मत चयन हुनुभयो ।

त्यसैगरी, १५ सदस्यीय कार्यसमितिका नवनिर्वाचित सदस्यहरूमा रूद्रबहादुर श्रीसमगर, पदमबहादुर श्रीसमगर ‘थमन’, हरिमाया श्रीसमगर, माया पुनमगर, चन्द्राकुमारी थापामगर र धनमाया थापामगर रहनुभएको छ भने रिक्त तीन सदस्य नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकबाट चयन गरिने नवनिर्वाचित अध्यक्ष पुनमगरले जानकारी दिनुभयो । समाजका संस्थापक अध्यक्ष दलबहादुर थापामगर अध्यक्ष र सल्लाहकारद्वय किरणप्रसाद थापामगर र माया थापामगर सदस्य रहेको अध्यक्षमण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो ।

नवनिर्वाचित कार्यसमितिलाई समाजका पूर्व अध्यक्षद्वय भीमबहादुर श्रीसमगर र क्या. मीनबहादुर पुनमगर, निवर्तमान अध्यक्ष मेखबहादुर छन्त्यालमगर तथा नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा शाखाका प्रमुख नरेन्द्र थापामगरले बधाई एवं शुभकामना मन्तव्य दिनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष पुनले समाजलाई अघि बढाउन आफूसहितको टिम प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै जिल्ला शिक्षा कार्यालय, कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी गगनसिंह थापामगरले मगरहरू सानातिना कुरामा मात्र नअल्झिएर शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘शिक्षा प्राप्त नगरेसम्म मानिसले प्रगति गर्न सक्दैन’, सहायक जिशिअ थापाले भन्नुभयो, ‘अब मगरहरू व्यवसायिक पनि बन्न जरुरी छ ।’ राजनैतिक र प्रशासनिक क्षेत्रमा समेत मगरहरूको पहुँच जरुरी रहेको भन्दै सहायक जिशिअ थापाले त्यसका लागि शैक्षिक जागरण पहिलो सर्त रहेको उल्लेख गर्नुभयो ।

नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगरहरू सीमित र साँघुरो घेरामा रमाएर बस्न नहुने भन्दै सबै मगरहरूलाई एकताबद्ध भएर मूलधारमा समाहित हुन आÞवान गर्नुभयो । ‘हामी मगरहरू अब छुट्टाछुट्टै भान्सामा बस्ने बेला होइन अहिले’, अध्यक्ष रानाले भन्नुभयो, ‘हामीलाई राज्यले विभेद गरेको छ, हाम्रो थातथलो मगरात भूमिलाई छिया छिया पारिएको छ, तैपनि हामी चुप छौं किन ?’ सबै मगरहरू एकताबद्ध भएर राज्यसँगको लडाइँमा अग्रसर हुनुपर्ने भन्दै रानामगरले सबै मगरहरूको सरोकार एउटै भएको बताउनुभयो ।

सो अवसरमा नेपाल मगर पत्रकार संघ कास्की एवं मगर भाषा प्रतिष्ठान कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगर, नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष फूलकुमारी थापामगर, बागलुङ–पोखरा मगर समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार भीमबहादुर श्रीसमगर, नेपाल मगर संघ माटेपानी एकाइ समितिका अध्यक्ष चन्द्रप्रकाश थापामगर, बागलुङ समाज–पोखराका सचिव विक्रम थापामगर, गलकोट घुम्टे विकास मञ्च–पोखराका उपाध्यक्ष आकाश गौतम, धौलासिरी पुन मगर समाज पोखराका अध्यक्ष क्या. बागवीर पाइजामगर र ८२ वर्षीय सहयोगदाता धनबहादुर श्रीसमगरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा २०७२ सालको एसएलसी परीक्षा उत्तीर्ण मगर विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । त्यसैगरी, उच्च शिक्षातर्फ चाइना थ्री गर्जेज युनिभर्सिटी, चीनबाट एमबीबीएस उत्तीर्ण गरी हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा कार्यरत डा. अमन श्रीसमगर र पोखरा विश्वविद्यालयबाट इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियरिङमा स्नातक (बीई) उत्तीर्ण ई. दिलकुमारी श्रीसमगरलाई पनि सम्मान गरिएको थियो ।

त्यस्तै, सो अवसरमा लोकदोहोरी गायकद्वय सञ्जय पुनमगर र नवीन रानामगर तथा लोकदोहोरी गायिका सृष्टि पुनमगरले सांगीतिक प्रस्तुतीद्वारा मनोरञ्जन दिलाएका थिए भने विभिन्न कलाकारले नृत्य प्रस्तुत गरेका थिए । समाजका अध्यक्ष मेखबहादुर छन्त्यालमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गजेन्द्र थापामगर र उपाध्यक्ष रामबहादुर पुनमगरले स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %