रूद्र श्रीसमगर
पोखरा, मंसिर ३ – केही समयअघि मात्र काठमाडौंबाट सरुवा भएर कास्कीमा आएका जिल्ला शिक्षा कार्यालय कास्कीका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमले डेलिगेशन आउन नपर्ने गरी काम गर्ने बताउनुभएको छ । 
नेकपा (माओवादी केन्द्र)निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्कीले शुक्रबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै जिशिअ गौतमले त्यस्तो बताउनुभएको हो । ‘मलाई यो सम्मानले असाध्यै खुशी तुल्याएको छ, म तपाईहरूको माया पाउँदा निकै खुशी छु’, जिशिअ गौतमले भन्नुभयो, ‘सबै शिक्षकहरूलाई मेरो समान व्यवहार रहनेछ, सबैलाई मेरो उत्तिकै सम्मान छ ।
आफू कसैको कुनै पनि किसिमको लोभमा नफस्ने दाबी गर्दै जिशिअ गौतमले कास्की जिल्लामा खास समस्या नदेखेको बताउनुभयो । ‘कसैले पनि डेलिगेशन आउन नपरोस् भन्ने मेरो चाहना सधैं हुन्छ’, जिशिअ गौतमले भन्नुभयो, ‘जिल्लामा मैले खास समस्या देखेको छैन, केही समस्या छन्, तिनको समाधानका लागि म तत्पर छु ।
आफ्नै गृहजिल्लामा सरुवा भएर आउन पाउनु अहोभाग्य भएको बताउँदै जिशिअ गौतमले कुनै पनि शिक्षक संगठनलाई तेरो र मेरो नभनी समान व्यवहार गर्ने बताउनुभयो । शिक्षा क्षेत्रलाई सपार्ने कि बिगार्ने भन्ने शिक्षकहरूकै हातमा भएको चर्चा गर्दै जिशिअ गौतमले आफ्नो कार्यक्षेत्रमा खटिएर शिक्षा क्षेत्रको सुधारमा लाग्न शिक्षकहरूलाई आग्रह गर्नुभयो ।
जिशिअ गौतमलाई स्वागत गर्दै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं शिक्षक संगठनका जिल्ला फ्र्याक्सन इञ्चार्ज बालकृष्ण काउछामगरले विधिमा टेकेर काम गर्ने हो भने कुनै पनि क्षेत्रमा राजनीति गर्नु जरुरी नपर्ने बताउनुभयो । ‘जिशिअ गौतमको कार्यकाल उदाहरणीय बन्नेमा हामी विश्वस्त छौं’, नेता काउछामगरले भन्नुभयो, ‘गौतममा रहेको कलात्मक क्षमता र कुशलता सफलताका लागि सहयोगीसिद्ध हुनेछ ।
शिक्षा ऐनका आधारमा शिक्षा क्षेत्रका समस्या समाधानमा अग्रसर बन्न शुभकामना दिँदै नेता काउछामगरले जिशिअ गौतमले शिक्षा क्षेत्रको समस्यालाई पहिचान गर्न सक्ने र समाधान पनि दिन सक्ने विश्वास व्यक्त गर्नुभयो । नेता काउछाले जिशिअ गौतमको अवकाश हुन चार महिनाको छोटो अवधि बाँकी रहेपनि कार्यकाल स्वर्णिम हुने आशा गर्नुभयो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य एवं जिल्ला एकता सम्मेलन आयोजक समितिका संयोजक गोपालमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तारा पौडेलले स्वागत र महेन्द्रमणि पौडेलले सञ्चालन गर्नुभएको थियो ।
