कमल चौधरी
कपिलबस्तु, कात्तिक ३ – थारु समुदायको भेष, भुषा, पहिचान र संस्कृतिलाई जोगाई राख्नको लागि चन्दा उठाएर दिउहरवा (मन्दिर) बनाएका छन् ।
दिउहरवा (मन्दिर) निर्माण उपभोक्ता समतिका अध्यक्ष सक्रान्ति थारुले ऐतिहासिक पहिचान बोेकेका दिउहरवा ओझेलमा परेको र आफूहरुले त्यसको संरक्षण गर्नको लागि चन्दा उठाएर दिउहरवा (मन्दिर) निर्माण गरेको बताउनुभयो । त्यस्तै दिउहरवा भवन निर्माण समितिका सह–सचिव जनकी थारुले भावी पुस्तालाई
थारु संस्कृतिबारे ज्ञान होस् र आफ्नो भाषा र संस्कृतिबारे बुझ्न सकुन् भन्ने उदेश्यले थारु दिवहरवा निर्माण गरेको जानकारी दिनुभयो ।
उहाँले दिउहरवामा थारु समुदायको पहिचान झल्किने भेषभुषा, तथा थारु समुदायले पुजा गर्दै आएका बाघ, हात्ती र घोडाको मुर्ति राखिएको बताउनुभयो । भवन निर्माणको लागि साना किसान कृषि सहकारी संस्था लि. वा.न.पा–१३ मोतिपुर कपिलबस्तुले रु १ लाख, बाणगंगा नगरपालीका आदिवासी जनजाति महासंघबाट रु.५७ हजार ५२, आदिवासी जनजाति मोतिपुर गाविसबाट रु.४० हजार, त्रिशक्ति समुदायिक वन उपभोक्ता समुहबाट २० हजार सहयोग भएको कोषाध्यक्ष सम्झु थारुले जानकारी दिनुभयो । साथै ४२ घर घुरी भएको वाणगंगा न.पा–१५ कपिलबस्तुका प्रत्येक थारु घरबाट चन्दा उठाएर डिउहरवा निर्माण गरेको कोषाध्यक्ष थारुले बताउनुभयो ।
(संस्कृति जोगाउँदै थारु समुदाय)
कपिलबस्तुका थारु समुदायहरु बेलको काँडमा ढिकारी उनेर दशैं मनाएका छन् । उनीहरुले सदाको बर्षझै यस बर्ष पनि दशैैंमा आफ्नै संस्कृतिमा रमाउदै दशैं मनाएका हुन् । “जे सिक्यौं त्यही आफ्ना सन्ततीहरुलाई सिकाउदै आएका छौ ।” कपिलबस्तु वाणगंगा नगरपालिका–१५ की जुुगारी थारुले बताउनुभयो ।
५९ बर्षीय थारुले हाम्रा पुर्खाहरुले हामीलाई यसरी नै कुल देवतालाई पुजा गर्दा छाँकी बुनी (रक्सी), ढिकारी चढाएर पुजा गर्नुपर्ने सिकाएको हुँदा आज हामीले पनि उहाँहरुको सिको गर्दै आएको उहाँको भनाईछ ।
पछिल्लो समयमा थारु समुदायले परम्परागत रुपमा मनाउदै आएका यी यस्ता समाजिक तथा संस्कृतिक रितीरिवाज, पराम्पराहरु लोप हुँदै गएको अवस्थामा कपिलबस्तु वाणगंगाका –१५ का थारु समुदाय भने संरक्षणमा जुटेका छन् ।
उनीहरुले आफ्नो भाषा संस्कृतिलाई संरक्षण गर्नुपर्ने भन्दै पुजा आजा तथा समाजिक कार्यमा समेत संक्रिय हुँदै आएको पाईन्छ । वडघर बाबुराम थारुले भने– “हामीले हाम्रो पहिचानलाई जोगाउनुपर्छ । हाम्रो भेषभुषा, धर्म, संस्कृति नै हाम्रो पहिचान हो । हाम्रो पहिचान मेटिनु भनेको थारु समुदायको अस्तित्व समाप्त हुनु हो ।”
उहाँले पछिल्लो समयमा आदिवासी जनजाति अन्दोलन, थारुहट/थारुवान अन्दोलनबाट आफूहरु अझै थारु समुदाय एक जुट हुन पाठ सिकेको बताउँदै उहाँले भाषा संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै थारु कल्याणकारीणी सभाका केन्द्रीय सदस्य भेजराज थारुले थारु समुदायको भाषा संस्कृति संरक्षण र विकासका लागि सबैको सहयोग र सहकार्य हुनुपर्ने बताउँनुभयो । उहाँले थारु समुदायको उत्थान र विकासको लागि थारु कल्याणकारीणीले सक्दो सहायोग गर्ने बताउँनुभयो ।
