रूद्र श्रीसमगर
पोखरा, मंसिर ३ – नेपाल मगर सांस्कृतिक संघ कास्कीले एक संरक्षक र दुई सदस्यीय सल्लाहकार चयन गरेको छ ।

बाँकी सल्लाहकार गीत संगीत र कलाकारिताका क्षेत्रमा लागेका अग्रजहरूमध्येबाट आगामी बैठकबाट चयन गरिने संघका कास्की जिल्ला अध्यक्ष दीपक थापामगरले जानकारी दिनुभयो । शुक्रबार बसेको बैठकले संरक्षक र सल्लाहकार चयन गरेको हो । जसमा नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरलाई संरक्षकका रूपमा नियुक्त गरिएको छ ।
त्यस्तै, नेपाल मगर पत्रकार संघका उपमहासचिव रूद्रबहादुर श्रीसमगर र म्यूजिक भिडियो निर्देशक एवं मोडल, गीतकार गोविन्द पुनमगरलाई सल्लाहकारमा नियुक्त गरिएको सचिव सुरज थापामगरले जानकारी दिनुभयो । शुक्रबारको बैठकले जिल्ला कार्यसमिति सदस्य गायिका सृष्टि पुनमगर सांगीतिक प्रस्तुतीका शिलशिलामा कतार भ्रमणबाट स्वदेश फर्किएकोमा स्वागत समेत गरेको थियो ।
सो अवसरमा बोल्दै संघका नवनियुक्त संरक्षक नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर सांस्कृतिक संघले नयाँ कलाकार उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । संरक्षक नियुक्त गरेकामा आभार व्यक्त गर्दै रानामगरले ओझेलमा रहेका कलाकारलाई आफ्नो प्रतिभा देखाउने अवसर सिर्जना गरिनुपर्नेमा जोड दिनुभयो ।
मगर जातिको भाषा, धर्म, कला र संस्कृति संरक्षणका लागि मगर सांस्कृतिक संघलाई जस्तोसुकै सहयोग गर्न तत्पर रहेको भन्दै रानामगरले मगर संघका विभिन्न एकाइमा संगठन विस्तार गर्न आग्रह गर्नुभयो । नवनियुक्त सल्लाहकारद्वय नेपाल मगर पत्रकार संघका उपमहासचिव रूद्रबहादुर श्रीसमगर र म्यूजिक भिडियो निर्देशक गोविन्द पुनमगरले सल्लाहकार नियुक्त गरेकामा आभार प्रकट गर्नुभयो ।
नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय सदस्य पदम थापामगरले संरक्षक र सल्लाहकारको नियुक्तिले संघलाई गतिशील बनाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा जिल्ला कार्यसमिति सदस्य लोकदोहोरी गायिका सृष्टि पुनमगरले आफ्नो कतारको सांगीतिक भ्रमण सफल र अविष्मरणीय बनेको अनुभव सुनाउनुभएको थियो ।
नेपाल मगर सांस्कृतिक संघ कास्कीका अध्यक्ष दीपक थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरज थापामगर र उपाध्यक्ष सरिता थापामगरले स्वागत गर्नुभएको थियो ।
