सिल्दुजुरे गाविसको २५ औं गाउँ परिषद् तथा सार्वजनिक सुनुवाइ सम्पन्न !

Read Time:3 Minute, 48 Second

रूद्र श्रीसमगर

पोखरा, कात्तिक २७ – कास्कीको उत्तर पूर्वी गाविस सिल्दुजुरेको २५ औं गाउँ परिषद् एवं सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

शनिबार सिल्दुजुरे–६, थाकस्थित सिल्दु आधारभूत विद्यालयको प्राड्डणमा सम्पन्न गाउँ परिषद्ले आगामी आर्थिक वर्ष ०७४/०७५ का लागि करिब ३६ लाख को बजेट पारित गरेको छ । प्राथमिकताका आधारमा विभिन्न शीर्षकमा परिषद्ले बजेट विनियोजन गरेको छ ।

गाउँ परिषद्को उद्घाटन गर्दै नेकपा (एमाले) कास्कीका उपाध्यक्ष मनबहादुर गुरुङले गाविसलाई टुक्रे योजनामा बजेट खर्च गर्नु भन्दा पनि आवधिक ठोस योजना ल्याउन सुझाव दिनुभयो ।

‘यथास्थितिकै शैलीमा बजेट विनियोजन गर्नु हाम्रा निम्ति घातक छ’, नेता गुरुङले भन्नुभयो, ‘आगामी दश/पन्ध्र पछिसम्म सोंचेर ठोस योजना बनाउनु जरुरी देखिन्छ ।’ नजिकै भएको पोखरा सहरको विकासलाई सिल्दुजुरेमा ल्याउन जरुरी रहेको बताउँदै नेता गुरुङले पोखरा जान नपर्ने वातावरण बनाउन सबै राजनैतिक दलहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
 
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लालबहादुर गुरुङले कृषि, पर्यटन र जलस्रोतको उपयोग गरेर सिल्दुजुरेको विकास गर्न सकिने सम्भावना प्रशस्त रहेको भन्दै सिल्दुजुरेको विकासका लागि गाउँबासी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

‘कृषि, पर्यटन र जलस्रोतको उपयोग गरेर सिल्दुजुरेको विकास गर्न सकिने आधार प्रशस्त छन्’, नेता गुरुङले भन्नुभयो, ‘जिविसबाट पनि थुप्रै योजना सिल्दुजुरेमा पारिएको छ, सिल्दुजुरेको विकासका लागि कुनै कसर बाँकी राखिने छैन ।’ स्थानीय तह पुनर्संरचनाका क्रममा सिल्दुजुरेलाई प्रस्तावित गाउँपालिकाको केन्द्र बनाउन पहल भइरहेको जनाउँदै नेता गुरुङले निर्माणाधीन अपर मादी हाइड्रोपावरमा स्थानीयले शेयर पाउनुपर्ने धारणा पनि राख्नुभयो ।

सो अवसरमा नेकपा (एमाले) कास्की क्षेत्र नं. १ का सचिव बालकृष्ण गुरुङ, उपसचिव पसबहादुर बाँस्तोला, नेपाली कांग्रेस सिल्दुजुरेका सभापति मनबहादुर बराल, नेकपा (एमाले) सिल्दुजुरेका प्रतिनिधि बुद्धिबहादुर गुरुङ र नेकपा (माओवादी केन्द्र) सिल्दुजुरेका अध्यक्ष शेरबहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

गाविस सचिव रामकृष्ण बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा लक्षित वर्गका प्रतिनिधिहरूले विभिन्न गुनासा राखेका थिए भने सार्वजनिक सुनुवाइ समेत गरिएको सो कार्यक्रमको सहजीकरण पत्रकार प्रकाश ढकालले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %